कांग्रेस विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा देखिएको छ । एकातिर विशेष महाधिवेशन पक्षधरले दोस्रो विशेष महाधिवेशनलाई निरन्तरता दिइरहेका छन् भने अर्कोतिर पार्टी संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । दुवै गतिविधि आज एकै दिन परेका छन् ।
विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरूले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइए पनि विशेष महाधिवेशन पक्षका नेताहरूले बहिष्कार गर्ने जानकारी दिएका हुन् । उनीहरूका अनुसार विशेष महाधिवेशनपछि उत्पन्न परिस्थितिमा संस्थापन पक्षले बोलाएको बैठक वैधानिक नभएको ठहर गरिएको छ ।
यता, विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनको बन्द सत्र आज बिहान ९ बजेदेखि सुरु गरेका छन् । पुस २७ र २८ गतेका लागि तय गरिएको महाधिवेशन विभिन्न प्रतिवेदनमाथिको छलफल लम्बिएपछि कार्यतालिका संशोधन गर्दै मंगलबारसम्म लम्ब्याइएको हो । महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार समय अभावका कारण कार्यक्रम परिमार्जन गरिएको हो ।
आज पनि महाधिवेशन प्रतिनिधिको दर्ता जारी रहने र हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ७० प्रतिशत पुर्याउने तयारी गरिएको छ । बन्द सत्रमा निर्वाचन समिति, अनुशासन समिति, केन्द्रीय समिति लगायतका संरचना भङ्ग गरी नयाँ नेतृत्व र नीति तय गर्ने तयारी विशेष महाधिवेशन पक्षको छ ।
अर्कोतर्फ, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिलाई उपस्थित हुन निर्देशन दिइएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले बताएका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक दाबी गर्दै पार्टीको आधिकारिक निर्णय प्रक्रिया केन्द्रीय कार्यसमितिबाटै हुने अडान लिएको छ ।
यसैबीच, पार्टीभित्र बढ्दो विवाद समाधानका लागि आजै दुवै पक्षबीच वार्ता हुने भनिए पनि त्यसको समय र स्थान भने सार्वजनिक गरिएको छैन । कांग्रेसभित्र समानान्तर गतिविधि र बैठकहरूले पार्टीको आन्तरिक कलह अझ गहिरिँदै गएको संकेत देखिएको छ ।
