कांग्रेसमा टिकटको चहलपहल : कतै टुंगो, कतै बिद्रोह र असन्तुष्टि (सूचीसहित)
काठमाडौं । उम्मेदवारी दर्ताको समय सुरु भइसक्दा पनि नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउन सकेको छैन । पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन, नेताहरूबीचको समन्वय र असन्तुष्ट समूहलाई मिलाउने प्रयासका बीच कांग्रेसले केही जिल्लामा भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छ ।
पार्टी सभापति गगन थापाको सक्रियतामा शेरबहादुर देउवा र शेखर कोइराला समूहलाई समेट्दै टिकट वितरण प्रक्रिया तीव्र पारिएको कांग्रेस नेताहरू बताउँछन् । काठमाडौं उपत्यका र आसपासका केही क्षेत्रबाहेक अधिकांश जिल्लामा उम्मेदवारको निर्णय भइसकेको जनाइएको छ ।
कञ्चनपुर–३ मा रमेश लेखक बाहिर, हरि बोहरा मैदानमा
कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा महत्वपूर्ण निर्णय गरेको छ। पूर्वगृहमन्त्री तथा प्रभावशाली नेता रमेश लेखकलाई यस पटक उम्मेदवार नबनाउने निर्णय गर्दै पार्टीले हरि बोहरालाई टिकट दिएको हो । २०७९ सालको आम निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित लेखक पुनः उम्मेदवार बन्ने प्रबल दाबेदार मानिएका थिए । तर, संसदीय बोर्डको पछिल्लो निर्णयले उनलाई प्रतिस्पर्धाबाट बाहिर राखेको छ । टिकट पाएपछि हरि बोहराले पार्टी नेतृत्वप्रति विश्वास व्यक्त गर्दै चुनावी अभियानमा जुटिसकेको बताएका छन् ।
मोरङका ६ वटै क्षेत्रमा उम्मेदवार तय
पूर्वी नेपालको महत्वपूर्ण जिल्ला मोरङमा भने कांग्रेसले सबै छ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार अन्तिम सूची यसप्रकार छ ः
मोरङ–१ : खड्ग फागो
मोरङ–२ : डा. मिनेन्द्र रिजाल
मोरङ–३ : डा. सुनील शर्मा
मोरङ–४ : गुरुराज घिमिरे
मोरङ–५ : फुलकुमार लालवानी
मोरङ–६ : डा. शेखर कोइराला
क्षेत्र नम्बर ६ बाट वरिष्ठ नेता डा. शेखर कोइरालालाई उम्मेदवार बनाइनुले पार्टीभित्र र बाहिर राजनीतिक चर्चा बढाएको छ । यस्तै, पूर्वमन्त्रीद्वय डा. मिनेन्द्र रिजाल र डा. सुनील शर्मालाई पनि टिकट दिइएको छ ।
कैलाली–४ मा बलायरको बहिस्कार घोषणा
सुदूरपश्चिममा भने कांग्रेसभित्र असन्तुष्टिको स्वर खुलेर आएको छ । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी नदिने घोषणा गरेका छन् । टिकट पाउँदा पनि चुनाव नलड्ने उनको निर्णयले पार्टीभित्र तरंग सिर्जना गरेको छ ।
बलायरले संविधानअनुसार बनेको संसद विघटन गरी फेरि निर्वाचन गरिनु निरर्थक भएको दाबी गर्दै आफू निर्वाचन प्रक्रियाबाट अलग रहने बताएका छन् । २०७९ मा सोही क्षेत्रबाट एमालेका लेखराज भट्टलाई पराजित गरेका बलायर देउवानिकट नेता मानिन्छन् । देउवा र रमेश लेखकलाई टिकट नदिइएको विषयसँगै उनको उम्मेदवारी फिर्ता निर्णय जोडेर हेरिएको छ ।
कांग्रेसभित्र मिलन र मनमुटाव दुवै
कांग्रेसले धेरै जिल्लामा उम्मेदवार टुंग्याए पनि केही क्षेत्रमा असन्तुष्टि र बहिस्कारका स्वर देखिन थालेका छन् । एकातिर मोरङ जस्ता जिल्लामा सर्वसम्मत निर्णय भएको छ भने अर्कोतिर कैलाली र कञ्चनपुरका घटनाले पार्टीभित्रको आन्तरिक राजनीतिलाई सतहमा ल्याइदिएको छ । अब बाँकी निर्वाचन क्षेत्रमा कांग्रेसले कसरी सहमति जुटाउँछ र असन्तुष्ट नेताहरूलाई कसरी समेट्छ भन्ने विषय आगामी दिनमा झनै चासोको केन्द्र बन्ने देखिन्छ ।

