`

छुट्टै रणनीति बनाउन शेखर समूह छलफलमा, गएन सर्वोच्च अदालत

Nepal One HD ४ माघ २०८२ १४:४६
नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसको भित्रभित्रको शक्ति संघर्ष अझै तातिरहेको छ । पार्टीको आधिकारिकता र नेतृत्वलाई लिएर निर्वाचन आयोग र सर्वोच्च अदालतसँग सम्बन्धित मुद्दामा कांग्रेस नेता डा. शेखर कोइरालाको समूहले छुट्टै रणनीति अघि बढाएको देखिएको छ ।

कांग्रेस नेता कोइरालाले आफ्ना निकटका नेताहरूसँग बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक डाकेर पछिल्लो राजनीतिक घटनाक्रममा छलफल गरेका छन् । पूर्व सहमहामन्त्री जीवन परियारले भने, ‘हाम्रो समूहका नेताहरु रुख चिन्ह र झन्डा जहाँ छ, त्यहाँ रहनेछौं । छुट्टै पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवारी उठ्ने कुरा हुने छैन। शेखर दाई यसबारेमा सबैसँग परामर्श गरिरहेका छन् ।’

यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई वैधता दिएको थियो । देउवा पक्षका नेताहरू यस निर्णयको विरोध गर्दै कानुनी लडाइँ अघि बढाउने तयारीमा छन् । बुधबार सर्वोच्च अदालत पुगेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, मीनबहादुर विश्वकर्मा जस्ता नेताहरू आयोगको निर्णय खारेज माग गर्दै रिट दायर गरेका थिए ।

तर, शेखर कोइरालाको समूह सर्वोच्च अदालतमा उपस्थित भएन । यसको सट्टा उनीहरूले आफ्नै नेताहरूको बैठक बोलाएर रणनीति तय गर्न लागेको बुझिएको छ । डा. कोइरालाले दिउँसो १ बजे बैठक बोलाएका थिए । यसअघि हिजोको बैठकमा पनि उनीसहितका नेताहरू उपस्थित थिएनन् ।

विश्लेषकहरूका अनुसार, कोइराला समूहले कांग्रेसको मूलधारबाट अलग नहुने सन्देश दिँदै पनि आफ्नै रणनीति तयार पार्ने क्रममा रहेको देखिन्छ । पार्टीभित्रको विभाजनको सम्भावना कायमै रहे पनि, कोइरालाले आफूहरूको समूह र पार्टीको एकता कायम राख्ने दिशामा छलफल गरिरहेको बुझिन्छ । यस घटनाक्रमले नेपाली कांग्रेसमा नेतृत्व र वैधताको सवाल अझै संवेदनशील बन्न पुगेको छ । सर्वोच्च अदालतले सुनुवाई आगामी ६ गते तोकेको छ, जसपछि राजनीतिक परिस्थितिमा नयाँ मोड आउन सक्ने अनुमान गरिएको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *