पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई एसियाकै प्रतिष्ठित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
काठमाडौं । नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसियाको प्रतिष्ठित एसिस अवार्डअन्तर्गत सन् २०२६ को ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन्। न्यायिक स्वतन्त्रता, मानवअधिकार संरक्षण तथा न्यायालय सुधारमा पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
सर्वोच्च अदालतका २४औँ प्रधानन्यायाधीशका रूपमा कार्य गरेका श्रेष्ठले नेपालको न्यायिक प्रणालीलाई पारदर्शी, जवाफदेही र नागरिकको पहुँचयोग्य बनाउन महत्त्वपूर्ण योगदान पुर्याएका थिए। उनले संवैधानिक सर्वोच्चता, कानुनी शासन र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा निरन्तर जोड दिँदै आएका छन्।
श्रेष्ठको न्यायिक योगदानमा मौलिक हकको संरक्षण, सीमान्तकृत समुदायको अधिकार, वातावरणीय न्याय तथा संक्रमणकालीन न्यायसँग सम्बन्धित महत्त्वपूर्ण फैसला र पहलहरू समेटिएका छन्। त्यस्तै, न्यायालयमा प्रविधिको प्रयोग विस्तार, मुद्दा व्यवस्थापन प्रणालीमा सुधार तथा न्यायिक जनशक्तिको क्षमता अभिवृद्धिमा समेत उनले योगदान पुर्याएको अवार्डसम्बन्धी विवरणमा उल्लेख छ।
सबै नागरिकलाई समान रूपमा न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले उनले कानुनी सहायता विस्तार, सार्वजनिक सरोकारका मुद्दालाई प्रोत्साहन तथा लैङ्गिक समानता र सामाजिक समावेशिताका पक्षमा वकालत गरेका थिए।
न्यायिक सेवाबाट अवकाश पाएपछि पनि श्रेष्ठ कानुनी अध्ययन, संवैधानिक बहस र सुशासनसम्बन्धी गतिविधिमा सक्रिय रहँदै आएका छन्।
संवैधानिक मूल्य, मानव मर्यादा र न्यायिक स्वतन्त्रताप्रतिको उनको प्रतिबद्धताले नेपालसहित एसिया क्षेत्रको न्यायिक नेतृत्वमा महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको अवार्डसम्बन्धी विवरणमा जनाइएको छ।
