`

भाषा, साहित्य, कला र बाजा जोगाए सिंगो देश जोगिन्छ : बालेन

Nepal One HD १ माघ २०८२ १७:३१
प्रमुख खबर

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भाषा, साहित्य, कला र बाजा जोगाउँदै गयौँ भने सिंगो देश जोगिने बताएका छन् । मकर संक्रान्ति तथा किरात नयाँ वर्षको अवसर पारेर बिहिबार नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा मेयर शाहले काठमाडौँ महानगरपालिका र उपत्यकामा सम्पदा, संस्कृति, भाषा, साहित्य, कला, संगीत र ऐतिहासिक संरचनाहरू संरक्षण गरिँदै आएको बताउदै यस्तै अभ्यास देशभरका ७५३ वटै स्थानीय तहमा हुनुपर्नेमा जोड दिए ।

‘आफ्नो भाषा, कला र संस्कृति जोगाउनु भनेको केवल आफ्नो पहिचान जोगाउनु होइन, त्यो सिंगो देशको पहिचान जोगाउनु हो,’ मेयर शाहले भने । उनले एक सभ्यताले अर्को सभ्यतालाई सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिँदै त्यसले सबैलाई सुरक्षित र सशक्त बनाउने बताए । लोपोन्मुख भाषा र लिपिहरूप्रति चिन्ता व्यक्त गर्दै उनले ती संरक्षणका लागि सबै नेपालीले साझा प्रयास गर्नुपर्ने बताए । ‘एउटा–एउटा भाषा, साहित्य, कला र बाजा जोगाउँदै गयौँ भने सिंगो देश जोगिन्छ,’ उनले भने, ‘यसले समग्र राष्ट्रको पहिचान कायम रहन्छ ।’

काठमाडौँ उपत्यका किरात सभ्यताको उद्गम स्थल भएको उल्लेख गर्दै उनले यलम्बरलाई काठमाडौँ उपत्यकामा भगवानका रूपमा पूजा गर्ने परम्परा रहेको बताए । इन्द्रचोकस्थित आकाश भैरवलाई यलम्बरका रूपमा पूजा गरिने र ललितपुरको मौलिक नाम ‘यल’ रहेको उनको भनाइ थियो । काठमाडौँ, ललितपुर र भक्तपुर समेटिएको उपत्यकालाई यलम्बरको राज्यका रूपमा लिइने ऐतिहासिक मान्यता रहेको उनले स्मरण गराए ।

यस्तै, शाहले किरात सभ्यता र परम्पराअनुसार मनाइने नयाँ वर्षलाई किरात समुदायको मात्रै नभई सम्पूर्ण नेपालको साझा नयाँ वर्षका रूपमा लिन सकिने बताएका छन् । माघ १ गते विभिन्न समुदायले नयाँ वर्ष मनाउने परम्पराको उल्लेख गर्दै मेयर शाहले किरात, मगर, थारु, मिथिला लगायतका समुदायहरूमा आ–आफ्नै मौलिक शैलीमा आजको दिनलाई नयाँ वर्षका रूपमा मनाइने गरेको बताए । ‘हाम्रो मौलिक सभ्यता र परम्पराअनुसार मनाइने नयाँ वर्षलाई हामीले मौलिक न्यू इयरकै रूपमा बुझ्नुपर्छ,’ उनले भने ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *