`

राजीनामा लगत्तै घण्टीघर पुगे बालेन : रविसँगै बजाए घण्टी, समर्थकको नाराबाजी

Nepal One HD ४ माघ २०८२ १६:०९
बिशेष

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन) ले सक्रिय राष्ट्रिय राजनीतिमा औपचारिक प्रवेश गरेका छन् । राजीनामा बुझाए लगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय, बनस्थलीस्थित घण्टीघर पुगेका हुन् ।

पूर्व निर्धारित कार्यक्रमअनुसार दिउँसो १ बजे कार्यालय पुग्ने भनिए पनि बालेन पौने ४ बजे मात्र घण्टीघर आइपुगे । तर समय ढिलाइले समर्थकको उत्साह कम गर्न सकेन । दिउँसो १२ बजेदेखि नै पार्टी कार्यालयअगाडि नेता–कार्यकर्ता र समर्थकको बाक्लो भिड जम्मा भएको थियो । बालेन कार्यालय परिसरमा प्रवेश गर्दा नाराबाजी, हुटिङ र तालीको गडगडाहटले वातावरण पूरै उत्सवमय बनेको थियो । भिड छिचोल्दै कार्यालयभित्र प्रवेश गर्न उनलाई केही समय संघर्ष गर्नु परेको थियो ।

बालेनसँगै जेनजी अभियन्ता सुदन गुरुङ पनि घण्टीघर पुगेका छन् । सुदनले आजै रास्वपामा प्रवेश गर्ने घोषणा गरेका थिए । उनी गोर्खा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा थिए । रास्वपाले उनको उम्मेदवारीलाई समर्थन गर्ने सहमति गरेपछि उनी पनि पार्टी प्रवेशका लागि तयार भएका हुन् । घण्टीघर पुगेपछि बालेन र सुदनको पार्टी सभापति रवि लामिछानेको कार्यकक्षमा औपचारिक स्वागत गरिएको थियो । बालेन यसअघि नै रवि लामिछानेसँग सात बुँदे सहमति गर्दै रास्वपाको वरिष्ठ नेता बनेका थिए । आजको उपस्थितिलाई उनको सक्रिय भूमिकाको औपचारिक सुरुआतका रूपमा हेरिएको छ ।

रास्वपा केन्द्रीय कार्यालयमा बालेनका लागि छुट्टै कार्यकक्षसमेत तयारी अवस्थामा राखिएको छ । पार्टीसँग एकता गरेको २१ दिनपछि उनी पहिलो पटक केन्द्रीय कार्यालय पुगेका हुन् । कार्यकक्ष तयारीले पार्टीभित्र उनको भूमिकालाई संस्थागत रूप दिने संकेत गरेको नेताहरूको भनाइ छ । पार्टी स्रोतका अनुसार बालेन आजै केन्द्रीय समिति बैठकमा सहभागी भई प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे छलफल गर्नेछन् ।

बैठकपछि उनी सभापति रवि लामिछानेसहित जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ । जनकपुरमा आयोजना हुने सभालाई बालेनले सम्बोधन गर्नेछन्, जसलाई उनको पहिलो ठूलो राजनीतिक सम्बोधनका रूपमा हेरिएको छ । महानगरको नेतृत्वबाट राष्ट्रिय राजनीतितर्फ बालेनको यो कदमले आगामी निर्वाचन र समग्र राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ । समर्थकको उत्साह, पार्टीभित्रको तयारी र सार्वजनिक चासोले बालेनको नयाँ राजनीतिक यात्रालाई चासोका साथ हेरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *