`

घरेलु मैदानमै रोकियो नेपाली महिला टोली, विश्वकप यात्राको सपना चकनाचुर

Nepal One HD १२ माघ २०८२ १२:०१
खेलकुद

काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डसँग लज्जास्पद हार बेहोरेसँगै नेपाली महिला क्रिकेट टोली समूह चरणबाटै बाहिरिएको छ । जित्नैपर्ने अन्तिम खेलमा कमजोर ब्याटिङ प्रदर्शन गर्दा नेपाल विश्वकप खेल्ने ऐतिहासिक अवसरबाट वञ्चित भएको हो ।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल मात्र १३.५ ओभरमै ६८ रनमा अलआउट भयो । दबाबपूर्ण खेलमा नेपाली ब्याटरहरू सम्हालिन सकेनन् । ओपनर बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाए । रोमा अविजित रहिन् भने रुविना क्षेत्रीले १० रन जोडिन् । अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् । कप्तान इन्दु बर्मा चोटका कारण रिटायर्ड हर्ट भइन्, जसले टोलीको मनोबलमा थप असर पुर्‍यायो ।

यस हारसँगै नेपाल समूह चरणमा चार खेल खेल्दै एक जित र तीन हारसहित चौथो स्थानमा सीमित रह्यो । नेपालको समूहबाट नेदरल्याण्ड्स, स्कटल्यान्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपालसँगै जिम्बाब्वे पनि प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा भने उत्साहजनक प्रदर्शन गरेको थियो । स्कटल्यान्ड २० ओभरमा १४० रन बनाउँदै अलआउट भयो । नेपाली बलर मनिषा उपाध्याय चम्किइन् । उनले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिँदै विपक्षी ब्याटिङ लाइनअप ध्वस्त पारिन् । ग्लोबल छनोटमा पहिलो खेल खेलिरहेकी मनिषाले पहिलो ओभरमै दुई विकेट झार्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् ।

रुविना क्षेत्रीले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिइन् भने रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १–१ विकेट हात पारे । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले २८ बलमा ७ चौकासहित अविजित ४५ रन बनाइन् । एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन जोडिन् । बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा पूर्णरूपमा असफल हुँदा नेपाली टोलीको विश्वकप खेल्ने सपना फेरि अधूरै रह्यो । घरेलु दर्शकसामु अपेक्षा विपरीत प्रदर्शनले नेपाली महिला क्रिकेटले अझै स्थिरता र दबाब थेग्ने क्षमता विकास गर्नुपर्ने संकेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *