`

देउवाको किल्लबाट बालेनको सन्देश : सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !

डडेलधुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सुदूरपश्चिमको चुनावी यात्राका क्रममा बुधबार बिहान डडेलधुरा आइपुगेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा पुगेका बालेनले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिमप्रति आत्मीय सन्देश दिएका छन् ।

बालेनले सुदूरपश्चिम अब केन्द्रबाट टाढा नभएको संकेत गर्दै लेखेका छन्, ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !’ उनको यो अभिव्यक्तिलाई सुदूरपश्चिमप्रतिको भावनात्मक नजिकोपन र राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
सोमबारदेखि सुदूरपश्चिम केन्द्रित चुनावी यात्रामा रहेका बालेन मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। बुधबार डडेलधुरा पुगेका उनले महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

डडेलधुरापछि बालेन बैतडी प्रस्थान गर्ने तयारीमा छन् । दिउँसो १२ बजे बैतडीको पाटनस्थित रास्वपा सम्पर्क कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको छ । त्यसपछि उनी साँझ दार्चुला पुग्ने छन् । सचिवालयका अनुसार, बालेन अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित रास्वपा सम्पर्क कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्नेछन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने यी कार्यक्रममार्फत बालेनले संगठन विस्तार र चुनावी सन्देश प्रवाहलाई तीव्र बनाउने तयारी गरेका छन् । रास्वपाको सुदूरपश्चिम केन्द्रित यो सक्रियताले परम्परागत राजनीतिक प्रभाव रहेको क्षेत्रमा नयाँ राजनीतिक बहस र चासो पैदा गरेको देखिन्छ ।

ओलीसँगको भिडन्त अघि पूर्व प्रधानमन्त्री देउवाको किल्लामा बालेन {तस्वीरहरु}

डडेलधुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार बिहान सुदूरपश्चिमको राजनीतिक केन्द्र मानिने डडेलधुरा पुगेका छन् । डडेलधुरा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएकाले बालेनको आगमनलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

चुनावी प्रचारका क्रममा सुदूरपश्चिम यात्रा गरिरहेका बालेनले यस क्षेत्रलाई प्राथमिकतामा राख्दै जनस्तरसँग प्रत्यक्ष भेटघाटलाई जोड दिएका छन् । सोमबारदेखि सुरु भएको सुदूरपश्चिम भ्रमणअन्तर्गत उनले मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए । स्थानीय युवा, कार्यकर्ता तथा मतदातासँगको संवादमा उनले वैकल्पिक राजनीति र सुशासनको एजेण्डालाई मुख्य विषय बनाएका थिए ।

बुधबार डडेलधुराको महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको बालेनको सचिवालयले जनाएको छ । कार्यक्रममा पार्टीको संगठन विस्तार, स्थानीय मुद्दा र आगामी निर्वाचन रणनीतिबारे छलफल हुने बताइएको छ । डडेलधुरापछि बालेन बैतडी प्रस्थान गर्ने कार्यक्रम छ । दिउँसो १२ बजे बैतडीको पाटनस्थित रास्वपाको सम्पर्क कार्यालयमा कार्यकर्ता भेटघाट तय गरिएको छ । त्यसपछि उनी साँझ दार्चुला पुग्नेछन् । अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित सम्पर्क कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

झापा–५ बाट उम्मेदवारी दिएका बालेनको प्रतिस्पर्धा यस पटक निकै रोचक हुने अनुमान गरिएको छ । त्यहाँ उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । ओली र बालेन दुवैलाई आ–आफ्ना दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि यो निर्वाचन केवल संसदीय सिटको मात्र नभई नेतृत्वको लडाइँका रूपमा पनि हेरिएको छ । सुदूरपश्चिम जस्ता परम्परागत रूपमा स्थापित दलको प्रभाव रहेको क्षेत्रमा बालेनको सक्रिय उपस्थितिले वैकल्पिक राजनीतिको बहसलाई थप चर्काएको छ । अब उनको यो चुनावी यात्राले मतदाताको मन कति जित्छ, त्यो भने आउने दिनले देखाउनेछ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

नेपालगञ्जमा बालेनलाई कार्यकर्ता र समर्थकको भव्य स्वागत {तस्वीरहरु}

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी अभियान पश्चिम नेपालमा पनि उस्तै उत्साहका साथ अघि बढिरहेको छ । पूर्वी नेपालमा एक चरणको चुनावी अभियान सम्पन्न गरी बालेन शनिबार नेपालगञ्ज पुगेका हुन् ।

नेपालगञ्ज विमानस्थल बाहिर बालेनको स्वागतका लागि ठूलो संख्यामा पार्टी कार्यकर्ता, समर्थक र सर्वसाधारणको भीड लागेको थियो । विमानस्थलबाट बाहिरिँदा उनी रूफटप कारमा देखिएका थिए, जहाँ उनलाई नजिकबाट हेर्न र सेल्फी खिच्न समर्थकहरूको घुइँचो लागेको थियो । सडकछेउ मात्र होइन, वरपरका घरका छतछतमा समेत स्थानीयहरू बालेनलाई हेर्न भेला भएका दृश्यले पश्चिममा पनि उनको लोकप्रियता झल्काएको थियो ।

नेपालगञ्ज विमानस्थलमा बालेनको स्वागतका लागि रास्वपाका केन्द्रीय सदस्य खगेन्द्र सुनारसहित स्थानीय नेता तथा कार्यकर्ता उपस्थित थिए । पूर्वी नेपालका विभिन्न जिल्लामा चुनावी अभियान सकेर पश्चिमतर्फ लागेका बालेन बाँके हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा पुग्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ । यही सन्दर्भमा उनको चुनावी अभियानलाई विशेष महत्वका साथ हेरिएको छ । सुदूरपश्चिममा बालेननिकट दुई व्यक्तिहरू उम्मेदवार बनेकाले त्यहाँको अभियानलाई प्राथमिकतामा राखिएको बताइएको छ । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र पार्टीको कोर टिमका सदस्य केपी खनाल कैलाली–२ बाट उम्मेदवार बनेका छन् ।

यी निर्वाचन क्षेत्रलाई केन्द्रमा राख्दै बालेन केही दिन सुदूरपश्चिमका जिल्लाहरूमा चुनावी प्रचारमा सक्रिय रहने छन् । त्यसपछि उनी काठमाडौं फर्किने र काठमाडौं तथा ललितपुरका केही निर्वाचन क्षेत्रमा समेत चुनावी अभियानमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । पूर्वदेखि पश्चिमसम्म देखिएको भीड, उत्साह र समर्थकहरूको सक्रियताले बालेनको चुनावी अभियानले नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेको संकेत गरेको छ ।
तस्वीरहरु

ओलीको गढमा बालेनको रणनीति : एमाले–कांग्रेसका नेता तान्दै, समूह–समूहमा भेटघाट

झापा । झापा क्षेत्र नम्बर–५ मा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत गढ मानिएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले नयाँ राजनीतिक तरङ्ग सिर्जना गरेको छ ।

यसैबीच नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा ले संगठन परित्याग गर्दै बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत २०८२ माघ ७ गतेदेखि आफू राष्ट्रिय युवा संघ र नेकपा (एमाले) को संगठित सदस्य नरहेको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन्, ‘परिवर्तनलाई आत्मसात् गर्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु ।’ खतिवडाको यो निर्णयलाई दमकको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।
एमाले मात्र होइन, नेपाली कांग्रेसभित्र पनि बालेनको उम्मेदवारीले हलचल ल्याएको देखिन्छ । यसअघि मंगलबार नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईले समेत बालेनलाई सघाउने घोषणा गर्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका थिए । उनले साधारण सदस्य समेत नरहने गरी कांग्रेस परित्याग गरेका हुन् ।

बालेनको फरक चुनावी रणनीति
राजनीतिक समर्थन मात्र होइन, बालेन शाहको चुनावी शैली पनि झापा–५ मा चर्चाको विषय बनेको छ । बुधबार बिहानदेखि दमकमा घरदैलो तथा मतदाता भेटघाट थालेका बालेनले परम्परागत व्यक्तिगत भेटघाटभन्दा फरक शैली अपनाएका छन् । उनले समूहगत भेटघाट प्रणाली लागू गर्दै प्रत्येक समूहलाई अधिकतम १० मिनेट मात्र समय दिने व्यवस्था गरेका छन् ।

अत्यधिक भीड, समय व्यवस्थापन र धेरै मतदातासँग संक्षिप्त संवाद गर्नका लागि यस्तो नीति अपनाइएको उनको सचिवालयले जनाएको छ । दमकस्थित रास्वपा कार्यकर्ता लक्की सिटौला को निवासमा बास बसेका बालेनलाई भेट्न बिहानैदेखि मतदाताहरूको ठूलो भीड लागेको थियो । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर समेत रहेका बालेनप्रति स्थानीय मतदाताको उत्साह उल्लेखनीय देखिएको छ । यद्यपि, बुधबारका भेटघाटहरू परिचयात्मक संवादमै सीमित राखिएका थिए ।

रास्वपा झापा–५ का क्षेत्रीय संयोजक भेषराज भट्टराई का अनुसार बालेनको चुनावी अभियान औपचारिक रूपमा सुरु भइसकेको छ, यद्यपि विस्तृत कार्यक्रम तालिका सार्वजनिक भइसकेको छैन । झापापछि मोरङ, सुनसरी तथा पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङसम्म पुगेर चुनावी अभियान विस्तार गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

ओली–बालेन : कडा प्रतिष्पर्धाको संकेत
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् । ओली यस क्षेत्रबाट निरन्तर विजयी हुँदै आएका छन् । तर यस पटक एमाले र कांग्रेस दुवै पार्टीका प्रभावशाली नेता–कार्यकर्ताहरू बालेनतर्फ आकर्षित हुन थालेपछि ओली र बालेनबीच कडा र रोचक प्रतिष्पर्धा हुने संकेत देखिएको छ । झापा–५ मा देखिएको यो राजनीतिक पुनर्संरचनाले आगामी निर्वाचनलाई थप चासो र बहसको केन्द्रमा ल्याएको छ ।

 

 

जनकपुरमा बालेनको धार्मिक–राजनीतिक यात्रा, विहान मन्दिर दर्शन, दिउँसो जनसभा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) ले जनकपुरधामबाट आफ्नो धार्मिक–राजनीतिक यात्रा सुरु गरेका छन् । आइतबार साँझ जनकपुरधाम पुगेका शाह सोमबार बिहानै ऐतिहासिक जानकी मन्दिर पुगेर नियमित बिहानी आरतीमा सहभागी भएका छन् ।

बिहानै जानकी मन्दिर पुगेका बालेनले पूजाआजा तथा दर्शन गरेका थिए । उक्त अवसरमा प्रतिनिधिसभा सदस्य तथा पूर्व सांसद डा. अमरेश कुमार सिंह पनि उनीसँगै उपस्थित थिए । दुवैले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरेका थिए । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मन्दिरमा दुई चर्चित राजनीतिक व्यक्तित्वलाई एकसाथ देखेपछि स्थानीय बासिन्दा र दर्शनार्थीहरूबीच विशेष चासो र चर्चा देखिएको थियो ।

बालेन रास्वपाले सोमबार जनकपुरधाममा आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्न जनकपुर पुगेका हुन् । सो सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यही सभामार्फत पूर्व सांसद डा. अमरेश सिंह रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ ।

जनसभाअघि बालेनको कार्यक्रम धार्मिक गतिविधिमा मात्र सीमित छैन । उनले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्न सिराहाको लहान जाने कार्यक्रम समेत बनाएका छन् । मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते मधेसमा बलिदानी दिवस मनाइन्छ ।

धार्मिक आस्था, मधेश आन्दोलनप्रतिको सम्मान र राजनीतिक सन्देशलाई एकसाथ जोड्दै बालेनको जनकपुरधाम यात्रा अर्थपूर्ण रूपमा हेरिएको छ । जानकी मन्दिर दर्शनदेखि जनसभासम्मको उनको उपस्थितिलाई आगामी राजनीतिक गतिविधिको संकेतका रूपमा पनि विश्लेषण गर्न थालिएको छ ।

राजीनामा लगत्तै घण्टीघर पुगे बालेन : रविसँगै बजाए घण्टी, समर्थकको नाराबाजी

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन) ले सक्रिय राष्ट्रिय राजनीतिमा औपचारिक प्रवेश गरेका छन् । राजीनामा बुझाए लगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टीघर पुगेका हुन् ।

पूर्व निर्धारित कार्यक्रमअनुसार दिउँसो १ बजे कार्यालय पुग्ने भनिए पनि बालेन पौने ४ बजे मात्र घण्टीघर आइपुगे । तर समय ढिलाइले समर्थकको उत्साह कम गर्न सकेन । दिउँसो १२ बजेदेखि नै पार्टी कार्यालयअगाडि नेता–कार्यकर्ता र समर्थकको बाक्लो भिड जम्मा भएको थियो । बालेन कार्यालय परिसरमा प्रवेश गर्दा नाराबाजी, हुटिङ र तालीको गडगडाहटले वातावरण पूरै उत्सवमय बनेको थियो । भिड छिचोल्दै कार्यालयभित्र प्रवेश गर्न उनलाई केही समय संघर्ष गर्नु परेको थियो ।

बालेनसँगै जेनजी अभियन्ता सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । सुदनले आजै रास्वपामा प्रवेश गर्ने घोषणा गरेका थिए । उनी गोर्खा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा थिए । रास्वपाले उनको उम्मेदवारीलाई समर्थन गर्ने सहमति गरेपछि उनी पनि पार्टी प्रवेशका लागि तयार भएका हुन् । घण्टीघर पुगेपछि बालेन र सुदनको पार्टी सभापति रवि लामिछानेको कार्यकक्षमा औपचारिक स्वागत गरिएको थियो । बालेन यसअघि नै रवि लामिछानेसँग सात बुँदे सहमति गर्दै रास्वपाको वरिष्ठ नेता बनेका थिए । आजको उपस्थितिलाई उनको सक्रिय भूमिकाको औपचारिक सुरुआतका रूपमा हेरिएको छ ।

रास्वपा केन्द्रीय कार्यालयमा बालेनका लागि छुट्टै कार्यकक्षसमेत तयारी अवस्थामा राखिएको छ । पार्टीसँग एकता गरेको २१ दिनपछि उनी पहिलो पटक केन्द्रीय कार्यालय पुगेका हुन् । कार्यकक्ष तयारीले पार्टीभित्र उनको भूमिकालाई संस्थागत रूप दिने संकेत गरेको नेताहरूको भनाइ छ । पार्टी स्रोतका अनुसार बालेन आजै केन्द्रीय समिति बैठकमा सहभागी भई प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गर्नेछन् ।

बैठकपछि उनी सभापति रवि लामिछानेसहित जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ । जनकपुरमा आयोजना हुने सभालाई बालेनले सम्बोधन गर्नेछन्, जसलाई उनको पहिलो ठूलो राजनीतिक सम्बोधनका रूपमा हेरिएको छ । महानगरको नेतृत्वबाट राष्ट्रिय राजनीतितर्फ बालेनको यो कदमले आगामी निर्वाचन र समग्र राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ । समर्थकको उत्साह, पार्टीभित्रको तयारी र सार्वजनिक चासोले बालेनको नयाँ राजनीतिक यात्रालाई चासोका साथ हेरिएको छ ।

 

मेयर बालेनले जेनजीहरूसँग गरे सहकार्यको आह्वान, एकता प्रक्रिया सुरु गर्न आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू अब पार्टी राजनीतिमा आएको जानकारी दिँदै जेनजी अगुवाहरूसँग सहकार्य र एकताको आग्रह गरेका छन् । बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा आयोजित छलफलमा मेयर शाहले जेनजी प्रतिनिधिहरूसँग संवाद गर्दै भने, ‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजीहरू एकजुट भएर आउनुस् ।’ जेनजी अगुवा युजनराज भण्डारीले यसै उद्धृत गर्दै जानकारी दिएका छन् ।

उक्त छलफलमा जेनजी अगुवा सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायतका प्रतिनिधिहरू उपस्थित थिए । जेनजी अभियन्ता योगेन्द्र भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए र एकता त्यहाँबाट सुरु हुने बताए । मेयर शाहले निरन्तर राजनीतिक संवाद जारी राखेका छन् । आजै उनले रास्वपा सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र अन्य दलका नेतासँग भेटघाट गरे । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत बालेनसँगको भेटमा सहभागी भएका थिए ।

रवि लामिछाने र बालेनबीच भएको भेटमा सम्भावित एकता प्रक्रियाबारे विस्तृत छलफल भएको थियो । स्रोतका अनुसार, रविले पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात लगायत विषयमा लचकतापूर्वक प्रस्ताव राखेका थिए । विशेष गरी समानुपातिक उम्मेदवार सूची ७०–३० को अनुपातमा तयार पार्ने प्रस्ताव आए पनि सल्लाहपछि आवश्यक समायोजन गर्न सकिने व्यवस्था राखिएको थियो । बालेनको पहलले जेनजी र अन्य दलबीच राजनीतिक सहकार्य र एकताको दिशामा नयाँ पहल सुरु भएको देखिन्छ ।

जेनजी एकजुट गर्ने जिम्मा रक्षालाई, बालेनसँग खोजिन् सैद्धान्तिक सहकार्यको आधार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी (जेनेरेसन जेड) प्रतिनिधिहरूलाई एक ठाउँमा ल्याउने जिम्मेवारी जेनजी फ्रन्टकी संयोजक रक्षा बमलाई दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक शक्तिहरूलाई संगठित गर्ने उद्देश्यसहित यो जिम्मेवारी दिइएको हो ।

बुधबार ललितपुरको कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा बालेन र रक्षा बमबीच करिब तीन घण्टा लामो राजनीतिक संवाद भएको थियो । उक्त छलफलमा बालेनको सचिवालयका सदस्यहरू समेत सहभागी थिए । छलफलमा जेनजी प्रतिनिधित्व, वैकल्पिक राजनीतिक शक्तिको सम्भावना र भावी सहकार्यका आधारबारे गहन कुराकानी भएको जनाइएको छ ।

बालेनले देश विकासका लागि नयाँ राजनीतिक संरचना आवश्यक रहेको उल्लेख गर्दै जेनजी प्रतिनिधिलाई पनि ‘देश विकास पार्टी’ मार्फत समावेश गर्न चाहेको संकेत गरेका छन् । यही सन्दर्भमा जेनजीका विभिन्न समूह, सहिद परिवार तथा युवा अभियन्ताहरूसँग संवाद गरी वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्न रक्षा बमलाई संयोजनको भूमिका दिइएको हो ।

छलफलका क्रममा रक्षा बमले सहकार्यका लागि सैद्धान्तिक स्पष्टता खोजेकी थिइन् । उनले संविधान, संघीयता, लोकतन्त्र र प्रत्यक्ष निर्वाचित कार्यकारी जस्ता विषयमा प्रश्न उठाएकी थिइन् । बालेनले संविधान र संघीयता आवश्यक रहेको र समस्या कार्यान्वयनमा देखिएको धारणा राखेका थिए । यी जवाफपछि आफू सहकार्यप्रति विश्वस्त भएको रक्षा बमले बताइन् ।

दुवै पक्षबीच ‘इमानदारिता र निःस्वार्थ देशसेवा’ लाई साझा धरातलको रूपमा पहिचान गरिएको छ । वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिन सक्ने सम्भावनाबारे सकारात्मक छलफल भएको र जेनजीलाई संगठित गर्न रक्षा बमले सक्रिय भूमिका खेल्ने सहमति बनेको छ । बालेनले रक्षा बमलाई निर्वाचनमा प्रत्यक्ष वा समानुपातिकमध्ये कुनै एक विकल्प रोज्न पनि अनुरोध गरेका छन् । यद्यपि यस विषयमा अन्तिम निर्णय भइनसकेको बताइएको छ । प्रतिनिधिसभा निर्वाचनको बन्दसूची बुझाउने समय नजिकिँदै जाँदा बालेन पछिल्लो समय विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवादमा जुटिरहेका छन् ।

 

 

बालेनसँगको भेटबारे के भन्छन् ज्ञानेन्द्र शाही ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीबीच भएको भेटवार्ताले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ । बुधबार साँझ बालेनका सल्लाहकार कुमार बेनको कुपण्डोलस्थित निवासमा भएको यो भेटलाई आगामी निर्वाचन र नयाँ राजनीतिक ध्रुवीकरणसँग जोडेर हेरिएको छ ।

भेटपछि प्रतिक्रिया दिँदै राप्रपा प्रवक्ता शाहीले मेयर बालेनले युवाशक्ति एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव राखेको जानकारी दिए । उनका अनुसार बालेनको सन्देश स्पष्ट थियो–हिजो सँगै संघर्ष गरिएको हो, आज पनि सँगै काम गर्न सकिन्छ र जहाँ–जहाँ भए पनि युवाहरू एकजुट हुनुपर्छ । यो भेटलाई सामान्य शिष्टाचारभन्दा पनि गहिरो राजनीतिक संवादको रूपमा लिइएको छ । निर्वाचन नजिकिँदै जाँदा बालेनले आफ्नै नेतृत्वमा वैकल्पिक राजनीतिक शक्तिलाई संगठित गर्ने तयारी तीव्र बनाएका छन् । यही क्रममा विभिन्न दलका नेता, अभियन्ता, बुद्धिजीवी र सार्वजनिक व्यक्तित्वहरूसँग निरन्तर छलफल भइरहेको स्रोतहरू बताउँछन् ।

बुधबार रातिसम्म चलेको छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, चिकित्सक डा. भगवान् कोइराला, राप्रपाका ज्ञानेन्द्र शाही, युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया र सञ्चारकर्मी सुरजसिंह ठकुरीलगायतको सहभागिता रहेको थियो । छलफलका क्रममा मेयर बालेनले यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको ‘देश विकास पार्टी’ र त्यसको चुनाव चिन्ह ‘लौरो’ प्रयोग गरेर संगठित रूपमा अघि बढ्ने योजना सुनाएको स्रोतको दाबी छ । यसले बालेन अब केवल स्थानीय तहका प्रशासकमा सीमित नरही राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा आउन खोजिरहेका छन् भन्ने संकेत गरेको छ ।

यसअघि सोमबार राति कमलपोखरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र मेयर बालेनबीच पनि लामो छलफल भएको थियो । उक्त छलफलमा सरकार र पार्टीको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा समेत अनौपचारिक प्रस्तावहरू उठेका थिए । स्रोतका अनुसार हालको चरणमा सरकारको नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले सम्हाल्ने, तथा अर्को निर्वाचनपछि सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोगी भूमिका खेल्ने जस्ता विषयमा पनि विचार–विमर्श भएको थियो ।

ज्ञानेन्द्र शाही २०७९ सालको निर्वाचनमा जुम्लाबाट निर्वाचित सांसद हुन् । उनले संसदमा बालेनको कार्यशैलीको खुलेर प्रशंसा गर्दै काम गर्न दिनुपर्ने धारणा राख्दै आएका छन् । आसन्न निर्वाचनमा शाहीलाई विभिन्न स्थानबाट उम्मेदवार बन्न प्रस्ताव आएको बताइन्छ, जसले उनी पनि नयाँ राजनीतिक समीकरणको केन्द्रमा रहेको देखाउँछ । बालेन अहिले पनि विभिन्न व्यक्तिहरूसँग निरन्तर छलफलमा जुटिरहेका छन् । यी भेटघाट र संवादहरूले नेपाली राजनीतिमा परम्परागत दलभन्दा बाहिर उभिएको, युवा केन्द्रित र वैकल्पिक शक्तिको सम्भावना बलियो बन्दै गएको संकेत गरेका छन् । आगामी दिनमा यी छलफलहरू ठोस राजनीतिक संरचनामा रूपान्तरण हुन्छन् कि हुँदैनन् भन्ने चासो सर्वत्र बढिरहेको छ ।

 

 

 

 

बालेनलाई ईः ईः को प्रश्न : सुकुम्बासी समस्यालाई सक्काउने कि सुकुम्बासीलाई नै सक्काउने ?

काठमाडौं । सामाजिक अभियन्ता ईः ईः ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहद्वारा सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारीबारे गम्भीर प्रश्न उठाएका छन् । उनले सोधेका छन्, ‘सुकुम्बासी समस्यालाई सक्काउने कि सुकुम्बासीलाई नै सक्काउने ? गरीबी समाप्त गर्ने कि गरीबलाई नै समाप्त गर्ने, विदेश भगाउने ?’

उनका अनुसार अहिले सरकार र स्थानीय निकायले सुकुम्बासी व्यवस्थापनको नाममा अपनाउन खोजिएको बलपूर्वक नीति मानवता र सामाजिक न्यायविपरीत छ । ईः ईः ले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘हुकुमबासी र वास्तविक भूमिहीन छुट्ट्याएर मात्र निष्पक्ष व्यवस्थापन सम्भव छ । विस्थापन होइन, मानवतालाई केन्द्रमा राखेर समस्या समाधान गर्नुपर्छ ।’

उनले जोड दिए, काठमाडौंमा स्थापित मानक स्वतः देशभर लागू हुने भएकाले यहाँका निर्णयहरूमा न्यायिक दृष्टिकोण अत्यन्तै जरुरी छ । ‘सरकार त्यसै हिसाबले अघि बढे विधिको शासन र सामाजिक न्याय कायम हुन्छ’, उनले लेखे ।
उनले चेतावनी दिँदै भनेका छ, ‘सरकारको अति’ विरुद्ध उठेको आन्दोलनको बलले सिर्जना गरेको परिवेशमा सीमान्तकृत समुदायमाथि अन्याय गरिए त्यो बलिदान दिएकाहरू प्रतिनै अन्याय हुनेछ ।

राजनीतिक रूपले जटिल र चुनाव उन्मुख वातावरणमा सुरक्षास्थिति खलबलाउने कार्यलाई कुनै पनि विवेकशील नागरिकले समर्थन गर्न नसक्ने भन्दै उनले शान्त, न्यायसम्मत र मानवीय समाधानको पक्षमा आवाज उठाएका छन् । ईः ईः का अनुसार, ‘न्याय, समता र लोकतान्त्रिक मूल्यमा अडिएर मात्रै सुकुम्बासी समस्या समाधान हुन सक्छ, बलपूर्वक हटाइले होइन ।’

हुकुमबासी र वास्तविक भूमिहीन छुट्ट्याएर विस्थापन नभई मानवतालाई केन्द्रमा राखेर व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंमा स्थापित मानक स्वतः देशैभरी स्थापित हुने यथार्थले गर्दा नै यहाँ जे हुन्छ त्यसमा न्यायिक दृष्टिकोण स्थापित गर्न महत्वपूर्ण छ । सरकार त्यसै हिसाबले अघि बढे विधिको शासन र सामाजिक न्याय कायम हुन्छ ।’ ईः ईः ले ‘सरकारको अति’ विरुद्ध उठेको आन्दोलनको बलले सिर्जना गरेको परिवेशमा समाजका सीमान्तकृत तप्कामाथि अन्याय गरिए बलिदान दिएकाहरू प्रति अन्याय हुने बताएका छन् ।

हेर्नुस् उनको स्टाटस

 

 

मेयर बालेनले गरे ऐतिहासिक ब्रह्मा मन्दिरको समुदघाटन {तस्वीरहरु}

काठमाडौँ । छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनर्निर्माण सम्पन्न भई समुद्घाटन गरिएको छ । शुक्रवार मध्यान्ह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा. स्वामी केशवानन्द गिरी लगायतको उपस्थितिमा मन्दिरको समुद्घाटन गरिएको हो ।

यो मन्दिर काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरी गायत्री मार्गमा अवस्थित १९९० सालअघि नै भग्नावशेषको रूपमा रहेको थियो । छैटौँ शताब्दीको ऐतिहासिक व्रम्हा मन्दिर अहिले काठमाडौँ महानगरपालिकाले पुनः निर्माण सम्पन्न गरेको हो । केही दिनअघि मात्रै छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्माको मूर्ति मन्दिरमा पुनः स्थापना गरिएको थियो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृत्तमा रहेको थियो ।

हेर्नुस् तस्वीरहरू :

बालेनबारे प्रधानमन्त्री- मैले छोरो भन्छु, ऊ दिदी भन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्न दबाब दिएको स्वीकार गरेकी छन् । तर गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन भने आफूलाई नभनेको बताइन् ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बेलुका सम्पादकहरुसँगको भेटमा बालेनको प्रसंग निस्किएपछि प्रधानमन्त्रीले यसबीचमा तीन चारपटक आएर भेटेको स्मरण गर्दै आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ किन नगरेको भन्ने कुरा नै राखेको बताइन् ।

उनले भनिन्, “बालेनलाई मैले छोरो भन्छु ऊ चाहिँ दिदी भन्छ । हामी बोलेको सुन्दैन । ऊ खाली ओली र लेखकलाई किन कारबाही नगरेको भन्छ । हामी कानुनअनुसार कारवाही हुन्छ भन्छौँ । आज बिहान पनि फोनमा कुरा भएको थियो ।”उसको कुरा हामीले सुन्नुपर्छ तर उसले हाम्रो कुरा सुन्दैन । उसको बानी नै फरक छ, जहाँसम्म लाग्छ उसले दल त खोल्ने खालको मान्छे होइन ।

प्रधानमन्त्री कार्कीले बालेनसँग प्रधानमन्त्री बन्नुअघि पनि धेरै भेट भएको र कानूनका कुराहरू सम्झाउने गरेको बताइन् ।

बालेनले गृहमन्त्री हटाउन दबाब दिइरहेको हल्ला अफवाह : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दवाव दिएको विषयप्रति प्रधानमन्त्रीको कार्यालयले प्रतिक्रिया दिएको छ । कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रमा पर्ने सचिवालयले जनाएको छ । बालेनले केही दिनअघि प्रधानमन्त्रीलाई भेटेर अर्याललाई गृहमन्त्रीबाट हटाउन दवाव दिएको समाचार सञ्चारमाध्यमहरुमा आएका थिए । सचिवालयले भने कसैको दवाव वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट पारेको छ ।

सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरुप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएको गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिरहनु भएको सबैलाई विदितै छ ।’ अहिलेको संवेदनशील समयमा अफवाह नफैलाउन र नपत्याउन प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले अपिल गरेका छन् ।

पार्टी खोल्ने सुरसारमा बालेन, कुन–कुन नयाँ अनुहारले देलान् साथ ?

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह नयाँ राजनीतिक दल खोल्ने तयारीमा छन् । पछिल्लो समय जेन–जी आन्दोलनले ल्याएको राजनीतिक भूचालपछि बालेनमाथि नयाँ नेतृत्व सम्हाल्ने चर्को दबाब बनेको छ । देश राजनीतिक संक्रमणको घडीमा छ, र बालेन नयाँ युगको नेतृत्वदाताको रूपमा स्थापित हुँदैछन् ।

‘जेन–जी आन्दोलन’ ले बालेनको राजनीतिक प्रवेश तीव्र बनायो
भ्रष्टाचारविरोधी अभियान र युवा चेतनाको प्रतिनिधित्व गर्ने जेन–जी आन्दोलनले बालेनलाई नयाँ युगको नेता मान्दै आएको छ । आन्दोलनले मात्र एमाले–कांग्रेस गठबन्धनको सरकार ढालेन, देशको राजनीतिक दिशा नै बदलिदियो । अहिलेको अन्तरिम सरकार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको छ– जसमा बालेनले नै परोक्ष सिफारिस गरेका थिए ।

बालेनको शान्त, तर स्पष्ट रणनीति
प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेर बालेनले अन्तरिम सरकारको सट्टा आगामी ५ वर्ष सरकार सञ्चालन गर्ने लक्ष्य रोजे । यसको लागि पार्टी आवश्यक ठान्दै उनी भित्रभित्रै तयारीमा लागेका छन् । पार्टीको औपचारिक घोषणा नभए पनि बालेनका निकट स्रोतहरूले भने, ‘यो खेल अब उनी नेतृत्वमा चल्ने छ’ ।

समयको चाप : अब धेरै ढिला गर्न मिल्दैन
अघिल्लो योजना अनुसार बालेनले आवधिक निर्वाचन (२०८४) को ६ महिना अघिबाट सक्रियता देखाउने तयारी गरेका थिए । तर राजनीतिक घटनाक्रमले योजना हल्लियो–अब फागुन २१ गते नै संघीय निर्वाचन हुने पक्का भइसकेको छ ।
अब निर्णयको बेला हो–घोषणा ढिलो भयो भने, लहर कमजोर पर्न सक्छ ।

‘हाम्रो नेपाली पार्टी’ बन्ने नयाँ ‘लौरो’ ?
बालेनले सम्भावित रुपमा ‘हाम्रो नेपाली पार्टी’ लाई अघि बढाउने तयारी गरिरहेका छन् । हाल यो पार्टी ‘लौरो अभियान’ बाट उदाएको हो । जसले अघिल्लो चुनावमा काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङलाई समर्थन गरेको थियो । यद्यपि, पार्टीको नाम परिवर्तन हुने सम्भावना छ । यता पछिल्लो समय बालेन र हर्कको सम्बन्धनमा दरार आएको छ ।

हर्क साम्पाङले बालेनसँगै सहकार्य गरेर आउँदा निर्वाचनमा जान नसकिंने निष्कर्ष निकाल्दै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । उनले ‘श्रम सँस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन दिइसकेका छन् । जसलाई निर्वाचन आयोगले दर्ता प्रक्रियामा राखेको छ ।

साथ दिने सम्भावित अरु अनुहारहरूः
कुलमान घिसिङ– ऊर्जा क्षेत्रमा चर्चित नाम (हाल उर्जामन्त्री)
सुमना श्रेष्ठ–पूर्व शिक्षामन्त्री, पूर्व रास्वपा नेतृ

यी सबै नामहरू युवावादी सोच र भ्रष्टाचारविरोधी दृष्टिकोणका कारण बालेनको भावी टोलीमा देखिन सक्ने अनुमान गरिएको छ ।
लक्ष्य–साझा प्लेटफर्म बन्ने
बालेनको नेतृत्वमा बन्ने पार्टीले देशभर छरिएका स्वतन्त्र उम्मेदवारहरूलाई एउटै छातामुनि ल्याउने लक्ष्य राखेको छ ।

मुख्य एजेण्डा

भ्रष्टाचार अन्त्य

रोजगारी सिर्जना

युवा सशक्तिकरण

घोषणा कहिले ? दबाब चुलिंदैछ
बालेनको कोर टिमभित्रै दुई धार देखिएका छन् —
एक पक्ष–‘अहिल्यै घोषणा गरौं’

अर्को पक्ष– ‘धेरै हतार नगरौं, सही समय कुर्नु पर्छ’
बालेनका प्रमुख सल्लाहकार कुमार बेन संयमता पक्षमा देखिएका छन्, तर बालेनमाथि चौतर्फी दबाब भने दिन प्रतिदिन चुलिंदैछ ।

निष्कर्ष–नेपालको राजनीतिक इतिहास एक नयाँ मोडमा छ । जेन–जी पुस्ताको क्रान्ति, युवा चेतना र स्वतन्त्र नेतृत्वको खोजीले बालेन शाहलाई केन्द्रमा ल्याएको छ । अब सबैको नजर उनको अन्तिम निर्णय र पार्टी घोषणाको मितितर्फ छ । यदि समयमै निर्णय भयो भने यो लहर, परिवर्तनको आँधी बन्न सक्छ ।

पार्टी खोल्ने सुरसारमा बालेन, क–कसले देलान् साथ ?

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले ल्याएको ‘उलटफेर’ सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि आफ्नै पार्टी खोल्नु पर्ने दवाव सिर्जना भएको छ । जेनजी आन्दोलनले नेकपा एमाले र कांग्रेस गठबन्धनको सरकार मात्रै ढालेको छैन देश नयाँ दिशामा समेत ढल्किएको छ । पुराना दलका शीर्ष नेताहरू पाखा लाग्दै छन् नयाँ नेतृत्वको जन्म हुने सम्भावना बढेको छ ।

जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढालेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने घोषणा गरिएको छ । नयाँ सरकार गठनका बेला अनलाइन भोटिङका आधारमा कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् । अन्तरिम सरकार गठन हुँदै गर्दा जेनजी पुस्ताको पहिलो रोजाइमा मेयर बालिन थिए ।

तर, छोटो अवधिको अन्तरिम सरकारको नेतृत्व गर्न जानु भन्दा पाँच वर्ष सरकार चलाउन नेतृत्व लिने गरी तयारी गर्नेमा मेयर बालेन देखिए । जसका कारण अन्तरिम सरकारको प्रधानमन्त्रीको प्रस्तावमा उनी मौन बसे । तर उनीमाथिको युवाको भरोसा र ‘प्रेसर’ घटेको छैन । बालेनले पाँच वर्ष सरकारको नेतृत्व लिनका लागि उनलाई पार्टी आवश्यक हुन्छ । जुन कुरा बुझेका मेयर बालेन यसैको तयारीमा समेत लागिरहेको उनी निकट स्रोत बताउँछन् । उनी आफैले औपचारिक निर्णय नगरिसके पनि दल खोलेर चुनाव लड्ने निश्चितप्रायः रहेको निकट स्रोतहरु बताउँछन् ।

आवधिक निर्वाचनको समय २०८४ सालमा भएकाले बालेन हतारोमा थिएनन् । चुनावभन्दा ६ महिना जति अगाडि पार्टी घोषणा गरेर झ्वाम्मै होमिने उनको योजना थियो । तर, अप्रत्याशित राजनीतिक फेरबदलले यही वर्ष संघीय संसदको चुनाव हुने भएको छ । आउँदो फागुन २१ गते आमनिर्वाचन हुने घोषणा सरकारले गरिसकेको हुँदा बालेनसँग तयारीका लागि धेरै समय छैन ।

बालेनले नयाँ राजनीतिक दल गठन गर्ने कुरामा दुई मत नभए पनि कहिले घोषणा गर्ने भन्नेमा उनको टिमभित्रै एकमत बनिनसकेको स्रोतले बताउँछ । ‘दल खोलेर चुनाव लड्ने विषयमा सबै सहमत छन्, तर अहिल्यै घोषणा गरिहाल्ने कि केही समय पर्खिने भन्ने दुईवटा कोणबाट बहस भइरहेको छ’, स्रोतले भन्यो ।

बालेनलाई दल घोषणा गरिहाल्न चौतर्फी दबाब बढिरहेको छ । तर, उनको कोर टिमका केही व्यक्तिहरु अहिले ठीक माहोल नरहेको बताइरहेका छन् । बालेनका अनन्य सहयोगी कुमार बेन अझै केही समय धैर्य गर्नुपर्ने पक्षमा देखिन्छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरूले प्रतिनिधिसभा विघटनको निर्णयप्रति असहमति जनाउँदै राष्ट्रपति समक्ष निर्णय फिर्ता लिन माग गरेका छन् । तर राष्ट्रपति पौडेलले विज्ञप्ति जारी गर्दै देशले कठिन परिस्थिति पार गर्दै शान्तिपूर्ण निकास पाएको भन्दै आगामी फागुन २१ गतेको निर्वाचन सफल बनाउन सबैमा अपिल गरेका छन् ।

निर्वाचन आयोगले पनि तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ । यही निर्वाचनलाई लक्षित गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहले नयाँ राजनीतिक दल गठनको भित्रभित्रै तयारी बढाइरहेको स्रोतको भनाइ छ । उनले ‘हाम्रो नेपाली पार्टी’ लाई नै अगाडि बढाउने तयारी गरेको बताइएको छ । यद्यपि पार्टीको नाम केही परिवर्तन गरिने बताइएको छ । यो पार्टी मूलतः ‘लौरो अभियान’ का कार्यकर्ताहरूबाट सुरु गरिएको हो, जसले अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन र धरानमा हर्क साम्पाङलाई समर्थन गरेका थिए ।

जेन–जी आन्दोलन र बालेनको समर्थन
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई बालेनले सामाजिक सञ्जालमार्फत खुला समर्थन जनाएका थिए । उक्त आन्दोलन भ्रष्टाचार र ओली सरकारले सामाजिक सञ्जलामा लगााएको प्रतिबन्धविरुद्ध थियो । आन्दोलनकारीहरूले २८ वर्षमुनिका युवाहरूलाई मात्र सहभागी बनाउने नीति अपनाएका थिए, जसले गर्दा ३५ वर्षीय बालेन प्रत्यक्ष सहभागी नभए पनि उनी नै नयाँ नेतृत्वको प्रतीकको रूपमा स्थापित भए । आन्दोलनका क्रममा सरकारी दमनमा परेर पहिलो दिनमै १९ जना आन्दोलनकारीको ज्यान गएको थियो ।

अहिले ज्यान गुमाउनेको संख्या ७२ पुगिसकेको छ । सयौं घाइते छन् । जेन–जीहरूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सारे । बालेनले पनि आफू नयाँ दल गठनको तयारीमा रहेकाले कुनै विवादमा नपरेकी कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सुझाव दिएका थिए, जुन सुझावअनुसार नै सरकार गठन भयो ।

हाल कार्की नेतृत्वको सरकारमा मन्त्रीहरूलाई निर्वाचनमा उठ्न नदिने तर पार्टीमा काम गर्नुपर्ने विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ । बालेनको नयाँ पार्टीले भ्रष्टाचार उन्मूलन, रोजगारी सिर्जना र युवा सशक्तिकरणलाई मुख्य एजेण्डा बनाउने बताइन्छ । पार्टीमा धरानका मेयर हर्क साम्पाङ, कुलमान घिसिङ तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ रहन सक्ने बताइएको छ । देशभरका स्वतन्त्र र युवा कार्यकर्ताहरूलाई समेट्ने उद्देश्यसहित पार्टीले आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको साझा प्लेटफर्म बन्ने लक्ष्य राखेको छ ।