`

ओलीसँगको भिडन्त अघि पूर्व प्रधानमन्त्री देउवाको किल्लामा बालेन {तस्वीरहरु}

Nepal One HD १४ माघ २०८२ ११:४२
प्रमुख खबर

डडेलधुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार बिहान सुदूरपश्चिमको राजनीतिक केन्द्र मानिने डडेलधुरा पुगेका छन् । डडेलधुरा नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला भएकाले बालेनको आगमनलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

चुनावी प्रचारका क्रममा सुदूरपश्चिम यात्रा गरिरहेका बालेनले यस क्षेत्रलाई प्राथमिकतामा राख्दै जनस्तरसँग प्रत्यक्ष भेटघाटलाई जोड दिएका छन् । सोमबारदेखि सुरु भएको सुदूरपश्चिम भ्रमणअन्तर्गत उनले मंगलबार कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागिता जनाएका थिए । स्थानीय युवा, कार्यकर्ता तथा मतदातासँगको संवादमा उनले वैकल्पिक राजनीति र सुशासनको एजेण्डालाई मुख्य विषय बनाएका थिए ।

बुधबार डडेलधुराको महेश्वरीमोडस्थित रास्वपा कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको बालेनको सचिवालयले जनाएको छ । कार्यक्रममा पार्टीको संगठन विस्तार, स्थानीय मुद्दा र आगामी निर्वाचन रणनीतिबारे छलफल हुने बताइएको छ । डडेलधुरापछि बालेन बैतडी प्रस्थान गर्ने कार्यक्रम छ । दिउँसो १२ बजे बैतडीको पाटनस्थित रास्वपाको सम्पर्क कार्यालयमा कार्यकर्ता भेटघाट तय गरिएको छ । त्यसपछि उनी साँझ दार्चुला पुग्नेछन् । अपराह्न ४ बजे दार्चुलाको गोकुलेश्वरस्थित सम्पर्क कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

झापा–५ बाट उम्मेदवारी दिएका बालेनको प्रतिस्पर्धा यस पटक निकै रोचक हुने अनुमान गरिएको छ । त्यहाँ उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । ओली र बालेन दुवैलाई आ–आफ्ना दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि यो निर्वाचन केवल संसदीय सिटको मात्र नभई नेतृत्वको लडाइँका रूपमा पनि हेरिएको छ । सुदूरपश्चिम जस्ता परम्परागत रूपमा स्थापित दलको प्रभाव रहेको क्षेत्रमा बालेनको सक्रिय उपस्थितिले वैकल्पिक राजनीतिको बहसलाई थप चर्काएको छ । अब उनको यो चुनावी यात्राले मतदाताको मन कति जित्छ, त्यो भने आउने दिनले देखाउनेछ ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *