बालेनले गृहमन्त्री हटाउन दबाब दिइरहेको हल्ला अफवाह : प्रधानमन्त्रीको सचिवालय
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दवाव दिएको विषयप्रति प्रधानमन्त्रीको कार्यालयले प्रतिक्रिया दिएको छ । कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रमा पर्ने सचिवालयले जनाएको छ । बालेनले केही दिनअघि प्रधानमन्त्रीलाई भेटेर अर्याललाई गृहमन्त्रीबाट हटाउन दवाव दिएको समाचार सञ्चारमाध्यमहरुमा आएका थिए । सचिवालयले भने कसैको दवाव वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने स्पष्ट पारेको छ ।
सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरुप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएको गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरुको मनोबल उच्च राख्न अहोरात्र खटिरहनु भएको सबैलाई विदितै छ ।’ अहिलेको संवेदनशील समयमा अफवाह नफैलाउन र नपत्याउन प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले अपिल गरेका छन् ।
