`

बालेन शाह हेर्न दार्चुलामा थामिनसक्नु भिड (तस्वीरहरु)

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन् । उनी आज डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा. तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन् । दार्चुलामा उनी पुग्दा थामिनसक्नु भिड लागेको छ । उनी गोकुलेश्वर पुग्दा सर्वसाधारणको घुइँचो लागेको थियो ।

वरपरका गाउँबाट उनलाई हेर्न सर्वसाधारण गोकुलेश्वर पुगेका थिए । उनी तीन दिनअघि काठमाडौँबाट पश्चिम तराईतिर लागेका थिए । बर्दियामा चुनावी भेटघाटपछि सुदूरुपश्चिम गएका थिए । मंगलबार कैलाली र कञ्चनपुरका चुनावी कार्यक्रममा व्यस्त रहेका थिए । आज बिहानै कैलालीबाट डडेल्धुरा, बैतडी हुँदै दार्चुला पुगेका हुन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

पाथीभरा पुगे बालेन (तस्वीरहरु)

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह ताप्लेजुङको पाथीभरा दर्शनका लागि पुगेका छन् । झापा–५ मा पूर्व प्रधानमन्त्री एवं केपी शर्मा ओलीसँगको प्रतिष्पर्धामा रहेका बालेन चुनावी प्रचारप्रसारकै क्रममा समर्थक र पार्टी कार्यकर्तासँग इलाम, पाँचथर हुँदै पाथीभरा देवीको दर्शनमा पुगेका हुन् । बालेनको पाथीभरा दर्शनलाई चुनावी रणनीतिकै रूपमा चर्चा र विश्लेषण गरिएको छ ।

ओलीको गढमा बालेनको रणनीति : एमाले–कांग्रेसका नेता तान्दै, समूह–समूहमा भेटघाट

झापा । झापा क्षेत्र नम्बर–५ मा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत गढ मानिएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले नयाँ राजनीतिक तरङ्ग सिर्जना गरेको छ ।

यसैबीच नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा ले संगठन परित्याग गर्दै बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत २०८२ माघ ७ गतेदेखि आफू राष्ट्रिय युवा संघ र नेकपा (एमाले) को संगठित सदस्य नरहेको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्, ‘परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु ।’ खतिवडाको यो निर्णयलाई दमकको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
एमाले मात्र होइन, नेपाली कांग्रेसभित्र पनि बालेनको उम्मेदवारीले हलचल ल्याएको देखिन्छ । यसअघि मंगलबार नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईले समेत बालेनलाई सघाउने घोषणा गर्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका थिए । उनले साधारण सदस्य समेत नरहने गरी कांग्रेस परित्याग गरेका हुन् ।

बालेनको फरक चुनावी रणनीति
राजनीतिक समर्थन मात्र होइन, बालेन शाहको चुनावी शैली पनि झापा–५ मा चर्चाको विषय बनेको छ । बुधबार बिहानदेखि दमकमा घरदैलो तथा मतदाता भेटघाट थालेका बालेनले परम्परागत व्यक्तिगत भेटघाटभन्दा फरक शैली अपनाएका छन् । उनले समूहगत भेटघाट प्रणाली लागू गर्दै प्रत्येक समूहलाई अधिकतम १० मिनेट मात्र समय दिने व्यवस्था गरेका छन् ।

अत्यधिक भीड, समय व्यवस्थापन र धेरै मतदातासँग संक्षिप्त संवाद गर्नका लागि यस्तो नीति अपनाइएको उनको सचिवालयले जनाएको छ । दमकस्थित रास्वपा कार्यकर्ता लक्की सिटौला को निवासमा बास बसेका बालेनलाई भेट्न बिहानैदेखि मतदाताहरूको ठूलो भीड लागेको थियो । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर समेत रहेका बालेनप्रति स्थानीय मतदाताको उत्साह उल्लेखनीय देखिएको छ । यद्यपि, बुधबारका भेटघाटहरू परिचयात्मक संवादमै सीमित राखिएका थिए ।

रास्वपा झापा–५ का क्षेत्रीय संयोजक भेषराज भट्टराई का अनुसार बालेनको चुनावी अभियान औपचारिक रूपमा सुरु भइसकेको छ, यद्यपि विस्तृत कार्यक्रम तालिका सार्वजनिक भइसकेको छैन । झापापछि मोरङ, सुनसरी तथा पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङसम्म पुगेर चुनावी अभियान विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

ओली–बालेन : कडा प्रतिष्पर्धाको संकेत
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् । ओली यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका छन् । तर यस पटक एमाले र कांग्रेस दुवै पार्टीका प्रभावशाली नेता–कार्यकर्ताहरू बालेनतर्फ आकर्षित हुन थालेपछि ओली र बालेनबीच कडा र रोचक प्रतिष्पर्धा हुने संकेत देखिएको छ । झापा–५ मा देखिएको यो राजनीतिक पुनर्संरचनाले आगामी निर्वाचनलाई थप चासो र बहसको केन्द्रमा ल्याएको छ ।

 

 

भाषा, साहित्य, कला र बाजा जोगाए सिंगो देश जोगिन्छ : बालेन

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भाषा, साहित्य, कला र बाजा जोगाउँदै गयौँ भने सिंगो देश जोगिने बताएका छन् । मकर संक्रान्ति तथा किरात नयाँ वर्षको अवसर पारेर बिहिबार नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा मेयर शाहले काठमाडौँ महानगरपालिका र उपत्यकामा सम्पदा, संस्कृति, भाषा, साहित्य, कला, संगीत र ऐतिहासिक संरचनाहरू संरक्षण गरिँदै आएको बताउदै यस्तै अभ्यास देशभरका ७५३ वटै स्थानीय तहमा हुनुपर्नेमा जोड दिए ।

‘आफ्नो भाषा, कला र संस्कृति जोगाउनु भनेको केवल आफ्नो पहिचान जोगाउनु होइन, त्यो सिंगो देशको पहिचान जोगाउनु हो,’ मेयर शाहले भने । उनले एक सभ्यताले अर्को सभ्यतालाई सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिँदै त्यसले सबैलाई सुरक्षित र सशक्त बनाउने बताए । लोपोन्मुख भाषा र लिपिहरूप्रति चिन्ता व्यक्त गर्दै उनले ती संरक्षणका लागि सबै नेपालीले साझा प्रयास गर्नुपर्ने बताए । ‘एउटा–एउटा भाषा, साहित्य, कला र बाजा जोगाउँदै गयौँ भने सिंगो देश जोगिन्छ,’ उनले भने, ‘यसले समग्र राष्ट्रको पहिचान कायम रहन्छ ।’

काठमाडौँ उपत्यका किरात सभ्यताको उद्गम स्थल भएको उल्लेख गर्दै उनले यलम्बरलाई काठमाडौँ उपत्यकामा भगवानका रूपमा पूजा गर्ने परम्परा रहेको बताए । इन्द्रचोकस्थित आकाश भैरवलाई यलम्बरका रूपमा पूजा गरिने र ललितपुरको मौलिक नाम ‘यल’ रहेको उनको भनाइ थियो । काठमाडौँ, ललितपुर र भक्तपुर समेटिएको उपत्यकालाई यलम्बरको राज्यका रूपमा लिइने ऐतिहासिक मान्यता रहेको उनले स्मरण गराए ।

यस्तै, शाहले किरात सभ्यता र परम्पराअनुसार मनाइने नयाँ वर्षलाई किरात समुदायको मात्रै नभई सम्पूर्ण नेपालको साझा नयाँ वर्षका रूपमा लिन सकिने बताएका छन् । माघ १ गते विभिन्न समुदायले नयाँ वर्ष मनाउने परम्पराको उल्लेख गर्दै मेयर शाहले किरात, मगर, थारु, मिथिला लगायतका समुदायहरूमा आ–आफ्नै मौलिक शैलीमा आजको दिनलाई नयाँ वर्षका रूपमा मनाइने गरेको बताए । ‘हाम्रो मौलिक सभ्यता र परम्पराअनुसार मनाइने नयाँ वर्षलाई हामीले मौलिक न्यू इयरकै रूपमा बुझ्नुपर्छ,’ उनले भने ।

 

 

 

बालेन र कुलमानबीच ज्वागलमा वार्ता जारी, रास्वपासँगको छलफल कहाँ पुग्यो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच ललितपुरको ज्वागलमा छलफल चलिरहेको छ । कुमार बेनको निवासमा भइरहेको यो भेटवार्तालाई वैकल्पिक राजनीतिक शक्तिको सम्भावित नयाँ ध्रुवीकरणका रूपमा हेरिएको छ ।

उनीहरू निकट स्रोतका अनुसार बालेन र कुलमानबीच मिलेर अघि बढ्ने विषयमा करिब–करिब सहमति बनिसकेको छ, तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको त्रिपक्षीय समझदारी भने अझै टुंगोमा पुगेको छैन । बालेन र कुलमानबीच देश विकासलाई केन्द्रमा राखेर नयाँ राजनीतिक मोर्चा बनाउने विषयमा पहिलेदेखि नै संवाद हुँदै आएको थियो । यही समीकरणमा रास्वपालाई पनि समेट्ने प्रयासस्वरूप रास्वपा सभापति रवि लामिछानेसँग पटक–पटक भेटवार्ता भयो । तर, मुख्य अड्चन सांगठनिक संरचना र शक्ति बाँडफाँडमै देखिएको छ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने र पार्टीभित्र रवि लामिछानेपछिको वरीयता दिने प्रस्ताव गरेको थियो । साथै, पार्टीको आधारभूत तहदेखि संगठन विस्तार भइसकेको र संसदीय अनुभव समेत हासिल गरिसकेको दाबी गर्दै सांगठनिक ‘स्टेक’ मा रास्वपाको प्रमुख हिस्सेदारी हुनुपर्ने अडान राख्यो । तर, बालेन पक्ष यसमा सहमत देखिएन ।

बालेन निकट स्रोतका अनुसार सीके राउतलगायत अन्य दल तथा स्वतन्त्र धारका नेता–कार्यकर्तालाई समेत समेटेर पार्टीलाई बृहत्तर बनाउने सोच भएकाले कुनै एक दलको सांगठनिक वर्चस्व स्वीकार्न कठिन भएको हो । यही कारणले रास्वपा र बालेनबीचको छलफल सकारात्मक मोड लिन नसकेको बताइन्छ ।

शुक्रबार नै सहमति टुंग्याउने भनिए पनि अन्तिम समयमा बालेन पक्षले कुलमान घिसिङलाई पनि सँगै अघि बढाउनुपर्ने अडान राखेपछि सहमति थप अनिश्चित बनेको थियो । सुरुमा बालेन र रास्वपाबीच दुईपक्षीय समझदारी गरेर पछि कुलमानलाई जोड्ने योजना थियो । सो क्रममा पार्टीभित्रको पदीय बाँडफाँड र तल्लो तहको व्यवस्थापनमा ५०–५० प्रतिशत हिस्सेदारीको प्रस्तावमा संवाद अघि बढिरहेको थियो ।

तर, अन्तिम चरणमा त्रिपक्षीय सहमति अनिवार्य हुनुपर्ने भनिएपछि प्रक्रिया जटिल बन्यो । शुक्रबार राति तीनै नेताबीच ‘डिनर मिटिङ’ गर्ने तयारी समेत भए पनि त्यो भेट हुन सकेन । त्यसपछि बालेन गोदावरी पुगेर आफ्ना निकट सहयोगीसँग छलफलमा जुटेका थिए । शनिबार बिहानदेखि भने कुलमान र बालेनबीच पुनः ज्वागलमै संवाद चलिरहेको छ ।

रास्वपा पक्षले यो भेटपछि मात्र सम्भावित सहमतिबारे स्पष्टता आउने बताएको छ । रास्वपाका एक नेताका अनुसार दुईपक्षीय मात्र भएको भए सहमति यसअघि नै टुंगिसक्थ्यो, तर अब त्रिपक्षीय समीकरणले निर्णयलाई अनिश्चित बनाएको छ । यद्यपि, स्रोतहरू भन्छन्, ‘यदि रास्वपासँग सहमति हुन सकेन भने पनि बालेन र कुलमान भने एउटै धारमा उभिने सम्भावना प्रायः निश्चित छ । कुलमाननिकट नेताका अनुसार रविसँगको छलफलमा समेत बालेनले कुलमानको पक्षबाट कुरा राखिरहेका छन् ।’

राजनीतिक वृत्तमा यो छलफललाई वैकल्पिक शक्तिको भविष्य निर्धारण गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । ज्वागलमा चलिरहेको वार्ताले नयाँ सहमति जन्माउने हो कि छुट्टै ध्रुवीकरणतर्फ लैजाने हो भन्ने प्रश्नको उत्तर भने अब बालेन–कुलमान भेटको निष्कर्षसँगै स्पष्ट हुने देखिन्छ ।

मेयर बालेनका बुवाको स्वास्थ्य गम्भीर, भेट्न गइन् प्रधानमन्त्री कार्की

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना भएका छन्। शाहलाई आइतबार बिहानै अस्पताल लगिएको थियो । उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ।

पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको छ। साथै मस्तिष्कमा पनि असर देखिएको छ। अहिले उनी अचेत अवस्थामा रहेको स्रोतले जनाएको छ।

अस्पताल स्रोतका अनुसार शाहको अवस्था गम्भीर छ। अरू समस्या पनि देखिएको छ। जस्का कारण मेयर बालेनका बुवालाई भेट्न प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान १० बजे अस्पताल पुगेकी थिइन्।

बालेन शाहले आत्महत्या गर्लान् भन्ने डर लागिरहेको छ: सूर्य थापा

काठमाडौं। नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको हालको व्यवहार र अभिव्यक्तिले आफूलाई चिन्तित बनाएको बताएका छन्।

उनले  एक टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै बालेन शाह मानसिक रूपमा दबाबमा देखिएको र “उनी आत्महत्या गर्लान् कि भन्ने डर लागेको” बताए।

थापाले भने, “बालेन अहिले निकै तनावमा देखिन्छन्, उनीसँग राजनीतिक, सामाजिक र व्यक्तिगत तीनवटै प्रकारका दबाब छन्, त्यसैले म चिन्तित छु।”

उनले बालेनप्रति सहानुभूति व्यक्त गर्दै, “उनीसँग असहमति हुन सक्छ, तर अहिले उनलाई सहयोग र मार्गदर्शनको आवश्यकता छ,” ।

थापाको उक्त टिप्पणी अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ, धेरैले बालेनको मानसिक अवस्थाप्रति चासो देखाएका छन् भने केहीले थापाको अभिव्यक्तिलाई विवादास्पद भनेका छन्।

बालेनलाई मन्त्री पुनको सुझाव : सर्को तानेको बेला केही नबोलौं, नलेखौं

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरका मेयर बालेन शाह लक्षित गर्दै कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा बालेन शाहको फेसबुक स्टाटसको आलोचना भइरहेका बेला मन्त्री पुनले सर्को तानेका बेला केही नबोल्न र नलेख्न भन्दै कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘केही–केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’ हिजो शाहले सामाजिक सञ्जालमा लेखेको एक स्टाटस अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । शाहले केही मिनेटमै डिलिट गरेको स्टाटसको स्क्रिन सर्ट राख्दै अहिले सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साह देशमाथि खतरा बनिरहेका टिप्पणी गरेका छन् । बालेनलाई अविलम्ब गिरफ्तार नगरे देशमा अराजकता र मुठभेड बढ्न सक्ने उनले दाबी गरेका छन् । नेपालमा गाँजा प्रतिबन्धित रहेको बताउँदै उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबार जलाउने बालेनलाई अविलम्ब गिरफ्तार गर्न माग गरेका छन् ।

‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’ मेयर बालेनले शनिबार मध्यराति अंग्रेजीमा अश्लील शब्द प्रयोग गरी अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गरेका थिए । तर व्यापक आलोचना हुन थालेपछि उनले केही बेरपछि त्यो स्टाटस हटाएका थिए । तर त्यसको स्क्रिनसट राखेर सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।

 

बालेनको फेरि आग्रह : घर घर फर्किनुस्, क्षति तपाई–हाम्रै हुने हो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनरत जेनजीलाई घर फर्किन फेरि आग्रह गरेका छन् । अब देश जेनजीले नै बनाउने भन्दै उनले क्षति हुँदा तपाईँ हाम्रै हुने भन्दै फर्किन अपील गरेका हुन् । उनले भनेका छन्, ‘देश तपाईहरुकै हातमा हो । तपाईंहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।’