`

मधेश झरे गगन, सिमरामा कार्यकर्ताको उत्साहपूर्ण स्वागत

Nepal One HD १२ माघ २०८२ १३:०२
निर्वाचन विषेश

काठमाडौं । नेपाली कांग्रेसका नव निर्वाचित सभापति तथा प्रधानमन्त्रीका घोषित उम्मेदवार गगन थापा मधेश केन्द्रित चुनावी अभियानका लागि सिमरा आइपुगेका छन् । सोमबार बिहान सिमरा विमानस्थलमा अवतरण गरेका थापालाई कांग्रेसका नेता–कार्यकर्ता र समर्थकहरूले फूलमाला र नाराबाजीसहित भव्य स्वागत गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थापा सिमराबाट सोही निर्वाचन क्षेत्रतर्फ अगाडि बढिसकेको कांग्रेस महाधिवेशन प्रतिनिधि रघु कार्कीले जानकारी दिए । यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट निरन्तर चुनाव लड्दै आएका थापा यस पटक मधेशको सर्लाहीबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् ।

अबका केही दिन थापाले मधेशका विभिन्न जिल्लामा पुगेर चुनावी सभा, कार्यकर्ता भेटघाट र प्रचारप्रसार कार्यक्रम गर्ने तालिका रहेको छ । सर्लाही ४ मा उनको मुख्य प्रतिष्पर्धा कांग्रेसकै पृष्ठभूमिबाट आएका रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग हुने देखिएको छ । यद्यपि उक्त क्षेत्रमा एक दर्जनभन्दा बढी उम्मेदवार भए पनि चुनावी प्रतिष्पर्धा थापा र सिंहबीच नै केन्द्रित हुने अनुमान गरिएको छ । यसैबीच, कांग्रेसले धनुषाको जनकपुरधाममा आयोजना गर्न लागेको चुनावी सभा निर्वाचन आयोगद्वारा आचारसंहिता लागू भएपछि अन्तिम समयमा स्थगित गरिएको छ ।

यसअघि रास्वपाले भने जनकपुरमै चुनावी सभा सम्पन्न गरिसकेको थियो । राजनीतिक सरगर्मी बढिरहेका बेला नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल पनि छिट्टै मधेश यात्रामा निस्कने तयारीमा रहेको जानकारी पार्टी स्रोतले जनाएको छ । मधेशमा शीर्ष नेताहरूको बाक्लो उपस्थिति बढ्दै जाँदा आगामी निर्वाचन थप चासोपूर्ण बन्ने संकेत देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *