`

नागरिकले प्रहरीलाई संरक्षकका रूपमा अनुभूति गर्ने वातावरण बनाउन मुख्यमन्त्रीको निर्देशन

Nepal One HD ३० असोज २०८३ १४:०९
राजनीति

काठमाडौं ।बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न निर्देशन दिएका छन् ।

एकहत्तरौँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताए ।

नेपालको संविधान र प्रचलित कानुनको पालना गर्दै राष्ट्र तथा नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था कायम र अपराध नियन्त्रणमा नेपाल प्रहरीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै उनले प्रहरीको भूमिकाको सम्मान गरे ।

मुख्यमन्त्री थापा मगरले शान्ति, सुरक्षा र कानुनी शासनलाई मुलुकको विकास, समृद्धि तथा सुशासनको आधारका रूपमा व्याख्या गरे । नागरिकले आफ्नो घरपरिवार, व्यवसाय, पेसा र दैनिक जीवन सुरक्षित रूपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको आधारभूत दायित्व भएको उनको भनाइ थियो ।

त्यस्तै,  उनले अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागूऔषध नियन्त्रण, साइबर अपराधको अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणमा नेपाल प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको अधिकारको संरक्षण र कानुनको निष्पक्ष कार्यान्वयन प्रहरी सङ्गठनको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै उनले प्रहरीप्रतिको जनविश्वास नै सङ्गठनको सबैभन्दा ठूलो शक्ति भएको बताए ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले देश र जनताको सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी सङ्गठन निरन्तर क्रियाशील रहेको बताए ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले नागरिकले विभिन्न समस्यामा सबैभन्दा पहिले प्रहरी र प्रशासनलाई सम्झने गरेको उल्लेख गरे । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताइन् ।

कार्यक्रममा अमर प्रहरीका सन्तति तथा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वरिष्ठ पत्रकार प्रताप विष्टलगायत रहेका थिए ।

साथै, प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउँदै जनविश्वास अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *