बालेनबारे प्रधानमन्त्री- मैले छोरो भन्छु, ऊ दिदी भन्छ
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतलाई पक्राउ गर्न दबाब दिएको स्वीकार गरेकी छन् । तर गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन भने आफूलाई नभनेको बताइन् ।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बेलुका सम्पादकहरुसँगको भेटमा बालेनको प्रसंग निस्किएपछि प्रधानमन्त्रीले यसबीचमा तीन चारपटक आएर भेटेको स्मरण गर्दै आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ किन नगरेको भन्ने कुरा नै राखेको बताइन् ।
उनले भनिन्, “बालेनलाई मैले छोरो भन्छु ऊ चाहिँ दिदी भन्छ । हामी बोलेको सुन्दैन । ऊ खाली ओली र लेखकलाई किन कारबाही नगरेको भन्छ । हामी कानुनअनुसार कारवाही हुन्छ भन्छौँ । आज बिहान पनि फोनमा कुरा भएको थियो ।”उसको कुरा हामीले सुन्नुपर्छ तर उसले हाम्रो कुरा सुन्दैन । उसको बानी नै फरक छ, जहाँसम्म लाग्छ उसले दल त खोल्ने खालको मान्छे होइन ।
प्रधानमन्त्री कार्कीले बालेनसँग प्रधानमन्त्री बन्नुअघि पनि धेरै भेट भएको र कानूनका कुराहरू सम्झाउने गरेको बताइन् ।
