गगनको दावी : कांग्रेसका १० लाखमध्ये नौं लाख ८० हजार सदस्य हाम्रो पक्षमा छन्
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापाले पार्टीका अधिकांश क्रियाशील सदस्य विशेष महाधिवेशनको पक्षमा उभिएको दाबी गरेका छन् । निर्वाचन आयोगले चाहे सदस्यहरूको वास्तविक अवस्था परीक्षण गरेर हेर्न सक्ने भन्दै उनले १० लाखमध्ये ९ लाख ८० हजार क्रियाशील सदस्य आफूहरूको पक्षमा रहेको बताएका हुन् ।
सभापति चयन भएपछि भृकुटीमण्डपमा उपस्थित महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै थापाले विशेष महाधिवेशन नै पार्टी विधानले व्यवस्था गरेको सबैभन्दा ठूलो संरचना भएको स्पष्ट पारे । पार्टी सदस्यहरू कता उभिएका छन् भन्ने विषय नै निर्णायक हुने उल्लेख गर्दै उनले भने, ‘पुरानो र नयाँ गरेर करिब १० लाख क्रियाशील सदस्य छन् । धेरै भन्दिनँ, निर्वाचन आयोगले हेर्न चाहेको दिन नेपाली कांग्रेसले आह्वान गर्दा १० लाखमध्ये ९ लाख ८० हजार सदस्य एक ठाउँमा उभिएनन् भने त्यसबेला प्रश्न उठाऔंला ।’
थापाले निर्वाचन आयोगले कानुन, पार्टी विधान र विशेष महाधिवेशनको उपस्थितिलाई आधार मानेर निष्पक्ष निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए । ‘हाम्रो संविधानले चिनेको निर्वाचन आयोग कुनै पनि अवैध शक्तिको प्रभावमा पर्दैन भन्ने विश्वास हामीलाई छ’, उनले भने, ‘आयोगले प्रचलित कानुन, विधान र यहाँको उपस्थितिलाई हेरेर निर्णय गर्छ ।’
यसैबीच, सभापति निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले कांग्रेस विभाजित नभएको दाबी गरे । उनले यसअघि शेरबहादुर देउवालाई सभापति निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरूले नै आफूलाई पनि सभापति चुनेको बताए । विशेष महाधिवेशन सम्पन्न भइसकेको र केही दिनमै नयाँ कार्य समिति आउने विषयमा निर्वाचन आयोगलाई लिखित जानकारी दिइसकिएको उनको भनाइ थियो ।
थापाले कांग्रेसको आधिकारिकताबारे कुनै अन्योल नरहने दाबी गर्दै आयोगले विधि र विधानअनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे । ‘निर्वाचन आयोग जानकार छ, कानुनसम्मत निर्णय गर्छ’, उनले भने, ‘त्यसैले कांग्रेसको वैधानिकतामाथि कुनै विवाद रहँदैन ।’ विशेष महाधिवेशनपछि पार्टीभित्रको नेतृत्व र वैधानिकताबारे उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै थापाले संगठनात्मक बल र सदस्यहरूको समर्थन नै आफ्नो मुख्य आधार भएको सन्देश दिएका छन् ।
