`

मेयर बालेनले जेनजीहरूसँग गरे सहकार्यको आह्वान, एकता प्रक्रिया सुरु गर्न आग्रह

Nepal One HD १० पुष २०८२ १७:४६
अर्थ समाचार

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू अब पार्टी राजनीतिमा आएको जानकारी दिँदै जेनजी अगुवाहरूसँग सहकार्य र एकताको आग्रह गरेका छन् । बिहीबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा आयोजित छलफलमा मेयर शाहले जेनजी प्रतिनिधिहरूसँग संवाद गर्दै भने, ‘म पार्टी राजनीतिमा आएँ । अब सहकार्य गरौं । सबै जेनजीहरू एकजुट भएर आउनुस् ।’ जेनजी अगुवा युजनराज भण्डारीले यसै उद्धृत गर्दै जानकारी दिएका छन् ।

उक्त छलफलमा जेनजी अगुवा सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायतका प्रतिनिधिहरू उपस्थित थिए । जेनजी अभियन्ता योगेन्द्र भण्डारीका अनुसार, मेयर शाहले सबै जेनजीहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए र एकता त्यहाँबाट सुरु हुने बताए । मेयर शाहले निरन्तर राजनीतिक संवाद जारी राखेका छन् । आजै उनले रास्वपा सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र अन्य दलका नेतासँग भेटघाट गरे । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई समेत बालेनसँगको भेटमा सहभागी भएका थिए ।

रवि लामिछाने र बालेनबीच भएको भेटमा सम्भावित एकता प्रक्रियाबारे विस्तृत छलफल भएको थियो । स्रोतका अनुसार, रविले पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात लगायत विषयमा लचकतापूर्वक प्रस्ताव राखेका थिए । विशेष गरी समानुपातिक उम्मेदवार सूची ७०–३० को अनुपातमा तयार पार्ने प्रस्ताव आए पनि सल्लाहपछि आवश्यक समायोजन गर्न सकिने व्यवस्था राखिएको थियो । बालेनको पहलले जेनजी र अन्य दलबीच राजनीतिक सहकार्य र एकताको दिशामा नयाँ पहल सुरु भएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *