`

देउवाको किल्लबाट बालेनको सन्देश : सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !

Nepal One HD १४ माघ २०८२ १२:२६
प्रमुख खबर

डडेलधुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सुदूरपश्चिमको चुनावी यात्राका क्रममा बुधबार बिहान डडेलधुरा आइपुगेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा पुगेका बालेनले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिमप्रति आत्मीय सन्देश दिएका छन् ।

बालेनले सुदूरपश्चिम अब केन्द्रबाट टाढा नभएको संकेत गर्दै लेखेका छन्, ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई !’ उनको यो अभिव्यक्तिलाई सुदूरपश्चिमप्रतिको भावनात्मक नजिकोपन र राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
सोमबारदेखि सुदूरपश्चिम केन्द्रित चुनावी यात्रामा रहेका बालेन मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भएका थिए। बुधबार डडेलधुरा पुगेका उनले महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

डडेलधुरापछि बालेन बैतडी प्रस्थान गर्ने तयारीमा छन् । दिउँसो १२ बजे बैतडीको पाटनस्थित रास्वपा सम्पर्क कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको छ । त्यसपछि उनी साँझ दार्चुला पुग्ने छन् । सचिवालयका अनुसार, बालेन अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित रास्वपा सम्पर्क कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्नेछन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने यी कार्यक्रममार्फत बालेनले संगठन विस्तार र चुनावी सन्देश प्रवाहलाई तीव्र बनाउने तयारी गरेका छन् । रास्वपाको सुदूरपश्चिम केन्द्रित यो सक्रियताले परम्परागत राजनीतिक प्रभाव रहेको क्षेत्रमा नयाँ राजनीतिक बहस र चासो पैदा गरेको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *