विद्यार्थी राजनीति–कांग्रेस नेतृत्वको केन्द्रमा : गुरू–गगन, विश्वप्रकाश र प्रदीपको अद्भुत संयोग
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कांग्रेस नेतृत्वमा नयाँ युगको सुरुवात गरेको छ, जहाँ नेविसंघबाट उठेका विद्यार्थी नेताहरू पार्टीको बागडोर सम्हाल्ने अवस्थामा पुगेका छन् । यस पटकको नेतृत्वमा केही रोचक र अनौठा संयोग देखिएका छन् ।
नव निर्वाचित सभापति गगनकुमार थापा र महामन्त्री गुरुराज घिमिरे दुवै २०५९ सालमा नेविसंघको एउटै कार्यकालमा पदाधिकारी थिए । त्यतिबेला गुरुराज सभापति र गगन महामन्त्री थिए । २ दशकपछि, अब पार्टीको नेतृत्वमा गगन सभापति र गुरुराज महामन्त्री बनेका छन् । गुरु–गगन जोडीले २०६२–६३ को दोस्रो जनआन्दोलनमा राजतन्त्रविरुद्धको संघर्षमा अग्रणी भूमिका खेलेका थिए । तत्कालीन सूर्यबहादुर थापा सरकारले गणतन्त्रको पक्षमा नारा लगाएकोमा गगनलाई जेल हाल्दा उनी विद्यार्थी राजनीतिमा चर्चित बने । गुरुराज पनि त्यही आन्दोलनमा राजद्रोहको मुद्दा खेपेका थिए । त्यस आन्दोलनले नेपालको राजतन्त्र अन्त्य गरी गणतन्त्रको उदय सुनिश्चित गर्यो ।
गुरुराज घिमिरे त्यसपछि राजनीतिको मुख्यधाराबाट केही समय ओझेलमा परे। तर उनी पार्टीको नीति, विचार र दिशा तय गर्न सक्ने अध्ययनशील नेताको रूपमा चिनिएका थिए । २०७८ सालको १४औं महाधिवेशनमा कोशी प्रदेश कार्यसमिति सभापतिका लागि पराजित भए पनि, यस विशेष महाधिवेशनमा उनीलाई राजनीतिक केन्द्रमा ल्याइएको छ । महामन्त्रीमा निर्वाचित अर्का नेता प्रदीप पौडेल पनि नेविसंघबाट उदाएका हुन् ।
उनी पनि २०६२–६३ को आन्दोलनमा सहभागी भएर राजकाजको मुद्दा खेपेका थिए । विद्यार्थीकालमै अमृत साइन्स क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति बनेका पौडेल अहिले पार्टीका महत्वपूर्ण पदाधिकारी बनेका छन् । उनीहरू चारै—गगन, गुरुराज, विश्वप्रकाश शर्मा र प्रदीप–नेविसंघमा एकै समय राजनीतिमा सक्रिय थिए र अहिले पार्टी नेतृत्वको केन्द्रमा उभिएका छन् । यो विद्यार्थी राजनीतिबाट पार्टी नेतृत्वसम्मको यात्रामा अनौठो र अद्भुत संयोग मान्न सकिन्छ । विशेष महाधिवेशनले कांग्रेसभित्रको वैचारिक बहस र नेतृत्व परिवर्तनको नयाँ चरणको संकेत दिएको छ । गगन–गुरु–पौडेल–विश्वप्रकाशको संयोजनले पार्टीलाई नयाँ ऊर्जा र अनुभव दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ ।
