`

मैदान फेरेका गगनलाई सर्लाही–४ मा अमरेश चुनौती, नेता कि समीकरण निर्णायक ?

Nepal One HD ९ माघ २०८२ ८:११
बिशेष

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिँदै आएका गगन थापाले आफ्नो बलियो राजनीतिक आधार मानिएको काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएपछि यो निर्वाचन क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा आएको छ । लगातार तीन पटक यही क्षेत्रबाट जितिसकेका अमरेशकुमार सिंहसँगको सीधा प्रतिष्पर्धाले सर्लाही–४ लाई यस पटक सबैभन्दा चासोको निर्वाचन क्षेत्र बनाएको छ ।

गगन थापाको सर्लाही प्रवेशलाई कसैले साहसी राजनीतिक प्रयोग भनेका छन् भने कसैले काठमाडौं असुरक्षित भएपछि मधेसमा सुरक्षित अवतरण खोजेको टिप्पणी गरेका छन् । तर यथार्थ के हो भने सर्लाही–४ राजनीतिक रूपमा जटिल, बहुपक्षीय शक्ति सन्तुलन भएको क्षेत्र हो, जहाँ जित कुनै एक दलको संगठनात्मक बलले मात्र सुनिश्चित हुँदैन ।

कांग्रेसको परम्परागत पकड, तर छैन एकल वर्चस्व
सर्लाही–४ ऐतिहासिक रूपमा नेपाली कांग्रेसको बलियो क्षेत्र मानिँदै आएको छ । २०४८ देखि २०५६ सम्म महन्थ ठाकुरले लगातार तीन निर्वाचन जितेपछि यो क्षेत्र कांग्रेसको गढका रूपमा चिनिएको थियो । पछि महन्थ ठाकुर कांग्रेसबाट अलग भएपछि अमरेशकुमार सिंह यही क्षेत्रको मुख्य अनुहार बने । उनले २०७० र २०७४ मा कांग्रेसबाट तथा २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरे ।

स्थानीय तह निर्वाचनको नतिजा हेर्दा पनि कांग्रेस कमजोर छैन । ५१ वडामध्ये कांग्रेसले १९ वडा जितेको छ, जुन सबै दलमध्ये सबैभन्दा धेरै हो । वडाध्यक्षहरूले पाएको कुल मतमा पनि कांग्रेस अग्रस्थानमा छ । तर स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनबीच मतको प्रवृत्ति भने फरक देखिएको छ । स्थानीय तहमा २३ हजारभन्दा बढी मत पाएको कांग्रेसले २०७९ को समानुपातिकतर्फ १६ हजार मतमै सीमित हुनुपरेको थियो ।

अमरेशको व्यक्तिगत पकड र रास्वपाको नयाँ रंग
अमरेशकुमार सिंहको शक्ति भने संगठनभन्दा बढी व्यक्तिगत राजनीतिक सम्बन्ध र निरन्तर जनप्रतिनिधित्वबाट बनेको छ । तीन पटक लगातार जितेका उनी २०७९ मा कांग्रेसकै उम्मेदवारलाई हराएर स्वतन्त्र रूपमा विजयी भएका थिए । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकटबाट मैदानमा उत्रिएका सिंहले ‘जेनजी आन्दोलन’ र बालेन साहको लोकप्रियतालाई आफ्नो पक्षमा उपयोग गर्ने रणनीति लिएका छन् ।
उनको दाबी स्पष्ट छ–स्थानीय जनताले बाहिरबाट आएका उम्मेदवारभन्दा आफूलाई बढी विश्वास गर्छन् । २०७९ मा २० हजार बढी मत ल्याएर जितेको इतिहास र अहिले पार्टीको संरचना जोडिएकाले आफू अझ बलियो भएको उनको दाबी छ ।

यादव मतको विभाजन र एमालेको चुनौती
यस निर्वाचन क्षेत्रमा यादव समुदायको मत निर्णायक मानिन्छ । यही आधारमा एमालेका उम्मेदवार अमनिशकुमार यादवलाई पनि कमजोर आँक्न मिल्दैन । उनी पूर्व सांसद शिवपूजन यादवका छोरा हुन् । शिवपूजनको परिवारिक राजनीतिक विरासत, छोरी मधुमालाले २०७९ मा ल्याएको १४ हजार बढी मत, र स्थानीय तहमा छोराको जित-यी सबैले एमाले उम्मेदवारलाई मजबुत आधार दिन्छन् । तर यस पटक यादव जातिकै अन्य उम्मेदवारहरू-नेकपाबाट रजनीश राय यादव र जसपा नेपालबाट रामेश्वर राय यादव-उठेकाले यादव मत विभाजित हुने देखिन्छ। यो विभाजनले कसलाई फाइदा पुग्छ भन्ने कुरा नै चुनावको निर्णायक पाटो बन्नेछ ।

स्थानीय तहको समीकरण : कसको कहाँ पकड ?
बलरा र रामनगरमा माओवादी प्रभाव बलियो देखिन्छ भने धनकौल र विष्णु गाउँपालिकामा कांग्रेसको संगठनात्मक पकड राम्रो छ । गोडैता नगरपालिकामा लोसपा÷जसपाको प्रभाव छ भने बरहथवामा एमाले बलियो देखिन्छ । बसबरियामा जसपाको उपस्थिति उल्लेखनीय छ । यसरी हेर्दा सर्लाही–४ कुनै एक दलको ‘सेफ सीट’ होइन, बरु प्रतिष्पर्धी शक्तिहरूको मिश्रित मैदान हो ।

सर्लाही–४ को चुनाव गगन–अमरेशको मात्र कथा होइन । कांग्रेसको परम्परागत संगठन, अमरेशको व्यक्तिगत प्रभाव, एमाले–यादव विरासत, माओवादी र मधेसी दलहरूको स्थानीय पकड—सबै मिसिएको यो निर्वाचन बहुकोणात्मक प्रतिष्पर्धा हो ।

गगन थापाका लागि यो चुनाव राजनीतिक विश्वसनीयता र राष्ट्रिय नेताको हैसियत प्रमाणित गर्ने अवसर हो भने अमरेश सिंहका लागि आफ्नो अपराजित छवि जोगाउने लडाइँ । अन्तिम निर्णय भने सर्लाही–४ का मतदाताले गर्नेछन्, जहाँ पार्टीभन्दा पनि व्यक्ति, जातीय समीकरण, स्थानीय सम्बन्ध र पछिल्लो राजनीतिक तरलताले निर्णायक भूमिका खेल्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *