`

दसैँमा नेपाली फिल्मको त्रिपक्षीय भिडन्त, ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ मैदानमा

Nepal One HD ३० असोज २०८३ १३:३९
मनोरञ्जन

काठमाडौँ । बडादसैँको अवसरमा नेपाली चलचित्र क्षेत्रमा यस वर्ष रोचक प्रतिस्पर्धा देखिने भएको छ। दर्शकमाझ लोकप्रिय बनेका तीन फिल्मका सिक्वेल एकपछि अर्को गर्दै प्रदर्शनमा आएसँगै दसैँको बक्सअफिसमा कसले बाजी मार्ला भन्ने चासो बढेको छ।

शुक्रबार असोज ३० गतेदेखि ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ देशभरका हलमा प्रदर्शनमा आएका छन्। त्यसैगरी, फूलपातीको अवसर पारेर शनिबार असोज ३१ गतेदेखि ‘छ माया छपक्कै २’ पनि प्रदर्शनमा आउने तयारीमा छ। तीन फरक स्वादका फिल्म एकै समयमा दर्शकमाझ आउँदा यस वर्षको दसैँमा नेपाली चलचित्रको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

पारिवारिक संवेदना, एक्सन र हास्य–प्रेमका फरक स्वाद बोकेका यी फिल्मले दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ। अब दर्शकको रोजाइमा कुन फिल्म पर्छ र बक्सअफिसमा कुनले अग्रता लिन्छ भन्ने विषय प्रतीक्षाको विषय बनेको छ।

चर्चित फिल्म ‘आ बाट आमा’को सिक्वेल ‘आ बाट आमा २’ चन्द्र पन्तको निर्माण तथा निर्देशनमा तयार भएको हो। फिल्ममा नेपालीसँगै भारतीय चलचित्र क्षेत्रका कलाकारहरूको पनि अभिनय रहेको छ।

फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत, मलिका महत, साइग्रेस पोखरेल, सविन श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, गजित विष्ट, दिलीप अखेडा र नरेन खड्कालगायत कलाकार देखिएका छन्।

आर्य पन्तको प्रस्तुति तथा आरआर फिल्म्सको वितरण रहेको यस फिल्मले पारिवारिक कथावस्तु र कलाकारहरूको उपस्थितिमार्फत दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। फिल्म अमेरिका, क्यानडा र जापानलगायतका देशमा पनि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।

दुई वर्षअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’को सफलतापछि अभिनेता तथा निर्देशक विराज भट्ट यसको दोस्रो शृङ्खला ‘१२ गाउँ २’ लिएर आएका छन्। विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा तयार भएको फिल्मकी निर्माता सरस्वती भट्ट हुन्।

फिल्ममा विराज भट्ट, समीर भट्ट, कृशु शाही, अनुपविक्रम शाही, वर्षा इटानी, खुसी कार्की, प्रकाश शाह, सुनील पोखरेल र कनिज कोइरालालगायत कलाकारको अभिनय रहेको छ।

सन्तोष सरकारको कथा रहेको फिल्ममा स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन्। एक्सनप्रधान प्रस्तुतिका कारण विशेषगरी युवापुस्तामाझ फिल्मले आकर्षण पैदा गर्ने अपेक्षा गरिएको छ।

फिल्मको प्रचारलाई थप गति दिन निर्माण पक्षले ‘जुनेली’ बोलको पप–डान्सिङ गीतसमेत सार्वजनिक गरिसकेको छ। युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर रहेको गीतको भिडियोमा मुख्य कलाकारहरूको आकर्षक प्रस्तुति देखाइएको छ।

दसैँको फिल्मी प्रतिस्पर्धालाई थप रोचक बनाउन दीपकराज गिरीको ‘छ माया छपक्कै २’ फूलपातीको दिनदेखि हलमा आउने भएको छ। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा बनेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्।

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे र निर्मल शर्मालगायत कलाकारको अभिनय रहेको छ। दीपाश्री निरौला फिल्मकी सल्लाहकार हुन्।

सामाजिक तथा पारिवारिक विषयवस्तुलाई मनोरञ्जनसँग जोडेर प्रस्तुत गर्ने दीपकराज गिरीको टोलीले यसपटक दर्शकलाई कस्तो स्वाद दिनेछ भन्ने चासो पनि उत्तिकै छ।

तीनवटै फिल्मको आफ्नै दर्शकवर्ग र फरक आकर्षण छन्। ‘आ बाट आमा २’ ले पारिवारिक संवेदना, ‘१२ गाउँ २’ ले एक्सन र स्टारडम तथा ‘छ माया छपक्कै २’ ले हास्य र प्रेममार्फत दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

दसैँको लामो बिदा, दर्शकको रुचि, हलमा प्राप्त शो र मुखले मुखमा फैलिने प्रतिक्रियाले फिल्मको व्यापारमा प्रभाव पार्नेछ। तर यी तीनमध्ये कुन फिल्मले दर्शकको सबैभन्दा बढी साथ पाउँछ र बक्सअफिसमा सफलताको नयाँ कथा लेख्छ भन्ने निर्णय भने दर्शकले नै गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *