`

तरुण दलको चेतावनी : पार्टी विभाजन भइ गए पनि, कार्यालय कब्जा गर्न दिंदैनौं

Nepal One HD २९ पुष २०८२ १५:३५
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान शुरु गरेको छ । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका बेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरुले मंगलवार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दवाव दिएका हुन् । उनीहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह समेत गरेका छन् ।

महामन्त्री थापा सिंगो पार्टीको नेता बन्न सक्ने भएकाले उनीहरुलाई पार्टीलाई एकतावद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताको पक्षमा रहेको र त्यसैकारण दुई पक्षबीच वार्ता भईरहेको समेत बताए ।

अध्यक्ष गुरुङले भने, ‘अहिले नेपाली कांग्रेस जटिल अवस्थामा छ । एकातिर पार्टीले नियमित महाधिवेशनको कार्यतालिका निकालिसकेको छ । अर्कोतिर विशेष महाधिवेशनका समुद्घाटन भइसकेको छ । उता पनि बन्द सत्र भइराखेको छ । नेपाली कांग्रेसलाई अझै पनि हामी चाहन्छौँ– यसलाई एकतावद्ध रुपमा लैजानका लागि दुवै पक्षका नेताहरुका बीचमा अहिले पनि संवाद भइराखेको छ । हामीलाई आशा छ–यो चुनौतिको घडीमा नेपाली काँग्रेस एक भएर जाने छ भन्ने हामीले विश्वास लिएका छौं ।’

उनले भने, ‘नेपाली कांग्रेस भ्रातृ संगठन तरुण दल भएको कारणले गर्दा अहिले हामी सबै तरुणहरु नेपाली कांग्रेसका केन्द्रिय कार्यालयमा जम्मा भएका छौँ । पार्टी एकताको पक्षमा हामीले सबै नेताहरुलाई दवाव पनि दिईरहेका छौ । यदि पार्टी एकता भएन र पार्टी विभाजन भएको अवस्थामा नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा कहीँकतैबाट पनि त्यो खालको हस्तक्षेप नहोस् भन्नका लागि नेपाल तरुण दल तयारी अवस्थामा बसेको छ ।’

गुरुङले भने, ‘हामीलाई के विश्वास छ भने गगन थापा नेपाली कांग्रेसका महामन्त्री पनि हुनुहुन्छ । उहाँ जनताको प्रिय नेता पनि हुनुहुन्छ । हमीलाई विश्वास छ–उहाँलाई सिंगो पार्टीको नेता बनाउन हामीले चाहेका छौ । त्यस्तो खालको दवाव पनि छ । विशेष महाधिवेशनमा सिग्नेचर गर्ने साथीहरु पनि पार्टीलाई फुट्न दिनु हुँदैन भन्ने दवाव दिईरहनु भएको छ । निर्वाचन कार्यतालिका निकालेको भन्ने पनि हामीले सुनेका छौँ । महामन्त्री ज्यूलाई हामी के आग्रह गर्न चाहन्छौँ भने अहिलेको अवस्थामा तपाईले नेपाली कांग्रेसलाई फुटाएर होइन, जुटाएर लैजाने कुरामा तपाईले पक्कै पहल गर्नु हुन्छ भन्ने कुरामा हामीले त्यो अनुरोध गर्न चाहन्छौँ । सभापति देउवा पार्टी एकताको पक्षमा हुनुहुन्छ । उहाँकै कारण आज यो वार्ता भइरहेको हो ।’ नेपाल तरुण दलका नेता, कार्यकर्ताहरुले पार्टी विभाजन भए पनि पार्टी कार्यालय सानेपा कब्जा गर्न कसैलाई पनि नदिने चेतावनी समेत दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *