`

बालेन र कुलमानबीच ज्वागलमा वार्ता जारी, रास्वपासँगको छलफल कहाँ पुग्यो ?

Nepal One HD १२ पुष २०८२ १२:३३
राजनीति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच ललितपुरको ज्वागलमा छलफल चलिरहेको छ । कुमार बेनको निवासमा भइरहेको यो भेटवार्तालाई वैकल्पिक राजनीतिक शक्तिको सम्भावित नयाँ ध्रुवीकरणका रूपमा हेरिएको छ ।

उनीहरू निकट स्रोतका अनुसार बालेन र कुलमानबीच मिलेर अघि बढ्ने विषयमा करिब–करिब सहमति बनिसकेको छ, तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको त्रिपक्षीय समझदारी भने अझै टुंगोमा पुगेको छैन । बालेन र कुलमानबीच देश विकासलाई केन्द्रमा राखेर नयाँ राजनीतिक मोर्चा बनाउने विषयमा पहिलेदेखि नै संवाद हुँदै आएको थियो । यही समीकरणमा रास्वपालाई पनि समेट्ने प्रयासस्वरूप रास्वपा सभापति रवि लामिछानेसँग पटक–पटक भेटवार्ता भयो । तर, मुख्य अड्चन सांगठनिक संरचना र शक्ति बाँडफाँडमै देखिएको छ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने र पार्टीभित्र रवि लामिछानेपछिको वरीयता दिने प्रस्ताव गरेको थियो । साथै, पार्टीको आधारभूत तहदेखि संगठन विस्तार भइसकेको र संसदीय अनुभव समेत हासिल गरिसकेको दाबी गर्दै सांगठनिक ‘स्टेक’ मा रास्वपाको प्रमुख हिस्सेदारी हुनुपर्ने अडान राख्यो । तर, बालेन पक्ष यसमा सहमत देखिएन ।

बालेन निकट स्रोतका अनुसार सीके राउतलगायत अन्य दल तथा स्वतन्त्र धारका नेता–कार्यकर्तालाई समेत समेटेर पार्टीलाई बृहत्तर बनाउने सोच भएकाले कुनै एक दलको सांगठनिक वर्चस्व स्वीकार्न कठिन भएको हो । यही कारणले रास्वपा र बालेनबीचको छलफल सकारात्मक मोड लिन नसकेको बताइन्छ ।

शुक्रबार नै सहमति टुंग्याउने भनिए पनि अन्तिम समयमा बालेन पक्षले कुलमान घिसिङलाई पनि सँगै अघि बढाउनुपर्ने अडान राखेपछि सहमति थप अनिश्चित बनेको थियो । सुरुमा बालेन र रास्वपाबीच दुईपक्षीय समझदारी गरेर पछि कुलमानलाई जोड्ने योजना थियो । सो क्रममा पार्टीभित्रको पदीय बाँडफाँड र तल्लो तहको व्यवस्थापनमा ५०–५० प्रतिशत हिस्सेदारीको प्रस्तावमा संवाद अघि बढिरहेको थियो ।

तर, अन्तिम चरणमा त्रिपक्षीय सहमति अनिवार्य हुनुपर्ने भनिएपछि प्रक्रिया जटिल बन्यो । शुक्रबार राति तीनै नेताबीच ‘डिनर मिटिङ’ गर्ने तयारी समेत भए पनि त्यो भेट हुन सकेन । त्यसपछि बालेन गोदावरी पुगेर आफ्ना निकट सहयोगीसँग छलफलमा जुटेका थिए । शनिबार बिहानदेखि भने कुलमान र बालेनबीच पुनः ज्वागलमै संवाद चलिरहेको छ ।

रास्वपा पक्षले यो भेटपछि मात्र सम्भावित सहमतिबारे स्पष्टता आउने बताएको छ । रास्वपाका एक नेताका अनुसार दुईपक्षीय मात्र भएको भए सहमति यसअघि नै टुंगिसक्थ्यो, तर अब त्रिपक्षीय समीकरणले निर्णयलाई अनिश्चित बनाएको छ । यद्यपि, स्रोतहरू भन्छन्, ‘यदि रास्वपासँग सहमति हुन सकेन भने पनि बालेन र कुलमान भने एउटै धारमा उभिने सम्भावना प्रायः निश्चित छ । कुलमाननिकट नेताका अनुसार रविसँगको छलफलमा समेत बालेनले कुलमानको पक्षबाट कुरा राखिरहेका छन् ।’

राजनीतिक वृत्तमा यो छलफललाई वैकल्पिक शक्तिको भविष्य निर्धारण गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ । ज्वागलमा चलिरहेको वार्ताले नयाँ सहमति जन्माउने हो कि छुट्टै ध्रुवीकरणतर्फ लैजाने हो भन्ने प्रश्नको उत्तर भने अब बालेन–कुलमान भेटको निष्कर्षसँगै स्पष्ट हुने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *