कांग्रेस–सुमना श्रेष्ठ संवादमा, गगन थापा काठमाडौं–४ छोड्न तयार हुन् ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता नजिकिँदै गर्दा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठबीचको संवादले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । कांग्रेस नेतृत्वसँग उनको निरन्तर छलफलले सम्भावित पार्टी प्रवेश वा चुनावी सहकार्यको ढोका खुला भएको संकेत दिएको छ ।
कांग्रेस सभापति गगन थापासहितका नेताहरूसँग सुमनाको संवाद तीव्र बनेको छ । स्रोतका अनुसार गगन थापा काठमाडौं क्षेत्र नम्बर–४ छाड्न तयार देखिएका छन् । यदि थापाले उक्त क्षेत्र छाडे भने सुमना श्रेष्ठ काठमाडौं–४ बाट प्रतिनिधिसभा निर्वाचन लड्न इच्छुक रहेको बताइएको छ । गगन थापा भने काठमाडौं–१ वा सर्लाही क्षेत्रबाट उम्मेदवार बन्न सक्ने सम्भावनामा छलफल गरिरहेका छन् । उनले सर्लाहीका स्थानीय नेता–कार्यकर्तासँग पनि १ वा ४ मध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्न सक्ने संकेत दिइसकेका छन् ।
कांग्रेसभित्र उम्मेदवार छनोटको रस्साकस्सी चर्किरहेका बेला सुमनासँगको संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाका पक्षबाट आएका उम्मेदवार सूची एकै ठाउँमा राखेर टुंगो लगाउने प्रयास भइरहँदा सुमनाको सम्भावित प्रवेशले समीकरण थप जटिल बनेको छ । सभापति थापा निकट एक नेताका अनुसार उम्मेदवारी दर्ताको अन्तिम समय नजिकिँदै गर्दा सुमना श्रेष्ठसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको पुष्टि भएको छ । यद्यपि उनी कांग्रेस प्रवेश गर्ने कि चुनावी सहकार्यमा सीमित रहने भन्ने विषय अझै खुलिसकेको छैन ।
सुमना श्रेष्ठले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी थिइन् । नख्खु कारागारबाट रवि लामिछाने जबर्जस्ती निकालिएको घटनालाई लिएर उनले सार्वजनिक रूपमा कडा आपत्ति जनाएकी थिइन् । रास्वपा छाडेपछि सुमना काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साह निकट समूहसँग नजिक देखिइन् ।
उनले ‘उज्यालो नेपाल’ का अध्यक्ष कुलमान घिसिङसँग पनि संवाद गरेकी थिइन् । केही समय बालेन्द्र साहको समूह हुँदै पुनः रास्वपामै फर्किने चर्चा चले पनि रवि लामिछानेले आफ्ना कट्टर आलोचक सुमनालाई स्वीकार नगरेपछि त्यो सम्भावना अन्त्य भएको बताइन्छ । अब कांग्रेससँगको संवादले सुमनाको राजनीतिक यात्रामा नयाँ मोड आउने संकेत देखिएको छ । अन्तिम निर्णय उम्मेदवारी दर्ताअघि नै सार्वजनिक हुने अपेक्षा गरिएको छ । कांग्रेस र सुमना श्रेष्ठबीचको यो सम्भावित सहकार्यले काठमाडौंको चुनावी प्रतिष्पर्धा झनै रोचक बनाउने निश्चित देखिन्छ ।
