`

वाग्लेको अभिव्यक्ति ‘मुनरो डक्ट्रिन’को प्रभाव त होइन भन्दै कमल थापाको प्रश्न, सरकारसँग स्पष्ट जवाफ माग

Nepal One HD ९ कार्तिक २०८३ ८:२८
बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारसँग स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल–भारत सम्बन्धका सन्दर्भमा वाग्लेले दिएको अभिव्यक्ति नेपाली राष्ट्रियताको अवमूल्यन गर्ने खालको भएको टिप्पणी गर्दै थापाले जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो भनाइबारे जवाफ दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले लेखेका छन् –

नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो। नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन। विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ।
​सानो समुहको केही अपवादमुलक धारणालाई लिएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु उहाँको पूर्वाग्रही चस्माको उपज हो। नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित छ। हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौँ; तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो। के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन्? वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन? जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ।
के सरकारको धारणा यही हो?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *