`

नेपालको क्रिकेटले उज्यालो मैदानबाट अझ उज्यालो भविष्य लेख्नेछ : मन्त्री घिसिङ

Nepal One HD १ मंसिर २०८२ ८:१६
खेलकुद

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कीर्तिपुर क्रिकेट रंगशालामा प्यारापेट र फ्लडलाइटको सफल सञ्चालनलाई नेपालको खेलकुद इतिहासमा एउटा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा व्याख्या गरेका छन् ।

आइतबार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई रंगशाला हस्तान्तरण गरिएसँगै उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन् ।

मन्त्री घिसिङले आफ्नो फेसबुक स्टाटसमा भनेका छन्, ‘फ्लडलाइटको उज्यालोसँगै– केवल रंगशाला मात्र उज्यालो भएको होइन, नेपालको खेलकुदको भविष्य पनि उज्यालो हुँदैछ ! खेलकुदले एकातर्फ युवाहरूलाई अनुशासित र ऊर्जाशील बनाउँदै देशलाई एकतामा बाँध्ने क्षमता राख्दछ भने अर्कोतर्फ देशको आर्थिक विकास र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरिसकेको र दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँ बजेट समेत सुनिश्चित गरिसकेको जानकारी मन्त्री घिसिङले दिएका छन् । उनले आगामी ३ वर्षभित्र सम्पूर्ण निर्माण सकिएपछि नेपालले पूर्ण सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको भव्य क्रिकेट रंगशाला प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री घिसिङले पहिलो चरणको निर्माणलाई सफल बनाउन योगदान पुर्‍याउने आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । साथै, सोमबारबाट सुरु हुने एनपिएलका सबै सहभागी खेलाडी, टिम तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिँदै उनले कीर्तिपुरको यो उज्यालो मैदानबाट नेपालको क्रिकेटले अझ उज्यालो भविष्य लेख्ने दृढ आशा व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *