`

नेपालको लगातार दोस्रो हार, तेस्रो जितसँगै नेदरल्यान्ड्स ‘सुपर–६’ मा

Nepal One HD ८ माघ २०८२ १२:५२
खेलकुद

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले लगातार दोस्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरले पराजित भयो । यस जितसँगै नेदरल्यान्ड्स प्रतियोगितामा लगातार तेस्रो सफलता हासिल गर्दै ‘सुपर–६’ चरणमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो । जवाफमा नेपालले अन्तिम ओभरसम्म संघर्ष गरे पनि ७ विकेटको क्षतिमा १ सय ३८ रनमै सीमित हुन पुग्यो । नेपालको ब्याटिङ फेरि पनि सुरुआतदेखि नै दबाबमा रह्यो । ओपनरद्वय विन्दु रावल र सम्झना खड्काले आक्रामक सुरुआत दिलाए । विन्दुले १५ बलमा ४ चौकासहित १८ रन बनाइन् भने सम्झनाले ८ बलमा ३ चौकाको मद्दतले १४ रन जोडिन् । तर विन्दुको दुर्भाग्यपूर्ण रनआउटपछि नेपालले लय गुमायो ।

त्यसपछि पूजा महतो (८), कप्तान इन्दु बर्मा (६), काजल श्रेष्ठ (४) र कविता कुँवर (१) सस्तैमा आउट हुँदा नेपाल दबाबमा परेको थियो । कविता जोशीले १८ बलमा १३ रन बनाउँदै केही समय इनिङ्स सम्हाल्ने प्रयास गरिन् । अन्त्यतिर छैटौँ नम्बरमा आएकी रुविना क्षेत्री र सीता रानामगरले रोमाञ्चक पुनरागमनको संकेत गरे । रुविनाले ३२ बलमा ५ चौकासहित अविजित ३७ रन बनाइन् भने सीताले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित २७ रन जोडिन् । अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रन चाहिएको थियो । तर ११ रन मात्र आएपछि नेपाल २ रनले पछि पर्‍यो । अन्तिम बलमा छक्का लागे खेल बराबरी हुने सम्भावना थियो, तर त्यो सम्भव हुन सकेन ।

यो खेलमा रुविनाले अर्को महत्वपूर्ण उपलब्धि पनि हासिल गरिन् । उनी नेपालबाट महिला टी–२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनिन् । यसअघि कप्तान इन्दु बर्माले यो कीर्तिमान बनाइसकेकी छन् । यसअघि नेदरल्यान्ड्सको इनिङ्स पनि उतार–चढावपूर्ण रह्यो । सोमु बिष्टले फेबे मोल्केनबोइरलाई शून्यमै आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाइन् । अर्की ओपनर हिथर सिगर्स १३ रन बनाएर पूजा महतोको बलमा आउट भइन् । १५ रनमै दुई ओपनर गुमाएपछि नेदरल्यान्ड्स दबाबमा देखिएको थियो ।

तर कप्तान बाबेट डे लिड र स्टेर कालिसले तेस्रो विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ्सलाई सम्हाले । बाबेट डे लिड अर्धशतकबाट १ रनले चुकेर ४९ रनमा आउट भइन् । उनले ४७ बलमा ६–७ चौका प्रहार गरिन् । कालिसले ३४ बलमा ३० रन जोडिन् । अन्त्यतिर रोबिन रिज्केले अविजित १९ र आइरिस ज्वेलिङले अविजित १४ रन बनाएर टोलीको स्कोर १४० पु¥याए । नेदरल्यान्ड्सले अतिरिक्त रूपमा पनि १० रन जोडेको थियो । नेपालका लागि बलिङतर्फ रुविना क्षेत्रीले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । सुमन (सोमु) बिष्ट, पूजा महतो र रिया शर्माले १–१ विकेट हात पारे । लगातार दोस्रो हारसँगै नेपालको सुपर–६ यात्रा जटिल बनेको छ भने नेदरल्यान्ड्सले उत्कृष्ट लय कायम राख्दै अर्को चरणमा स्थान सुरक्षित गरेको छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *