वार्तापछि रुसी आक्रमण भएको जेलेन्स्कीको आरोप
काठमाडौं। युक्रेनको राजधानी किएभसहित १२ वटा क्षेत्रमा रुसी आक्रमण हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जना बालबालिका रहेका छन् ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार रुसले साँझदेखि तीन चरणमा क्षेप्यास्त्र आक्रमण गरेको थियो । आक्रमणमा २१ वटा क्षेप्यास्त्र प्रयोग गरिएको उनले बताएका छन् ।
रुसी आक्रमणबाट सर्वसाधारणका आवासीय भवन, ऊर्जा पूर्वाधार, रेल स्टेसनका संरचना, मेट्रो सेवा, व्यापारिक केन्द्र तथा विभिन्न व्यवसायमा क्षति पुगेको जेलेन्स्कीले उल्लेख गरेका छन् । आक्रमणबाट एउटा गुम्बासमेत प्रभावित भएको उनले बताएका छन् ।
आक्रमणपछि उद्धार तथा आपत्कालीन सेवाका टोली विभिन्न स्थानमा परिचालित भएको र प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको जेलेन्स्कीको भनाइ छ । उनले ज्यान गुमाउनेका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको अवस्थाप्रति चिन्ता जनाएका छन् ।
राष्ट्रपति जेलेन्स्कीले रुसले वार्ताको अर्को चरण सकिएलगत्तै आक्रमण गरेको आरोप लगाएका छन् । उनका अनुसार पछिल्लो आक्रमणले युद्ध अन्त्य गर्ने विषयमा रुसको दृष्टिकोणमा वास्तविक परिवर्तन नआएको संकेत गरेको छ ।
उनले वार्तामार्फत युद्ध अन्त्य गर्ने प्रयास जारी राख्नुपर्नेमा जोड दिँदै रुसी आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायले थप दबाब दिनुपर्ने बताएका छन् । क्षेप्यास्त्र आक्रमणको जवाफमा युक्रेनको हवाई प्रतिरक्षा प्रणाली बलियो बनाउनु, ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्रणालीलाई नष्ट गर्न सक्ने क्षेप्यास्त्रको आपूर्ति शीघ्र गर्नु तथा रुसमाथि युद्धसम्बन्धी प्रतिबन्ध कडा पार्नु आवश्यक रहेको उनको भनाइ छ ।
जेलेन्स्कीले रुसलाई युद्ध रोक्न बाध्य पार्ने प्रभावकारी कदम चाल्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । उनले युक्रेनलाई निरन्तर सहयोग गर्ने मुलुक तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै सर्वसाधारणको जीवन रक्षा गर्नु प्राथमिकता हुनुपर्ने बताएका छन् ।
रुस र युक्रेनबीच जारी युद्धका क्रममा ऊर्जा पूर्वाधार तथा नागरिक बसोबास भएका क्षेत्रमा हुने आक्रमणले सर्वसाधारणको सुरक्षालाई गम्भीर चुनौती दिँदै आएको छ ।
