`

कांग्रेसले एक्लै चुनाव लड्ने, अप्राकृतिक गठबन्धन नगर्ने

Nepal One HD ३ माघ २०८२ १५:१६
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि अप्राकृतिक चुनावी गठबन्धन नगरी एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिने स्पष्ट निर्णय गरेको छ । निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि बसेको गगन थापा नेतृत्वको पहिलो केन्द्रीय समिति बैठकले सत्ता केन्द्रित सम्झौता र अवसरवादी गठबन्धनलाई पूर्ण रूपमा अस्वीकार गर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेस अब आफ्नै शक्ति, नीति र संगठनको भरोसामा जनतामाझ जाने बताए । उनका अनुसार पार्टीले एकताबद्ध भएर चुनावी मैदानमा उत्रिने र जेन–जी (नयाँ पुस्ता) को आकांक्षा तथा जनअपेक्षालाई प्रतिनिधित्व गर्ने राजनीतिक एजेण्डालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा रहँदा पुर्‍याएको योगदानको औपचारिक प्रशंसा गर्दै आगामी दिनमा उनले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेको छ । ‘देउवाजीले लामो समयसम्म पार्टीको नेतृत्व गर्नुभयो, त्यस योगदानको कदर गर्दै हामी हार्दिक आभार व्यक्त गर्छौं’, प्रवक्ता चालिसेले भने ।

केन्द्रीय समिति बैठकमा पार्टीभित्र देखिएका मतभेदलाई स्वाभाविक भन्दै त्यसलाई लोकतान्त्रिक ढंगले व्यवस्थापन गरिने पनि स्पष्ट गरिएको छ। देउवा पक्ष निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत जाने तयारीमा रहेको चर्चा चलिरहेका बेला कांग्रेस नेतृत्वले चुनावको मुखमा पार्टीलाई संकटमा पार्ने कुनै कदम नचालिने विश्वास व्यक्त गरेको छ ।

‘असहमति हुनु स्वाभाविक हो, तर कांग्रेस सबैको साझा पार्टी हो’, चालिसेले भने, ‘विगतका घटनाका आधारमा कुनै आग्रह–पूर्वाग्रह नराखी असहमत मतको सम्मान गरिन्छ । टिकट वितरणलगायतका विषयमा पनि विगतको अन्याय दोहोरिन दिइँदैन ।’

कांग्रेसले अब पार्टी एकता, आन्तरिक लोकतन्त्र र पुस्तान्तरणलाई मुख्य आधार बनाएर निर्वाचनमा जाने संकेत दिएको छ । अप्राकृतिक गठबन्धनबाट टाढा रहँदै आफ्नै राजनीतिक पहिचान र जनसमर्थन बलियो बनाउने यो निर्णयले आगामी चुनावी राजनीतिमा कांग्रेसको रणनीति स्पष्ट रूपमा नयाँ दिशातर्फ मोडिएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *