फेरि बढ्यो तेलको मूल्य
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको झण्डा भएको कार्गो जहाज नियन्त्रणमा लिइएको दाबी गरेपछि विश्व ऊर्जा बजारमा असर देखिएको छ।
सोमबार बिहान कच्चा तेलको मूल्य ४.७४ प्रतिशतले बढेर प्रति ब्यारेल ९४.६६ अमेरिकी डलर पुगेको छ। पछिल्लो घटनाक्रमसँगै अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्तिको चिन्ता बढेको देखिएको छ।
यसअघि इरानले हर्मुज स्ट्रेट हुँदै जाने जहाजलाई लक्षित गर्ने चेतावनी दिएको थियो। उक्त मार्ग विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिन्छ।
गत फेब्रुअरी २८ देखि अमेरिका-इजरायल र इरानबीच तनाव चुलिँदै गएको बताइन्छ। त्यसयता ऊर्जा बजारमा लगातार उतारचढाव भइरहेको छ।
अमेरिकी पक्षले इरानसँग वार्ता अघि बढाउने तयारी गरेको छ। ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल इरानसँग छलफलका लागि पाकिस्तान जाने तयारीमा रहेको छ।
