कांग्रेस नेताहरु भन्छन्, ‘आयोगको निर्णयले आगामी निर्वाचन बिथोलिन हुन्न’
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले निर्वाचन आयोगले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय गर्न नहुने बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न आयोगमा पुगेका सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले आयोगले संविधान, राजनीतिक दलसम्बन्धि ऐन, नेपाली कांग्रेसको विधान र आफूहरुले उपलब्ध गराएको कागजातको आधारमा नै निर्णय गर्ने विश्वास गरे ।
कांग्रेसको आधिकारिकता आफूहरुले पाउने र छुट्टिएर गएकाहरु पनि मूलधारमा नै फर्किने नेताहरुको विश्वास छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचन हुने की नहुने आशंका भइरहेको बेलामा थप जटिल परिस्थिति उत्पन्न हुने गरी निर्णय गर्न नहुने बताए । उनले कांग्रेस चुनावको लागि पूर्णरुपमा तयार भएर जिल्ला जिल्लामा खटिइसकेको बताए । सिन्धुपाल्चोकमा आफूहरुले चुनावी सभा समेत थालेको उनको भनाई छ ।
यस्तो स्थितिमा आयोगले संविधान विपरित, कांग्रेसको विधान विपरित निर्णय गरेमा देशमा निर्वाचनको प्रक्रिया नै विथोलिने उनले बताए । निर्वाचन बिथोलिएमा त्यसको जिम्मेवारी आयोगले लिनुपर्ने उनको भनाई छ । उनले कसैको बहकावमा, दबाबमा र स्वार्थमा गलत निर्णय नगर्न पनि आग्रह गरे । उनले भने, ‘निर्वाचन हुने की नहुने भनेर कोलाहल मच्चाईरहेको छ, यतिसम्म की जसले सरकार बनायो, जेन–जी कै मान्छेहरुले चुनाव हुँदैन भनिरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी चुनावको लागि तयार भएर पूर्ण आफ्नो आफ्नो जिल्लामा खटिइसकेको अवस्था, खटाईसकेको अवस्थामा छ । सिन्धुपाल्चोकमा त हामीले चुनावी सभा पनि गर्यौँ, अन्यत्र पनि शुरु भएको छ ।’
उनले भने, ‘त्यो स्थितिमा निर्वाचन आयोगले गरेको निर्णयको कारण, जुन निर्णय संविधान विपरित, नेपाली कांग्रेसको विधान विपरित भएको खण्डमा भोलि देशमा निर्वाचनको प्रक्रिया बिथोलियो भने त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्छ । यदि अहिलेको परिस्थितिमा सारा निर्वाचनमा विथोल्ने भनेर विभिन्न पार्टीहरुले अस्वीकार गरिरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी चुनावमा होमिईसकेको अवस्थामा यो पार्टीलाई कसैको बहकावमा लागेर वा कसैको प्रेसरमा, कसैको स्वार्थमा गलत निर्णय हुन खोज्यो भने त्यो राज्यको लागि दुर्भाग्य हुन्छ । निर्वाचन आयोगलाई पनि त्यसको दोष लाग्छ ।’
नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडाले पनि निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार आफूहरुको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस विभाजनलाई रोक्न अन्तिमसम्म प्रयास गरेपनि असफल भएको बताए । विभाजनले निर्वाचनसँगै देशको राजनितिमा पनि ठूलो असर पर्ने उल्लेख गरे । उनले सिंहदरबार, संसद, सर्वोच्च अदालत जलाएजस्तै नेपाली काँग्रेसलाई पनि जलाएर प्रजातन्त्रलाई नै समाप्त पार्न केही तत्वहरु लागिरहेको आरोप लगाए । यसमा सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘कांग्रेसको विभाजनले निर्वाचनमा असर पर्छ । राजनीतिमा असर नपर्ने भन्ने कुरा हुँदैन तर समग्रतामा हामी मिलेर जानको लागी हाम्रो कोशिस अन्तिमसम्म थियो । निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार निर्णय गर्ने विश्वास हामीले लिएका छौँ । अरु कुरा हेर्दै जानुहोला, नेपालको राजनीतिमा सिंह दरबार जल्यो, संसद भवन जल्यो, सवोच्च अदालत जल्यो । अझै काँग्रेस नजलाई केही हुँदैन भनेर कोही लागेका छन् र प्रजातन्त्रलाई नै समाप्त गर्न लागेका छन् भने यसको असर धेरै ठूलो पर्नसक्छ, यसमा हामी बुझेर लाग्नुपर्छ ।’
नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताए । उनले प्रतिनिधि सभाको निर्वाचनको लागी माघ ६ गते मनोनयनको लागी देउवाले नै टिकट बाढ्ने दाबी गरे । उनले शनिवारबाट नै सभापति देउवाले टिकट बाँड्न शुरु गर्ने जानकारी दिए । उनले कांग्रेस पार्टी विभाजन नभएको पनि बताए । गगन थापा, विश्वप्रकाश शर्माहरुले अर्को पार्टी गठन नगरेकोले उहाँहरु पनि देउवाको हातबाट टिकट लिएर चुनाव लड्न जाने दाबी गरे ।
उनले भने, ‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै हो । शेरबहादुर देउवाले भोलीबाट ६ गते प्रतिनिधिसभाको लागि मनोनयन गर्न टिकट बाँड्नु हुन्छ । नेपाली कांग्रेस पार्टी फुटेको छैन । उहाँहरु (गगन–विश्व) ले अर्को पार्टी गठन गर्नु भएको छैन । उहाँहरु पनि भोलि आएर टिकट लिएर चुनाव लड्न जानु हुन्छ ।’ नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोईराला लगायतका नेताहरु पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग गएका थिए ।
