`

घरेलु मैदानमै रोकियो नेपाली महिला टोली, विश्वकप यात्राको सपना चकनाचुर

काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डसँग लज्जास्पद हार बेहोरेसँगै नेपाली महिला क्रिकेट टोली समूह चरणबाटै बाहिरिएको छ । जित्नैपर्ने अन्तिम खेलमा कमजोर ब्याटिङ प्रदर्शन गर्दा नेपाल विश्वकप खेल्ने ऐतिहासिक अवसरबाट वञ्चित भएको हो ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल मात्र १३.५ ओभरमै ६८ रनमा अलआउट भयो । दबाबपूर्ण खेलमा नेपाली ब्याटरहरू सम्हालिन सकेनन् । ओपनर बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाए । रोमा अविजित रहिन् भने रुविना क्षेत्रीले १० रन जोडिन् । अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् । कप्तान इन्दु बर्मा चोटका कारण रिटायर्ड हर्ट भइन्, जसले टोलीको मनोबलमा थप असर पुर्‍यायो ।

यस हारसँगै नेपाल समूह चरणमा चार खेल खेल्दै एक जित र तीन हारसहित चौथो स्थानमा सीमित रह्यो । नेपालको समूहबाट नेदरल्याण्ड्स, स्कटल्यान्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपालसँगै जिम्बाब्वे पनि प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा भने उत्साहजनक प्रदर्शन गरेको थियो । स्कटल्यान्ड २० ओभरमा १४० रन बनाउँदै अलआउट भयो । नेपाली बलर मनिषा उपाध्याय चम्किइन् । उनले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिँदै विपक्षी ब्याटिङ लाइनअप ध्वस्त पारिन् । ग्लोबल छनोटमा पहिलो खेल खेलिरहेकी मनिषाले पहिलो ओभरमै दुई विकेट झार्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् ।

रुविना क्षेत्रीले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिइन् भने रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १–१ विकेट हात पारे । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले २८ बलमा ७ चौकासहित अविजित ४५ रन बनाइन् । एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन जोडिन् । बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा पूर्णरूपमा असफल हुँदा नेपाली टोलीको विश्वकप खेल्ने सपना फेरि अधूरै रह्यो । घरेलु दर्शकसामु अपेक्षा विपरीत प्रदर्शनले नेपाली महिला क्रिकेटले अझै स्थिरता र दबाब थेग्ने क्षमता विकास गर्नुपर्ने संकेत गरेको छ ।

नेपालको लगातार दोस्रो हार, तेस्रो जितसँगै नेदरल्यान्ड्स ‘सुपर–६’ मा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले लगातार दोस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरले पराजित भयो । यस जितसँगै नेदरल्यान्ड्स प्रतियोगितामा लगातार तेस्रो सफलता हासिल गर्दै ‘सुपर–६’ चरणमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो । जवाफमा नेपालले अन्तिम ओभरसम्म संघर्ष गरे पनि ७ विकेटको क्षतिमा १ सय ३८ रनमै सीमित हुन पुग्यो । नेपालको ब्याटिङ फेरि पनि सुरुआतदेखि नै दबाबमा रह्यो । ओपनरद्वय विन्दु रावल र सम्झना खड्काले आक्रामक सुरुआत दिलाए । विन्दुले १५ बलमा ४ चौकासहित १८ रन बनाइन् भने सम्झनाले ८ बलमा ३ चौकाको मद्दतले १४ रन जोडिन् । तर विन्दुको दुर्भाग्यपूर्ण रनआउटपछि नेपालले लय गुमायो ।

त्यसपछि पूजा महतो (८), कप्तान इन्दु बर्मा (६), काजल श्रेष्ठ (४) र कविता कुँवर (१) सस्तैमा आउट हुँदा नेपाल दबाबमा परेको थियो । कविता जोशीले १८ बलमा १३ रन बनाउँदै केही समय इनिङ्स सम्हाल्ने प्रयास गरिन् । अन्त्यतिर छैटौँ नम्बरमा आएकी रुविना क्षेत्री र सीता रानामगरले रोमाञ्चक पुनरागमनको संकेत गरे । रुविनाले ३२ बलमा ५ चौकासहित अविजित ३७ रन बनाइन् भने सीताले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित २७ रन जोडिन् । अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रन चाहिएको थियो । तर ११ रन मात्र आएपछि नेपाल २ रनले पछि पर्‍यो । अन्तिम बलमा छक्का लागे खेल बराबरी हुने सम्भावना थियो, तर त्यो सम्भव हुन सकेन ।

यो खेलमा रुविनाले अर्को महत्वपूर्ण उपलब्धि पनि हासिल गरिन् । उनी नेपालबाट महिला टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनिन् । यसअघि कप्तान इन्दु बर्माले यो कीर्तिमान बनाइसकेकी छन् । यसअघि नेदरल्यान्ड्सको इनिङ्स पनि उतार–चढावपूर्ण रह्यो । सोमु बिष्टले फेबे मोल्केनबोइरलाई शून्यमै आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाइन् । अर्की ओपनर हिथर सिगर्स १३ रन बनाएर पूजा महतोको बलमा आउट भइन् । १५ रनमै दुई ओपनर गुमाएपछि नेदरल्यान्ड्स दबाबमा देखिएको थियो ।

तर कप्तान बाबेट डे लिड र स्टेर कालिसले तेस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्सलाई सम्हाले । बाबेट डे लिड अर्धशतकबाट १ रनले चुकेर ४९ रनमा आउट भइन् । उनले ४७ बलमा ६–७ चौका प्रहार गरिन् । कालिसले ३४ बलमा ३० रन जोडिन् । अन्त्यतिर रोबिन रिज्केले अविजित १९ र आइरिस ज्वेलिङले अविजित १४ रन बनाएर टोलीको स्कोर १४० पु¥याए । नेदरल्यान्ड्सले अतिरिक्त रूपमा पनि १० रन जोडेको थियो । नेपालका लागि बलिङतर्फ रुविना क्षेत्रीले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । सुमन (सोमु) बिष्ट, पूजा महतो र रिया शर्माले १–१ विकेट हात पारे । लगातार दोस्रो हारसँगै नेपालको सुपर–६ यात्रा जटिल बनेको छ भने नेदरल्यान्ड्सले उत्कृष्ट लय कायम राख्दै अर्को चरणमा स्थान सुरक्षित गरेको छ ।

 

 

 

 

नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार बिहान टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४० रन बनाएको हो । दुवै ओपनरलाई सस्तैमा गुमाएको नेदरल्यान्ड्सका लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान बाबेट डे लिडले उत्कृष्ट पाली खेलिन् ।

उनी केवल एक रनका कारण अर्धशतक पूरा गर्नबाट चुकिन् । उनले टोलीका लागि ४९ रनको योगदान गरिन् । यसक्रममा उनले ४७ बलको सामना गरी ६ चौका पनि हिर्काइन् । चौथो नम्बरकी ब्याटर स्टेर कालिसले पनि टोलीको खातामा महत्वपूर्ण ३० रन थपिन् । पेभेलियन फर्किनुअघि उनले ३४ बलमा दुई चौका प्रहार गरिन् ।

नेदरल्यान्ड्सले १५ रनको कुल स्कोरमै दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि कप्तान बाबेट डे लिड र स्टेर कालिसले टोलीको स्कोरलाई ९४ रनको सम्मानजनक स्थितिमा पुर्‍याएका थिए । ओपनर हिथर सिजर्स १३ रन बनाउँदै आउट भएकी थिइन् भने अर्की ओपनर फेब मोल्केनबोयरले खातासम्म खोल्न सकिनन् ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रोबिन रिजकेले अविजित १९, फ्रेडरिक ओभरडिकले पाँच र आइरिस ज्विलिङले अविजित १४ रन बनाए । नेदरल्यान्ड्सले अतिरिक्त रुपमा पनि १० रन पायो । नेपाली टोलीका बलर रुविना क्षेत्रीले दुई विकेट लिइन् । सुमन बिष्ट, पूजा महतो र रिया शर्माले पनि एक–एक विकेट हात पारे ।

छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टोलीले खेलिरहेको यो दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा भने नेपाली टोली थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले भने आफ्नो तेस्रो खेल खेलिरहेको हो । नेदरल्यान्ड्सको टोली अघिल्ला दुवै खेलमा विजयी भएको थियो ।

आफ्नो पहिलो खेलमा जिम्बाब्वेलाई २२ रनले पराजित गरेको नेदरल्यान्ड्सको टोलीले दोस्रो खेलमा स्कटल्यान्डमाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । समूह ‘बी’ तालिकामा चार अंकसहित थाइल्यान्ड पहिलो र समान अंक बटुलेको नेदरल्यान्ड्स दोस्रो स्थानमा आसिन छन् । तालिकाको तेस्रो स्थानमा आसिन स्कटल्यान्डले एक खेल खेले पनि अंक बटुल्न सकेको छैन । दुवै खेलमा पराजित भएको जिम्बाब्वे चौथो र एक खेल खेलेको नेपाल पाँचौं स्थानमा छन् ।

 

 

शीतलनिवासमा विश्वकप ट्रफी सार्वजनिक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक भएको बताएका छन् । सोमवार शीतलनिवासमा टी–२० विश्वकपको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे ।

नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको बताए । क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताए । नेपालमा विश्वकप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उनले धन्यवाद व्यक्त गरे ।

उनले भने, ‘नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधार समेत सुदृढ बन्दै गएको छ । नेपालको क्रिकेटले अझ उचाई हासिल गरोस्, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक

काठमाडौँ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ ।

क्यानले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेका छन् । नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन् ।

आगामी जनावरी १४ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, बंगलादेश, अमेरिका तथा पपुवा न्यूगिनीको टिम रहेका छन् । प्रतियोगिताको खेल मूलपानी क्रिकेट मैदान र त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

नेपालले आफ्नो पहिलो खेल आगामी जनवरी १८ तारिखमा थाइल्यान्डसँग खेल्दै प्रतियोतिगाको उद्घाटन गर्नेछ । उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस प्रतियोगितामा सहभागी दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा छनोट भई, त्यस सुपर सिक्सबाट शीर्ष चार स्थान हासिल गर्ने टोली सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।

नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । त्यस्तै चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई-दुई विकेट हात पारे ।

हर्शल पाठक राष्ट्रिय महिला क्रिकेट टिमको प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त गरेको छ । पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । उनी थाइल्यान्ड क्रिकेट टोलीको समेत पूर्व प्रशिक्षक हुन् ।

क्यानले यसअघि नै विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसबाट पाठकलाई क्यानले छनोट गरेको हो । नेपालले आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दै छ ।

एसीसी प्रिमियर कपको उपाधि जित्न नेपालले पायो १४८ रनको लक्ष्य

काठमाडौं । एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ । युएईको अजमानस्थित करवान मैदानमा घरेलु टोली विरूद्धको फाइनल खेलमा नेपालले जितका लागि १४८ रनको लक्ष्य पाएको हो । पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अल आउट गर्दै १४७ रनमा रोकेको हो । युएईका लागि अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए । उनले १२६ बलमा ६ चौका प्रहार गरे ।

त्यस्तै नूरउल्लाह अयोबीले ४७ बल खेल्दै २ चौका र २ छक्काको मद्दतबाट २६ रन जोडे । आयान मिसबानले ११ रनले जोडे । कप्तान यायिन राई शून्यमै आउट भएका थिए । नेपालका लागि दयानन्द मण्डलले ६ विकेट लिए । अप्रजित पौडेलले २ तथा नितेशकुमार पटेल र अशोक धामीले एक-एक विकेट लिए ।

नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, आज यूएईसँग भिड्दै

काठमाडौं । एसीसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज (सोमबार) नेपाल र आयोजक यूएई भिड्दै छन् । खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ ।

अस्ती मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७ ओभर ५ बलमा एक विकेटको क्षतिमा पूरा गरेको थियो ।

त्यस्तै, ओमानलाई पराजित गर्दै यूएई फाइनलमा पुगेको हो । १९ वर्षमुनिको एशिया कप आउँदो डिसेम्बरमा यूएईमै हुनेछ । फाइनलमा पुगेका नेपाल र यूएई दुवै टोली आउँदो एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भइसकेका छन् ।

दृष्टिहीन महिला टी–२० विश्वकप उपविजेता नेपाली टोली स्वदेश फिर्ता (तस्वीरहरु)

काठमाडौं । श्रीलंका र भारतको संयुक्त आयोजनामा सम्पन्न पहिलो दृष्टिहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले टोलीलाई औपचारिक स्वागत गरेका हुन् । आइतबार कोलम्बोस्थित पी सारा ओभलमा भएको रोमाञ्चक फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो। नेपालले दिएको ११५ रनको लक्ष्य भारतले तीन विकेटको क्षतिमा १२औँ ओभरमै पूरा गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो ।
उपविजेता बनेको नेपालले ९ लाख श्रीलंकाली रुपैयाँ पुरस्कार पायो भने विजेता भारतले १५ लाख रुपैयाँ प्राप्त ग¥यो । पुरस्कार वितरण श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाले गरेका थिए ।

यस विश्वकपमा नेपालका २ खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै फरक–फरक क्याटगोरीमा ‘प्लेअर अफ द सिरिज’ बने । ‘बी–वान’ क्याटगोरीमा सुष्मा तामाङ र ‘बी–टु’ मा मनकेशरी चौधरी उत्कृष्ट घोषित भए । दुवैले ३७ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे । नेपाली टोलीको पहिलो उपाधि जित्ने लक्ष्य अपूर्ण रहे पनि खेलाडीहरूको प्रदर्शनले भविष्यमा थप सम्भावना देखाएको क्यानका पदाधिकारीहरूले बताएका छन् ।

नेपालको क्रिकेटले उज्यालो मैदानबाट अझ उज्यालो भविष्य लेख्नेछ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कीर्तिपुर क्रिकेट रंगशालामा प्यारापेट र फ्लडलाइटको सफल सञ्चालनलाई नेपालको खेलकुद इतिहासमा एउटा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा व्याख्या गरेका छन् ।

आइतबार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई रंगशाला हस्तान्तरण गरिएसँगै उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन् ।

मन्त्री घिसिङले आफ्नो फेसबुक स्टाटसमा भनेका छन्, ‘फ्लडलाइटको उज्यालोसँगै– केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ ! खेलकुदले एकातर्फ युवाहरूलाई अनुशासित र ऊर्जाशील बनाउँदै देशलाई एकतामा बाँध्ने क्षमता राख्दछ भने अर्कोतर्फ देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरिसकेको र दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँ बजेट समेत सुनिश्चित गरिसकेको जानकारी मन्त्री घिसिङले दिएका छन् । उनले आगामी ३ वर्षभित्र सम्पूर्ण निर्माण सकिएपछि नेपालले पूर्ण सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको भव्य क्रिकेट रंगशाला प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री घिसिङले पहिलो चरणको निर्माणलाई सफल बनाउन योगदान पुर्‍याउने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । साथै, सोमबारबाट सुरु हुने एनपिएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिँदै उनले कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपालको क्रिकेटले अझ उज्यालो भविष्य लेख्ने दृढ आशा व्यक्त गरेका छन् ।

 

दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप : अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । अमेरिकालाई १० विकेटले हराउँदै नेपाल दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि, टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका ९.४ ओभरमा १७ रनमै समेटिएको थियो । अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि दिलसरा धमलाले ३ र सुनिता घिमिरेले १ विकेट लिए । दृष्टिविहिन क्रिकेटमा यो हालसम्मको सबैभन्दा कम रन थियो । यसअघि सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध बनाएको २१ रन दुष्टिविहिन क्रिकेटमा सबैभन्दा कम योगफल थियो । तेस्रो जितसँगै नेपालले चार खेलबाट ६ अंक जोडेको छ । यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ९ विकेटले हराएको थियो र अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको नेपालले भारतसँग ८५ रनले पराजि भएको थियो ।

जनकपुरबाट दक्षिण अफ्रिकाका इमरान ताहिरले एनपीएल खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा खेल्ने भएका छन् । मंसिर १ बाट सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि जनकपुर बोल्ट्सले लेग स्पिन ताहिरलाई अनुबन्धन गरेको हो । ताहिरसँग झण्डै १ हजार खेलमा झण्डै २ हजार विकेट लिएको अनुभव छ । पाकिस्तानमा जन्मिएका ४६ वर्षीय ताहिरले २० टेस्टमा ५७ विकेट, १०७ एक दिवसीय अन्तर्राष्ट्रियमा १७३ विकेट र ३८ टी २० अन्तर्राष्ट्रियमा ६३ विकेट लिएका छन् । उनले सबैखाले ४४६ टी २० मा ५७० विकेट लिएका छन् ।

उनी २०११ को एकदिवसीय विश्वकपमा वेस्ट इण्डिजसँग अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । उक्त खेलमा उनले ४ विकेट लिएका थिए । ताहिरलाई समावेश गरेपछि जनकपुर बोल्ट्सले आफ्नो बलिङ विभाग अझ मजबुत भएको जनाएको छ ।
‘विश्व क्रिकेटमा परिचित नाम इमरान ताहिरको आगमनले हाम्रो टिममा अनुभव, ऊर्जा र विश्वस्तरीय स्तरको आत्मविश्वास थपेको छ । हामी विश्वास गर्छौं, उनको उपस्थितिले हाम्रो युवा टोलीलाई अझ प्रेरित गर्नेछ,’ ताहिरलाई अनुबन्ध गरेपछि जनकपुर बोल्ट्सका प्रवन्ध निर्देशक निरोज खतिवडाले भने ।

उनले थपे, ‘जनकपुर बोल्ट्सले यसअघि पनि अन्तर्राष्ट्रिय खेलाडीहरूलाई स्वागत गर्दै नेपाली क्रिकेटमा व्यवसायीकता र प्रतिस्पर्धात्मकता बढाउदै आएको थियो । आगामी सिजनमा बोल्ट्स ‘बिल्ट फर भिक्ट्री’ को नारा लिएर मैदानमा उत्रिनेछ । ताहिरले इंग्ल्याण्डका ६ टिमबाट टी २०, दक्षिण अफ्रिकाका ३ फ्रेन्चाइज टिम र इन्डियन प्रिमियर लिगका ३ फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन् । बोल्ट्सले यस सिजनको एनपीएलका लागि भित्राइएका ताहिर तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै टोलीले पहिलो संस्करण जित्दाका हिरो श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था र भेट्रान दक्षिण अफ्रिकी फास्ट बलर वायने पार्नेललाई अनुबन्ध गरिसकेको छ । वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा बोल्ट्स यसपटक मैदानमा उत्रने छ।

 

 

 

 हङकङ सिक्सेस: भारतमाथि नेपालको शानदार जित

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सात/सात रन बनाए ।
नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुई/दुई विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए ।
यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो । साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबारको खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र यूएईबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा नेपाली समय अनुसार, बिहान ११ः१५ बजे शुरू हुनेछ ।

जारी शृंखलाको यो अन्तिम खेल हो । नेपाल र यूएई दुवैले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । यो शृंखलामा अमेरिकाले आफ्नो चारवटै खेल जितेको छ । आयोजक यूएईले पनि एक खेल जितेको छ भने नेपाली टोली यसअघि खेलिएको तीनवटै खेलमा पराजित भएको छ । त्यसैले बुधबारको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

भारत महिला विश्वकपको फाइनलमा, दक्षिण अफ्रिकासँग उपाधि भिडन्त

काठमाडौं । भारतले महिला एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८ दशमलव ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै भारत विश्वकप उपाधि नजिक पुगेको हो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो।

भारतलाई जित दिलाउने क्रममा जेमिमा रोड्रिग्सले अविजित १२७ रनको उत्कृष्ट पारी खेलिन् । उनी प्लेयर अफ द म्याच घोषित गरियो। कप्तान हरमित कौरले ८९ रनको योगदान गरिन् । अब उपाधिका लागि भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

युएईविरुद्ध कप्तान रोहितको अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालका कप्तान रोहितले ७७ बलमा अर्धशतक पूरा गरे । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा ३ विकेट गुमाएर १२२ रन बनाएर खेलिरहेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कति सकियो काम ?

चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो । भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उनले टावरको वाल निर्माण गर्ने काम समेत भइरहेको बताए । उनका अनुसार टावर तीन तलाको हुनेछ ।
‘प्यारापिटको पछाडिपट्टि कोठा निकाल्न ढलानको काम हुँदैछ । रङ्गशालामा चार वटा प्यारापिट र दुई वटा टावर रहेका छन्’, मिश्रले भने, ‘दैनिक १२२ जनाले काम गरिरहेका छन् । तिहार लागेसँगै मुस्लिम समुदायका २५–३० जनाले मात्र काम गर्नेछन् । छठपछि कामले तीव्रता पाउने छ ।’ ठेक्का सम्झौताअनुसार यतिबेला ४८ प्रतिशत काम हुनुपर्नेमा सम्झौता गरेअनुरुप केही ढिलो भएको उनले बताए ।
धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरलाई उक्त परियोजना हस्तान्तरण गरिएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको महानगरले जनाएको छ ।
पहिलो चरणको काम सम्पन्न भएपछि यहाँ अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ । पहिलो चरणमा जम्मा १५ हजार जना दर्शक अट्ने प्यारापिट, दुई वटा भिआइपी टावर, मैदानसहित पाँच वटा पिच, ड्रेनेज (पानी निकास), रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिने महानगरका इञ्जिनियर मिश्रले जानकारी दिए । उनका अनुसार थप क्षमताका लागि दोस्रो चरणमा काम गरिनेछ ।  त्रिभुवन विश्वविद्यालयका नाममा रहेर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । यो भरतपुर महानगरपालिका–१५ मा पर्दछ । अन्तर्राष्ट्रियस्तरका खेल खेल्न मिल्नेगरी रङ्गशाला निर्माण भइरहेको हो ।

कीर्तिपुर क्रिकेट रंगशाला गुरुयोजना स्वीकृत, १० अर्ब लागत अनुमान

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रंगशाला निर्माण गर्न करिब १० अर्ब खर्च हुने अनुमान गरिएको छ ।

सहरी विकासमन्त्री कुलमान घिसिङले रंगशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको र अन्तर्राष्ट्रिय खेल तथा पर्यटन प्रवद्र्धनमा समेत यसको योगदान उल्लेखनीय हुने देखिएकाले गुरुयोजना स्वीकृत गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरिएको जानकारी दिएका छन् । रंगशालाको विकास र आधुनिकीकरण नेपालका लागि रणनीतिक रूपमा महत्वपूर्ण रहेको, अन्तर्राष्ट्रिय खेल खेलाउन सुविधा सम्पन्न क्रिकेट रंगशाला चाहिएकाले गुरुयोजना बमोजिम स्रोत सुनिश्चित गरी निर्माण अगाडि बढाउने निर्णय गरिएको मन्त्री घिसिङले बताए ।

घिसिङले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा जग्गासम्बन्धी सम्झौता, वातावरणीय प्रभाव मूल्यांकनलाई अन्तिम रूप दिने र गुरुयोजना बमोजिम रंगशाला विस्तारका लागि दोस्रो चरणको निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाउन मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको बताए । केही दिनअघि रंगशालाको पहिलो चरणको निर्माणबारे स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले गुरुयोजना वमोजिम भइरहेको निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव हुन नदिने गरी रंगशाला विस्तारको दोस्रो चरण अगाडि बढाइने बताएका थिए ।

त्रिवि र नेपाल क्रिकेट संघबीचको क्रिकेट मैदान प्रयोग गर्न भएको जग्गा करार सम्झौताको म्याद वैशाख २०८३ मा सकिँदैछ । मन्त्रिपरिषद् बैठकले गुरुयोजनालाई आवश्यक जग्गा प्राप्तिका लागि प्रचलित कानुन बमोजिम रंगशालाका रूपमा प्रयोग गर्न त्रिवि तथा युवा खेलकुद मन्त्रालय-राष्ट्रिय खेलकुद परिषदबीच सम्झौता गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । हाल रंगशालाको पहिलो चरणका संरचना निर्माणाधीन छन् । आगामी १ मंसिरबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

 

विश्वकप छनोट प्रतियोगिताकाे उपाधि जिते क्रिकेट खेलाडीलाई जनही साढे १९ लाख

काठमाडौं । नेपालले ओमानमा जारी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जिते राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरूले जनही १९ लाख ५० हजार पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास नियमावली २०७९ अनुसार सो पुरस्कार रकम दिइने जानकारी दिएका हुन् ।

नेपाल अहिलेसम्म प्रतियोगितामा अपराजित रहँदै अंकतालिकाको शीर्षस्थानमा छ । हिजोको खेलमा घरेलु टिम ओमानलाई पराजित गरेपछि नेपाल पहिलो नम्बरमा उक्लिएको हो । अब शुक्रवार हुने अन्तिम खेलमा नेपालले सामोआलाई पराजित गरेमा नेपालले छनोट प्रतियोगिताको उपाधि जित्ने छ । घिसिङकै कार्यकालमा ल्याइएको खेलकुद विकास नियमावलीमा खेलाडीहरूलाई प्रदान गरिने पटके पुरस्कारलाई व्यवस्थित गरिएको थियो । कस्तो प्रतियोगिता जितेमा खेलाडी र प्रशिक्षकलाई कति पुरस्कार दिने भन्ने नियमावलीमै उल्लेख रहेको जनाइएको छ ।

नियमावलीको अनुसूची ४ अन्तर्गत यदि नेपालले विश्वकप नै जितेको खण्डमा खेलाडीले जनही ३२ लाख ५० हजार पाउँछन् । यस्तै, उपविजेता भएको खण्डमा जनही २६ लाख र तेस्रो भएमा १९ लाख ५० हजार दिने व्यवस्था छ । विश्वकप छनोट प्रतियोगितामा पहिलो भएको अवस्थामा पनि प्रत्येक खेलाडीले १९ लाख ५० हजार पाउने व्यवस्था गरिएको छ । दोस्रो भएमा १३ लाख र तेस्रो भएमा ९ लाख १० हजार पाउँछन् । यही नियमावली अनुसार २०२४ को विश्वकप छनोट प्रतियोगितामा नेपाल दोस्रो हुँदा खेलाडीले १३ लाख जनही पाएका थिए ।

छनोट प्रतियोगिताको उपाधि जितेमा प्रमुख प्रशिक्षकले ६ लाख २५ हजार रकम पाउने छन् । यस्तै, सहायक प्रशिक्षक, फिजियो र अफिसियललाई ३ लाख २५ हजार दिइनेछ । दोस्रो भएमा प्रमुख प्रशिक्षकले ३ लाख ९० हजार र अफिसियलहरुले एक लाख ९१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि जितेमा नेपाल क्रिकेट संघ (क्यान) ले पनि ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो भएमा ३ लाख ९० हजार र तेस्रो भएमा दुई लाख ६० हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।

नेपालले अब अन्तिम खेल सामोआसँग खेल्नेछ । उक्त खेल जितेमा नेपाल अपराजित रहँदै प्रतियोगिताको विजेता हुनेछ । यदि नेपालले हारेमा र ओमानले पनि अन्तिम म्याचमा जापानसँग हारेमा भने पनि नेपाल नै विजेता हुन्छ । तर, नेपालले हारे र ओमानले जिते चाहिँ रन रेटका आधारमा नेपाल र ओमानमध्ये एक विजेता बन्ने छन् ।

 

नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत यूएईलाई १४१ रनको चुनौती दिएको छ ।

ओपनर आसिफ शेखले टी–२० आई नवौँ अर्धशतक प्रहार गरेको खेलमा अरुले प्रभावशाली प्रदर्शन गर्न नस्कदा नेपालले १४० रनको सामान्य स्कोर बनाएको हो । टस जितेर पहिला ब्याटिङ थालेको सामान्य स्कोर बनाउने क्रममा ६ विकेट गुमायो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । ४७ बलमा ४ चौका र एक छक्का प्रहार गरे।

कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १ र गुल्सन झा १४ रन बनाएर आउट भए । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे ।

बलिङमा युएईका जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जहिद अली, हर्षित कौशिक, हैदर अली र ध्रुव पराशरले एकएक विकेट लिए ।

टस जितेर युएइविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आईसीसी विश्व टी–२० क्वालिफायरअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । युएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले यसअघिकै टोलीलाई यूएईविरुद्ध निरन्तरता दिएको छ ।

यसमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, कुशल मल्ल, ललित राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा समावेश छन् । ओमानको अल अमरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १) मा खेल हुन लागेको हो ।

टी–२० विश्वकप छनोटमा आज चीर प्रतिद्वन्द्वी यूएईसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज (आइतबार) नेपाल चीर प्रतिद्वन्द्वी यूएई भिड्दै छ ।

ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि निकै महत्वपूर्ण छ ।

नेपाल आजको खेलमा यूएईलाई हराउँदै विश्वकप खेल्ने सम्भावना थप बलियो बनाउने योजनामा छ । सुपर सिक्समा नेपाल र यूएईसहित ओमानसँग समान २ अंक छ । सुपर सिक्सको अंक तालिकामा नेपाल नेट रनरेटमा अघि छ ।

एशोसियट क्रिकेटमा नेपाल र यूएईबीचको खेल एल क्लासिको नामले परिचित छ । नेपाल समूह बीको विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । यूएई समूह एको विजेताका रूपमा सुपर सिक्स खेल्न लागेको हो ।

समूह चरणका नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले तथा जापानलाई ५ विकेटले हराएको थियो । सुपर सिक्समा नेपालले यूएईसहित, ओमान, कतार र सामोयासँग खेल्ने छ । जापानलाई समूह चरणमै हराएकाले नेपाल सुपर सिक्समा जापानसँग खेल्ने छैन ।

नेपालका ६ महिला खेलाडीले मलेसियामा टी–२० च्याम्पियनसिप खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना महिला खेलाडीले मलेसियाको क्वालालम्पुरमा हुने एमसीए वुमेन इन्टरस्टेट टी–२० च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनसार अक्टोवर १८ देखि २८ सम्म प्रतियोगिता आयोजना हुनेछ ।

नेपालका ६ जना राष्ट्रिय महिला क्रिकेट खेलाडीहरुले सेलङ्गर क्रिकेट एशोसिएसन र सर्वाक क्रिकेट एसोसिएसन सँग आवद्ध भएर प्रतियोगिता खेल्ने छन् । सहभागी हुने नेपाली खेलाडीमा सीता राना मगर, कविता जोशी र राजमती ऐरीले सेलङ्गर क्रिकेट एशोसिएसनसँग आवद्ध भएर प्रतिस्पर्धा गर्दा रुविना क्षेत्री, पूजा महतो र कविता कुवँरले सारावाक क्रिकेट एशोसिएसनसँग आवद्ध भएर प्रतिस्पर्धा गर्नेछन् ।

महिला टी–२० : इन्दु बनिन् एक हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटर

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । उनले आज (मंगलबार) को मलेसियाविरुद्धको खेलमा अविजित ४८ रन बनाउँदै एक हजार रन पूरा गरेकी हुन् ।

इन्दुले ७७ खेलको ७० इनिङ्सबाट १०३३ रन बनाएकी छन् । सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा सीता रानामगर र तेस्रो स्थानमा रुविना क्षेत्री छिन् । सीताले ६३ खेलबाट ९६५ र रुविनाले ७८ खेलबाट ९३६ रन बनाएकी छन् ।

ओमानी भूमिमा आज कतारसँग भिड्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो तथा अभ्यासको अन्तिम खेलमा कतारसँग भिड्दै छ । सोमबार खेल ओमानको ओमान क्रिकेट ऐकेडेमी ग्राउन्ड–१ मा नेपाली समय अनुसार बेलुका ४ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यो अभ्यास खेल आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेलिएको हो ।

ओमान आउनुअघि नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला खेलेर अनि जितेर फर्किएको छ । नेपालले इतिहासमै पहिलो पटक टेस्ट राष्ट्रविरुद्ध खेल र शृंखला दुवै जितेर इतिहास रचेको थियो ।

महिला क्रिकेट : नेपालले मलेसियालाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई छ ‘विकेट’ ले पराजित गर्दै जित हासिल गरेको हो । यससँगै यो शृङ्खलामा नेपालले पहिलो जित दर्ता गराएको छ । यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन ‘रन’ले पराजित भएको थियो ।

आज मलेसियाले जितका लागि दिएको ९२ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् भने रुबी पोद्दारले १५ रन बनाइन् । मलेसियाकी आयना हमिजाले दुई विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक-एक विकेट लिए ।

त्यसअघि ‘टस’ हारेर पहिले ‘ब्याटिङ’ को निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले सर्वाधिक ५० रन योगदान दिएकी थिइन् । त्यस्तै कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।

नेपालकी सोमु विष्टले दुई तथा तथा कविता कुँवरले एक विकेट लिए । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खला १–१ को बराबरीमा छ । नेपालले आगामी जनवरीमा घरेलु मैदानमा नै हुने आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप उक्त शृङ्खला खेलेको हो ।

विश्वकप छनोटका लागि सन्दीपसहित नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी मेन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । युएईमा भएको वेष्ट इण्डिजसँगको तीन खेलको टी–२० सिरिजमा अनुशासनको कारवाही भोगेका सन्दीप लामिछानेलाई समेट्दै टोली घोषणा भएको हो । टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले यसअघि वेष्ट इण्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् ।

छनोटका लागि नेपाली टोली ओमान पुगिसकेको छ। विश्वकप छनोट अक्टोबर ८ देखि सुरु हुनेछ । टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

 

दुई पटकको विश्वकप विजेता वेस्ट इण्डिजसँग खेल्दै नेपाल

काठमाडौं । नेपाल आज (शनिबार) आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक टेस्ट राष्ट्र वेस्ट इण्डिजविरुद्ध खेल्दैछ । नेपालले टेस्ट राष्ट्र वेस्ट इण्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल्न लागेको हो ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलो पटक दुई पटकको विश्वकप विजेता टोली वेस्ट इण्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो ।

त्यस्तै नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ । यस सिरिज खेलेर नेपाली टोली आइसिसी टी ट्वान्टी विश्वकपको एसिया तथा इष्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जाने तालिका रहेको छ । उक्त प्रतियोगिताको तयारी स्वरूप नै नेपालले वेस्ट इण्डिजसँग खेल्न लागेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ सेख छन् । त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन् ।

यता अकिल होसेनको कप्तानीमा रहेको वेष्ट इन्डिज टोलीमा भने फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे र जेसन होल्डर छन् । त्यस्तै अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर जस्ता खेलाडी रहेका छन् ।

महिला क्रिकेट विकास समितिबाट संरचनागत विकासदेखि अन्तर्राष्ट्रिय तयारीसम्मका एजेण्डा पारित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत महिला क्रिकेट विकास समितिको चौंथो बैठक विभिन्न एजेण्डा पारित गर्दै सकिएको छ । समितिका संयोजक प्रदीप मजगैयाँको अध्यक्षतामा बसेको बैठकले महिला क्रिकेटको संरचनागत विकासदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता तयारीसम्मका विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पूर्ण योजना क्यान समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बैठकले आउँदो ICC Women’s T20 World Cup Global Qualifier का लागि उच्चस्तरीय High Performance Camps, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र खेलाडीहरूको सुविधा विस्तार गर्नुपर्नेमा जोड दिएको छ । यस्तै, ICC U–19 Women’s World Cup २०२७ को तयारीलाई लक्षित गर्दै दीर्घकालीन योजना अघि बढाउने निर्णय भएको छ ।

त्यस्तै समितिले तल्लोस्तरमा महिला क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने, यस अन्तर्गत विद्यालय-कलेजस्तरका प्रतियोगिता सञ्चालन, जिल्ला क्रिकेट संघहरूसँग सहकार्यमा घरेलु प्रतियोगिता विस्तार र U–15 Talent Hunt Programme मार्फत नयाँ प्रतिभा पहिचान गर्ने योजना अघि सारिएको छ ।

बैठकले महिला क्रिकेट बिकासको लागि, प्रशिक्षकहरुको ब्यबस्था, महिला क्रिकेट बिकास अधिकृतको ब्यबस्था र बार्षिक क्यालेन्डर समेत निर्माण गरी कार्यन्वयन गर्ने निर्णय गरेको छ । सम्पूर्ण निर्णय नेपाल क्रिकेट संघको बोर्ड बैठकमा अनुमोदन र कार्यान्वयनको लागि पेस गरिने समितिले जानएको छ ।

अन्ततः युएईले दियो क्रिकेट खेलाडीलाई भिसा

काठमाडौं । नेपाली क्रिकेट टोलीले अन्ततः युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए ।

नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो । वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरेर टिकट बिक्री गर्न थालिसकेको छ । अस्तिबाट अनलाइनमार्फत टिकट बुकिङ खुला गरिएको हो । नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।