चुनावमा हाम्रो पुरानै पार्टीसँग प्रतिस्पर्धा हुन्छ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले सुशासन, विकास र भविष्य केन्द्रित यथार्थवादी तथा विश्वसनीय कार्यक्रम राखेर घोषणापत्र बनाउने बताएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले घोषणामा मात्रै सीमित हुने घोषणापत्र नबनाउने बताए । उनले कांग्रेसले केही समयभित्र पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।
नेपालको राजनीतिमा काम कम कुरा धेरै गर्ने प्रवृति रहेको उल्लेख गर्दै उनले कांग्रेसले गर्नसक्ने कामको आधारमा मात्रै घोषणापत्र तयार गर्ने बताए । उनले गर्नसक्ने जति कामको मात्रै वाचा जनताको बीचमा गर्ने उल्लेख गरे । उनले निर्वाचन क्षेत्रको आवश्यकताका आधारमा उम्मेद्वारहरुले पनि आफ्नो घोषणापत्र बनाउने बताए ।
उनले सबै एकजुट भएर निर्वाचनमा लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । आगामी निर्वाचनमा कांग्रेसको सरकार बन्नेगरी तयारी गर्न आग्रह गरे । प्रवक्ता चालिसेले देशभरका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरू रहेको बताए । उनले विद्रोह गरेका केही उम्मेदवारले मनोनयन फिर्ता लिइसकेका र केही स्थानमा निष्क्रिय बनाएर आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पहल भइरहेको जानकारी दिए ।
नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीसँग प्रतिस्पर्धा हुने बताएका हुन् । ‘यो गम्भीर कुरा पनि हो । मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो,’ चालिसेले भने, ‘तर, पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’
उनले भने, ‘केही समयपछि नै पार्टीले आफ्नो घोषणा पत्र सार्वजनिक गर्दैछ । स्थानीय रुपमा उम्मेद्वारहरुले पनि आफ्नो घोषणा पत्र तयार गर्नेछन् । घोषणापत्रमा विशेष गरी सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी र विश्वसनिय कार्यक्रम । घोषणाको लागी घोषणा होईन की विश्वसनीय यथार्थवादी कार्यक्रममा हामीले सार्वजानिक गर्नेछौँ ।’
उनले भने, ‘किनकी कुरा धेरै गर्ने काम कम हुने नेपालको राजनितिमा त्यो चलन चलेको हुनाले जति सकिन्छ, त्यति हामी गर्छौ र बोलेको कुरा पुरा गर्छौ । यो आधारमा हामीले चुनावमा जनतामा आशा जगाउँनुछ, स्रोतको उपायहरुको पनि खोजी गर्नुछ । सबै कुरा हामीले घोषणापत्रमा समावेश गर्नेछौँ । पुर्ण एकता छ काँग्रेस पार्टीमा । एक भएर, एक ढिक्का भएर हामीले आफ्नो उम्मेद्वारलाई विजयी बनाएर नेपाली काँग्रेसको सरकार बनाउने उदेश्यका साथ अगाडी बढेका छौँ।’
प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै स्थानीय तह र वडा स्तरसम्म प्रचार–प्रसार तथा परिचालन समिति गठनको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले पार्टीले निर्वाचन आयोगको आचारसंहिताको पूर्ण पालना गर्ने र पार्टीले पनि आन्तरिक आचारसंहिता बनाएर कडाइका साथ लागू गरेको बताए । उनले पार्टीले प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाइने पनि जानकारी दिए । कांग्रेसले समकालीन राजनीतिक, वैचारिक र नीतिगत विषयमा प्रत्येक दुई दिनमा ‘डबली संवाद’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । माघ १६ गते शहीद दिवसको अवसरबाट यो कार्यक्रम शुरु गर्न लागिएको उनले जानकारी दिए ।
