गगनविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै निर्वाचन आयोगकै निर्णय अनुसार तत्लका लागि गगन थापा नेतृत्वको कांग्रेसलाई बाटो खुलेको छ ।
तत्कालीन सभापति शेरबहादुर देउवा र कावा सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटउपर आज सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । अन्तरिम आदेश दिने / नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसका विरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेबरहादुर देउवाले माघ ४ मा सर्वोच्च रिट दायर गरेका थिए ।
त्यसमा निर्वाचन आयोगसँगै कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ । रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गरिएको छ । त्यस्तै, अहिले चलिरहेको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको प्रक्रिया रोक्न अन्तरिम आदेश माग गरिएको थियो । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको छ । सोही निर्णयबमोजिम गगनले पार्टीका १६५ क्षेत्रकै उम्मेदवार टुंग्याएका छन् ।
