`

मधेश कांग्रेसको जन्मभूमि हो, जेठो छोरा भएर सेवा गर्न म झरें : गगन थापा

Nepal One HD १४ माघ २०८२ १४:४९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशप्रति विगतमा भएका कमजोरी र चुक सुधार्ने दृढ संकल्पसहित आफू मधेशमा आएको बताएका छन् । सर्लाही–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेश कांग्रेसको जन्मभूमि मात्रै नभई पार्टीलाई हुर्काउने, सम्हाल्ने र टिकाउने मुख्य शक्ति भएको स्पष्ट पारे ।

सभापति थापाले मधेशले सधैँ कांग्रेसलाई न्याय गरेको तर कांग्रेसले मधेशप्रति गर्नुपर्ने सबै जिम्मेवारी समयमै पूरा गर्न नसकेको स्वीकार गरे । मधेशको सम्मान, प्रतिनिधित्व र अधिकारका सवालमा देखिएको यही खालीपनका कारण पछिल्ला वर्षहरूमा थुप्रै नयाँ तथा मधेश केन्द्रित राजनीतिक दलहरू उदाएको उनको भनाइ थियो । ‘म कसैलाई दोष लगाउन चाहन्नँ’, उनले भने, ‘तर मधेश हाम्रो जननी हो, हाम्रो आमा हो । हामी यसको जेठो छोरा हौं । आमाको सेवा गर्नु, हक–अधिकार सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो । कतिपय सन्दर्भमा हामीले उठाउनुपर्ने जिम्मेवारी समयमा नउठाएको चुक भएको छ ।’

त्यही गल्ती सुधार्ने प्रतिबद्धतासहित नेपाली कांग्रेसले आफ्नो सभापतिलाई नै ‘मधेशको उम्मेदवार’ का रूपमा अघि सारेको उनले बताए । ‘सिङ्गो मधेशमा हामी यो सन्देश लिएर आएका छौं कि मधेशको जिम्मा कांग्रेसले लिन्छ, मधेशका माग कांग्रेसले पूरा गर्छ’, थापाले भने । आफ्नो सम्बोधनमा सभापति थापाले आगामी पाँच वर्षलाई देशका लागि निर्णायक समयको रूपमा चित्रण गरे ।

उनले यो समय आर्थिक प्रगति, कृषकको जीवनस्तर सुधार, बेरोजगार युवालाई रोजगारी, तथा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बदल्ने अवसर भएको उल्लेख गरे । ‘यो समय नेपालले खेर फाल्न सक्दैन’, उनले जोड दिए । कांग्रेसले यही पाँच वर्षको सदुपयोग गर्ने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई सबैभन्दा ठूलो शक्ति मधेशबाटै चाहिएको बताए । ‘किनभने मधेश नै कांग्रेसको जन्मभूमि हो। कांग्रेसलाई बनाउने, हुर्काउने, बलियो बनाउने र टिकाइराख्ने यही धर्ती हो’, उनले भने ।

सभापति थापाले आफू सर्लाहीको एउटा निर्वाचन क्षेत्रबाट मात्र नभई सिङ्गो सर्लाही र मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई जिताउने जिम्मेवारी लिएर मधेश झरेको बताए । मधेशवासीको साथ र समर्थन लिएर कांग्रेसले आगामी पाँच वर्ष देश र मधेश दुवैको सेवा गर्ने ऐतिहासिक कर्तव्य पूरा गर्ने उनको दाबी थियो । उनले कार्यकर्तालाई कांग्रेसको यो सन्देश घर–घरमा पुर्‍याउन आग्रह गरे । ‘मधेशको सेवा गर्ने संकल्पसहित हामी यहाँ आएका छौं’, उनले भने, ‘अब यो भरोसा जनतासम्म पुर्‍याउने जिम्मेवारी तपाईंहरुकै हो ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *