`

कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउँछ, गगन थापा प्रधानमन्त्री बन्छन् : सुनिल शर्मा

Nepal One HD ३ माघ २०८२ १६:३३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने र बहुमत हासिल गरेर गगन थापालाई प्रधानमन्त्री बनाउने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई स्वीकार गर्नु अब सबैका लागि बाध्यकारी रहेको बताए । निर्वाचन आयोगले आधिकारिकता दिइसकेको नेतृत्वलाई नस्वीकार्ने कुनै विकल्प नभएको उल्लेख गर्दै उनले पार्टीभित्र देखिएका असन्तुष्टिलाई मिलाएर अघि बढ्ने जिम्मेवारी वर्तमान नेतृत्वको भएको स्पष्ट पारे ।

उनका अनुसार संस्थापन पक्षबाट भएको उत्पीडनकै कारण विशेष महाधिवेशन आवश्यक परेको हो । ‘अधिवेशन भइसकेको छ, अब यसलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानु बाहेक अर्को विकल्प छैन’, उनले भने, ‘नेताहरूले आफ्नो व्यक्तिगत इगो त्यागेर कांग्रेसलाई एकढिक्का बनाउनु पर्छ ।’

शर्माले आगामी आमनिर्वाचनमा कांग्रेसको ठूलो प्रतिस्पर्धी नदेखिएको दाबी गर्दै नयाँ नेतृत्वको टिमले स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गरे । ‘कांग्रेस गठबन्धनमा जाँदैन । १६५ वटै क्षेत्रमा कांग्रेसका उम्मेदवार हुन्छन् । दुविधा छैन, गगन थापालाई प्रधानमन्त्री बनाएर जाने हो’, उनले भने।

उनले सभापति थापा, उपसभापतिसहितको नयाँ नेतृत्वले संस्थापन पक्षका नेताहरूलाई पनि समेटेर पार्टीलाई एकतामा ल्याउने विश्वास व्यक्त गरे । पार्टी फुटेको नभई अधिवेशन वैधानिक भइसकेकाले असन्तुष्ट नेताहरूलाई संवादमार्फत मिलाइने उनको भनाइ थियो ।

‘नेतृत्वमा अहिले जो आउनु भएको छ, उहाँहरू पनि बुद्धिमान हुनुहुन्छ, विगतमा लामो समय नेतृत्वमा रहेकाहरू पनि अनुभवी र बुद्धिमान छन्’, शर्माले भने, ‘सबैले इगो त्यागेर पार्टीलाई एकढिक्का बनाएर लगे भने आगामी निर्वाचनमा कांग्रेसको प्रतिष्पर्धी नै हुँदैन । हामी स्वीप गर्छौं।’ उनका अनुसार पार्टीभित्रको एकता नै कांग्रेसको सबैभन्दा ठूलो शक्ति हो र त्यसलाई कायम राख्न सके कांग्रेसले एक्लै बहुमत ल्याएर सरकार बनाउने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *