दशैंमा नयाँ नोट बाँड्ने चलनको रहस्य
काठमाडौं। दशैं आउनासाथ नयाँ नोटको चर्चा सुरु हुन्छ। रातो टीका, पहेँलो जमरा र मान्यजनको हातबाट पाइने कडकडाउँदो नोट नेपाली दशैंको अभिन्न हिस्सा बनिसकेको छ।
दक्षिणाका रूपमा नयाँ नोट पाउने र आफन्तलाई बाँड्ने चलन यति लोकप्रिय छ कि धेरैलाई नयाँ नोटबिनाको दशैं नै खल्लो लाग्छ। तर, दशैंमा नयाँ नोट साट्ने यो परम्पराको सुरुआत केवल चाडपर्वको रमाइलोका लागि भएको थिएन। यसको पछाडि नेपाली मुद्रालाई देशव्यापी बनाउने र भारतीय रुपैयाँमाथिको निर्भरता घटाउने राज्यको आर्थिक रणनीति जोडिएको इतिहास छ।
आजभन्दा करिब आठ दशकअघि नेपालको मुद्रा प्रणाली अहिलेको जस्तो थिएन। मुलुकमा आफ्नै कागजी नोट प्रचलनमा थिएनन्। तामा र चाँदीका सिक्काबाट कारोबार हुने गरे पनि दैनिक किनबेचदेखि सरकारी राजस्व संकलन र प्रशासनिक कामकाजसम्म भारतीय रुपैयाँको प्रभाव बलियो थियो। विशेषगरी तराई र भारतसँग जोडिएका व्यापारिक क्षेत्रमा नेपाली सिक्काभन्दा भारतीय मुद्राको प्रयोग बढी हुने गर्थ्यो।
वि.सं. १९९४ कात्तिक ३० गते नेपाल बैंक लिमिटेड स्थापना भयो। तर, आफ्नै बैंकिङ संस्था बनेपछि पनि नेपाली अर्थतन्त्र भारतीय मुद्राको प्रभावबाट मुक्त हुन सकेन। बैंकमा सर्वसाधारणले जम्मा गर्ने बचतसमेत भारतीय रुपैयाँमै हुने गरेको थियो। यही निर्भरता घटाउँदै मुलुकको आफ्नै कागजी मुद्रा चलनचल्तीमा ल्याउने उद्देश्यले तत्कालीन राणा सरकारले पहल गर्यो।
राणा प्रधानमन्त्री जुद्धशमशेरले वि.सं. २००२ असोज १ गते अध्यादेश जारी गर्दै सरकारी ढुकुटी विभाग अर्थात् सदर मुलुकी खानाबाट नेपाली नोट जारी गर्न सकिने व्यवस्था गरे। त्यसैका आधारमा खजाञ्ची जनकराजको हस्ताक्षरमा पाँच, १० र १०० रुपैयाँका नेपाली कागजी नोट पहिलोपटक जारी गरिए। नेपाली मुद्राको इतिहासमा यो महत्त्वपूर्ण सुरुआत थियो।
तर, नोट जारी हुँदैमा जनताको विश्वास जित्न र भारतीय मुद्राको वर्चस्व तोड्न सजिलो भएन। प्रारम्भिक चरणमा नेपाली नोट काठमाडौं उपत्यका र केही पहाडी जिल्लामा सीमित रहे। तराई तथा उपत्यकाबाहिरका धेरै क्षेत्रमा भारतीय रुपैयाँकै चलन कायम रह्यो। कागजी नोटप्रतिको अपरिचितता र पुरानै कारोबारको बानीका कारण सर्वसाधारण भारतीय मुद्रामै सहज महसुस गर्थे।
नेपाली मुद्राको प्रयोग विस्तार गर्न संस्थागत संयन्त्र आवश्यक भएपछि वि.सं. २०१३ वैशाखमा नेपाल राष्ट्र बैंक स्थापना भयो। त्यसपछि सदर मुलुकी खानाले जारी गरेका नोटको कानुनी दायित्व राष्ट्र बैंकले सम्हाल्यो। वि.सं. २०१६ फागुन ७ गते राष्ट्र बैंकले पहिलोपटक तत्कालीन गभर्नर हिमालयशमशेर राणाको हस्ताक्षरमा एक, पाँच, १० र १०० रुपैयाँका नोट जारी गर्यो।
नेपाली मुद्राको प्रयोगलाई देशव्यापी बनाउन सरकारले वि.सं. २०१७ जेठदेखि सरकारी तथा निजी कारोबारमा नेपाली मुद्राको प्रयोग अनिवार्य गर्ने नीति अघि बढायो। भारतीय रुपैयाँको प्रभाव घटाउने र राष्ट्रिय मुद्राको प्रचलन विस्तार गर्ने यो प्रयास नेपालको आर्थिक सार्वभौमिकता स्थापित गर्ने महत्त्वपूर्ण कदम थियो।
यही अभियानसँग दशैंमा नयाँ नोट साट्ने चलनको सम्बन्ध जोडिएको बताइन्छ। दशैं–तिहार नेपाली समाजमा किनमेल, व्यापार र आर्थिक कारोबार उच्च हुने समय हो। रोजगारी, अध्ययन र व्यवसायका लागि सहरमा बस्ने मानिसहरू यही अवसरमा ठूलो संख्यामा गाउँ फर्किन्छन्। उनीहरूसँगै पैसा पनि सहरबाट गाउँ पुग्छ।
राष्ट्र बैंकले यही आर्थिक चक्रलाई नेपाली मुद्रा विस्तार गर्ने अवसरका रूपमा उपयोग गरेको बुझाइ छ। दशैंका बेला सर्वसाधारणको हातमा नयाँ नेपाली नोट पुर्याउन सके ती नोट दक्षिणा, किनमेल र दैनिक लेनदेनका माध्यमबाट गाउँगाउँसम्म फैलिन सक्थे। भारतीय रुपैयाँको प्रयोग कायम रहेका ग्रामीण क्षेत्रमा समेत नेपाली नोट सहज रूपमा पुग्ने सम्भावना थियो।
यसरी चाडपर्वको अवसरमा नयाँ नोट वितरण गर्ने अभ्यासले नेपाली मुद्राको पहुँच विस्तार गर्न सहयोग पुर्यायो। दशैंमा गाउँ फर्किने मानिसले नयाँ नोट बोकेर जाने र ती नोट स्थानीय बजार तथा आफन्तबीचको कारोबारमा प्रयोग हुने क्रमले राष्ट्रिय मुद्राको स्वीकार्यता बढाउन भूमिका खेलेको मानिन्छ।
राज्यको आर्थिक उद्देश्यसँग जोडिएको अभ्यास समयक्रममा नेपाली समाजको सांस्कृतिक परम्परा बन्यो। दशैंमा नयाँ लुगा लगाउने, मीठो खाने र मान्यजनबाट आशीर्वाद लिने चलनसँगै नयाँ नोट दक्षिणा दिने संस्कार पनि स्थापित हुँदै गयो। टीका र जमरासँगै हातमा पर्ने नयाँ नोट बालबालिकाका लागि विशेष आकर्षण बन्यो भने ठूलाबडाले पनि दक्षिणा दिन नयाँ नोट खोज्ने क्रम बढ्दै गयो।
तर, नेपाली मुद्राको प्रयोग विस्तार गर्न सहयोगी बनेको यही परम्परा अहिले राष्ट्र बैंकका लागि चुनौती पनि बनेको छ। दशैंमा नयाँ नोटको माग उच्च हुने भएकाले हरेक वर्ष ठूलो परिमाणमा नोट व्यवस्थापन गर्नुपर्ने हुन्छ। नोट छपाइमा ठूलो खर्च लाग्छ र विदेशमा छपाइ गराउँदा त्यसबापतको रकम बाहिरिने गर्छ।
अर्कोतर्फ, दशैंमा टीका, अबिर, अक्षता र जमराको पानी लागेका हातले नयाँ नोट समात्ने, नोटमा अबिर दल्ने, केरमेट गर्ने र जथाभाबी पट्याउने गर्दा नोट छिट्टै फोहोर तथा क्षतिग्रस्त हुने समस्या छ। लामो समय चल्न सक्ने नोटसमेत चाडपर्वमा अत्यधिक प्रयोग र असावधानीका कारण चाँडै प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्न सक्छन्।
कुनै समय भारतीय मुद्राको वर्चस्व घटाउँदै नेपाली रुपैयाँलाई जनजनसम्म पुर्याउन सहयोगी बनेको नयाँ नोटको परम्परा आज नेपाली संस्कृतिको अभिन्न अंग बनेको छ। तर, संस्कृति जोगाउने नाममा हरेक वर्ष ठूलो रकम खर्च गरेर नयाँ नोट छाप्ने र केही समयमै बिगार्ने प्रवृत्तिमाथि पनि प्रश्न उठ्न थालेको छ।
