`

यसरी हुँदैछ धुलिखेल–खावा सडकको काम {तस्वीरहरु}

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनः स्तरोन्नतिको काम सुरु भएको हो । धुलिखेल–खावा सडकका सुपरभाइजर लोकहरि नेपालका अनुसार कात्तिक अन्तिमबाट काम सुरु भएकोमा अहिले धमाधम काम भइरहेको छ ।

दैनिक सयभन्दा बढीले काम गरिरहेका छन् । १४ महिनाको ठेक्का समय रहेकोमा समयभन्दा अघि नै कालोपत्रे गरेर सक्ने लक्ष्य छ । उपकरण र सामानको अभाव छैन । पहिले स्ट्रक्चरको काम सकेर पिच गर्न सुरु हुन्छ । स्थानीयको पनि सहयोग छ । लामो समयदेखि यो सडक प्रयोगकर्ताले सास्ती पाउँदै आएका थिए ।

तस्वीरहरु : बिजेन अमात्य / नेपाल फोटो लाइब्रेरी

सडक पीडित श्रेष्ठ भन्छन्–हामी सुकुम्वासी हुने भयौं

हेटौंडा । हेटौंडा शहरको मुख्य क्षेत्रमा सडक विस्तार गरिएसँगै भूकम्प पछिको शहर जस्तै देखिएको छ । सफा र हरियाली शहरको रूपमा चिनिने हेटौंडा बजार अहिले सडक विस्तारपछि अस्तव्यस्त देखिएको हो । सरकारले मंसिर २० गते हेटौंडामा २५–२५ मिटर सडक सीमाभित्र पर्ने घर–टहरा भत्काएको थियो । त्यसअघि सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने अल्टिमेटम दिँदै तोकिएको अवधिभित्र घरधनीले आफैं संरचना नहटाए मंसिर २० गतेदेखि भत्काइने चेतावनी दिएको थियो । घरधनीले भत्काउन आलटाल गरेपछि चेतावनीअनुसार मंसिर २० गते बिहान करिव ४ बजेदेखि त्यस्ता संरचना भत्काइएकोे थियो ।

संरचना भत्काइएपछि सरसफाई हुन बाँकी छ । जसकारण बजार क्षेत्र केही अस्तव्यस्त बनेको हो । मुआब्जाको कारण देखाँउदै त्यस्ता संरचना हटाउन घरधनीले आलटाल गर्दै आएका थिए । सरकारले भने २०३२ सालमै सडक विस्तारका लागि मुआब्जा वितरण भइसकेको र सर्वोच्च अदालतको २०८० पुस १७ गतेको फैसला आफै कार्यान्वयन गर्दै सडक विस्तार कार्य अघि बढाइएको बताउँदै आएको छ तर मुआब्जा नपाएको घरधनीहरुको गुनासो छ ।

अहिले सडक छेवैमा बनेका संरचना हटाउने नाममा आफूहरुलाई सरकारले सुकुम्बासी बनाएको पीडितहरुको बुझाइ रहेको छ । हेटौँडा १० का उदयकुमार श्रेष्ठ अदालतको आदेशमा बाटो किनारका संरचना हटाउने सरकारको कदम ठिक नभएको बताउँछन् । सडक विस्तार पिडित श्रेष्ठले अहिलेको सरकारको नियत ठिक नदेखिएको बताउँछन् । उनकाअनुसार सरकारले भूमिहिनलाई जग्गा दिएर सुकुम्वासी हुन नदिनुपर्ने बेला अहिले सरकारले सुकुम्वासी बनाउन खोजेको छ । आफूहरुको भूमिलाई सरकारले अतिक्रम गरेर भूमिहीन बनाउनु ठिक नभएको उनको बुझाइ छ ।

सडक विस्तार पीडित श्रेष्ठले भने, ‘अब हामी सुकुम्वासी नै हुन्छौं । हामी सुकुम्बासी नै हुने भएपछि त हामी स्थानीय-प्रदेश सरकार गुहार गर्न जान्छौं । कसैले नि हाम्रो वास्ता गरेन भने मर्न र मार्न तयार हुनेछौं । त्यो स्थीतिमा जानपर्ने बाध्यता हुन्छ । हाम्रो बाउ बाजेले मुआब्जा लिएको भए यति नम्बर कित्ताले यति मुआब्जा लिएको छ भनेर सरकारले प्रमाण देखाउनु पर्‍यो हामी छाड्न तयार छौं ।’

पीडित श्रेष्ठले आफूले घरमा किराना पसल चलाएर परिवार चलाइरहेको बताउँदै अब त्यो बाटो बन्द भएको बताए । आफूहरुलाई विस्थापित पार्ने सरकारी कदम न्ययोचित नभएको श्रेष्ठको बुझाइ छ । सडक विस्तार पीडित श्रेष्ठले मुआब्जा नपाएसम्म आफूले एक इन्च जमिन नदिने बताए । आफूहरुलाई विकास विरोधीका रुपमा चिनाउन खोजिएको समेत उनले बताए । आफूहरुले मुआब्जा लिएको प्रमाण सरकारले देखाउन सक्नुपर्ने उनको भनाइ रहेको छ ।

हेटौंडामा सडक बिस्तार : अतिक्रमित संरचनामा बिहानैदेखि चल्न थाल्यो डोजर

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज (शनिबार) बिहानदेखि नै सडक विस्तार कार्यको सुरूवात गरेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सूचना जारी गर्दै १५ दिनभित्र घर टहरा हटाउन आग्रह गरेको १५ दिने म्यादपछि आज (शनिबार) बिहानैदेखि सडकमा उत्रिएको हो ।

उसले सडक विस्तारका लागि आवश्यक बन्दोबस्तीको सामान र जनशक्तिसहित हेटौँडाको राप्तीरोडबाट केही घरहरु भत्काउन शुरु गरेको हो । सडक विस्तारका क्रममा दायाँबायाँ २५–२५ गजभित्र पर्ने संरचना सुरक्षाकर्मीको उपस्थितिमा भत्काउन सुरु गरिएको हो ।

२०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो र शुक्रबार पनि रास्वपाकी समानुपातिक निवर्तमान सांसद विन्दबासिनी कंसाकारसहित केहीको घर नभत्काउन र मंसिर २६ गते सछलफलमा आउन सडक डिभिजन र सरोकारवालालाई भनिए पनि शुक्रबार ३ बजेसिम्म कुनै पत्र नआइपुगेको भन्दै सडक डिभिजनले सडक विस्तार नरोकिने बताएको थियो ।

हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार शुरु भएको हो । २५ मिटर क्षेत्रमा परेका घर टहरा हटाउँदै हेटौँडामा राजमार्गको आवागमन समेत वैकल्पिक व्यवस्था गरिएको छ ।

 

स्तरोन्नतिपछि यस्तो देखियो बेनी–जोमसोम–कोरला सडक

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ । बेनीदेखि मुस्ताङको सिमाना काभ्रेभिरसम्म ३३ किलोमिटरमध्ये २६ किलोमिटरमा कालोपत्र भएको हो । उक्त सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईका अनुसार सडकलाई ११ मिटर चौडा बनाएर कालोपत्र र ढलान गरिएको छ ।

नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटरमध्ये ११ किलोमिटर रु ६३ करोडमा कालोपत्र र ढलान भएको छ । राहुघाट–नागढुङ्गा खण्डको १९ किलोमिटरमध्ये १५ किलोमिटर रु ६६ करोडमा काम सम्पन्न भएको छ । त्यसैगरी, राहुघाट, बेगखोला, महभिर र पोखरेबगरस्थित कालीगण्डकी, दानाको घट्टेखोलामा मोटरेबल पुल निर्माण, भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान भएका छन् ।

 

काठमाडौंमा सडकका खाल्डाखुल्डी पुर्न यसरी हुँदैछ २४ सै घण्टा काम (तस्वीरहरु)

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौँले सहरी क्षेत्रका सडक खाल्डाखुल्डी–रहित (पोटहोल फ्रि) बनाउन विशेष अभियान सुरु गरेसँगै सडक मर्मतका काम तीव्र रूपमा अघि बढाइएका छन् । डिभिजन कार्यालयले चक्रपथभित्रका सडकको मर्मत सम्पन्न गरी अब चक्रपथ बाहिरका सडक मर्मततर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । नियमित रूपमा मर्मत हुँदै आएका सडकका खाल्डाखुल्डी तत्काल सुधार गर्नका लागि कार्यालयले ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ सेवा सुरु गरेको हो ।

मंसिर ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले काठमाडौँ सडक डिभिजन कार्यालयमा पोटहोल मर्मत एम्बुलेन्स र पोटहोल मर्मतसम्बन्धी मोबाइल एपको शुभारम्भ गरेका थिए । डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र फुयाँलका अनुसार सो एम्बुलेन्समार्फत ४७२ किलोमिटर सडकलाई पूर्ण रूपमा खाल्डाखुल्डी रहित बनाइने लक्ष्य छ । वर्षभरि ३६५ दिन, २४ घण्टा सञ्चालन हुने एम्बुलेन्स सेवा आपतकालीन अवस्थामासमेत सक्रिय रहने छ ।
पोटहोल मर्मतका लागि मुलपानी क्षेत्रमा खटिएका इन्जिनियर फुयाँलले अत्यधिक सवारी चापका कारण अधिकांश मर्मत कार्य रातिको समयमा गरिने बताए । उनले भने, ‘दिनमा पनि तत्काल आवश्यक सडकमा मर्मत हुन्छ, तर मुख्य काम रातमा अघि बढाइन्छ ।’ स्वचालित

रूपमा सञ्चालन हुने पोटहोल मर्मत एम्बुलेन्समा ५० डिग्री तापक्रममा इमल्सन तताउने, स्प्रे गर्ने, खाल्डो काट्ने, हावा तथा पानीले सफा गर्ने लगायतका सबै सुविधा रहेको डिभिजनले जनाएको छ । सडक मर्मतलाई अझ प्रभावकारी बनाउन डिभिजन कार्यालयले ‘रोड मेन्टिनेन्स साइट रेस्क्यु नामक मोबाइल एप पनि सार्वजनिक गरेको छ । एपमार्फत सडक मर्मत आवश्यक स्थानको जानकारी संकलन गरी तत्काल काम अघि बढाइने डिभिजनले बताएको छ ।

तर अहिले सर्वसाधारणले एपमार्फत खाल्डाखुल्डीको फोटो पठाएर सूचना दिन नसक्ने उल्लेख गर्दै फुयाँलले भने, ‘अहिलेलाई २४ घण्टा खटिने हाम्रा कर्मचारीहरूकै टोलीले स्थान पहिचान गरेर मर्मत गर्नेछन् ।’ एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न हुने मन्त्रालयको विश्वास छ । सडक एम्बुलेन्सको प्रयोगले भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिने बताइएको छ । काठमाडौँलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा लिएर सुरु गरिएको यो अभियान सफल भएपछि अन्य सडक डिभिजनहरूमा पनि विस्तार गरिने कार्यालयले जनाएको छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौंका खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘सडक एम्बुलेन्स’, मन्त्री घिसिङले गरे शुभारम्भ

काठमाडौं । काठमाडौं उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘सडक एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको शुभारम्भ गरेका छन् ।

सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ । त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप्स् पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ ।

कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रूपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताए । विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनु पर्नेमा उनले जोड दिए । एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिनेछ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भिडभाडको समयमा आकस्मिक रुपमा समेत मर्मत गर्न सकिनेछ ।

 

सिंहदरबार क्षेत्रमा सडक रङरोगन सुरु {तस्वीरहरु}

काठमाडौं । सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु गरिएको छ । सवारीसाधनका धुवाँ र धूलो लगायत विभिन्न कारणले मेटिदै गाएका सडकका लेन, सडक किनारका कर्वस्टोन रंगाउने काम गरिएको हो । सडक विभाग अन्तर्गत सिंहदरबार, भद्रकाली, एन. ए. सी लगायतका क्षेत्रमा अहिले मेटिएका लेन पुनकोर्ने काम भइरहेको छ ।

तस्वीर : सफल प्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी

माडी–ठोरी सडक खण्डको बर्षौ अलपत्र पुलको ठेक्का तोडियो

काठमाडौं । सरकारले चितवनको माडी–ठोरी सडक खण्ड अन्तर्गत पटारी खोलामा वर्षौंदेखि निर्माण अलपत्र पुलको ठेक्का तोडेको छ । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो । ४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुरले पाएको थियो ।

तर काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले ठेक्का तोडिएको आयोजना निर्देशनालय वीरगञ्जले जनाएको छ । सूचना अनुसार निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो । तर स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र निर्माण व्यवसायीका प्रतिनिधि पनि म्पर्कमा नआएकाले ठेक्का तोडिएको हो ।

ठेक्का तोडिएकाले अब सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (८) बमोजिम कार्य सम्पादन जमानत जफत गर्ने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्देशनालयले जनाएको छ । साथै हालसम्म अद्यावधिक काम र बाँकी कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय फरफारख गर्न आजको मितिले १५ दिनभित्र उपस्थित हुन पनि भनिएको छ । यदि निर्माण व्यवसायी वा निजको प्रतिनिधि उपस्थित नभएमा कार्यालयबाट नापजाँच हुने सूचनामा उल्लेख छ । यसअघि सरकारले १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का पनि तोडेको थियो ।

हिउँदमै पुर्न थालियो काठमाडौंमा सडकका खाल्डा

काठमाडौं । असारमा खर्च हुन बाँकी बजेट सक्न धमाधम खाल्डा पुर्ने प्रवृत्ति हटाउँदै सरकारले यस पटक हिउँदमै काठमाडौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ । काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौंको मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माणको लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत सम्भार सुरु गरिएको जानकारी दिएका छन् । उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । हिउँदको सुरुवातमै हुने विकास निर्माणको कामबाट एकातर्फ पूँजीगत खर्च भई अर्थतन्त्र चलायमान हुन्छ भने काम समेत गुणस्तरीय हुन्छ । सरकारले हरेक वर्ष १० अर्ब रुपैयाँ हाराहारी बजेट सडक मर्मतमा छुट्याउने गर्छ ।

सूर्यविनायक–धुलिखेल सडक निर्माणलाई तीब्रता दिन मन्त्री घिसिङको निर्देशन

काठमाडौं । अरनिको राजमार्गको महत्वपूर्ण खण्ड मानिने सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनाले ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । सडक सीमा विवाद र बजेट अभावका बीच सुस्त बनेको आयोजनाले पछिल्लो समय गति लिएको हो ।

शनिबार आयोजनाको स्थलगत अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी असार मसान्तभित्र निर्माण सम्पन्न गर्न कडा निर्देशन दिएका छन् । कुल १५.८ किलोमिटर लामो यो सडकलाई ६ लेनमा विस्तार गर्न दुईवटा प्याकेज बनाएर काम भइरहेको छ । आयोजनाका अनुसार सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डमा ४५ प्रतिशत काम सकिएको छ । यस्तै, साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा भने ५५ प्रतिशत प्रगति हासिल भएको छ ।
सडक विस्तारको मुख्य चुनौती मानिने टेवा पर्खाल र नाली निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ भने साँगा–धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे समेत भइसकेको छ । अनुगमनका क्रममा मन्त्री घिसिङले सडक विभागका महानिर्देशक,

आयोजना प्रमुख र निर्माण व्यवसायीहरूसँग छलफल गर्दै अहिले काम गर्नका लागि मौसम सबैभन्दा उपयुक्त रहेकाले कुनै बहाना नबनाउन आग्रह गरे । ‘काम गर्ने सिजन यही हो, जनशक्ति र उपकरण थपेर निर्माणलाई युद्धस्तरमा अघि बढाउनुहोस्,’ मन्त्री घिसिङले भने, ‘निर्णय गर्नुपर्ने कुनै विषय बाँकी भए तत्काल टुंग्याऔं, तर आगामी असारभित्र सडक विस्तार सकिनुपर्छ ।’

उनले अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता भइसकेकाले अब आर्थिक अभावका कारण काम नरोकिने स्पष्ट पारे । चालु आर्थिक वर्षका लागि आयोजनामा ७० करोड रुपैयाँ मात्र विनियोजन भए पनि आयोजनाले करिब ४ अर्ब रुपैयाँ थप बजेट माग गरेको छ । विगतमा सडक सीमा विवाद र घरटहरा हटाउने समस्याले आयोजना प्रभावित भएको थियो । विशेष गरी बनेपा बजार क्षेत्रमा देखिएको सडक विस्तारको जटिलता फुकाउन मन्त्री घिसिङले बनेपा नगरपालिकाका प्रमुखसँग छलफल गरेका छन् । उनले स्थानीयस्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गरिदिन नगर प्रमुखलाई आग्रह समेत गरेका छन् ।

 

मुग्लिन–पोखरा सडक १० दिन दैनिक चार घण्टा बन्द

काठमाडौं । मुग्लिन–पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजनाले जनाएको छ । यो सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो ।

आजदेखि दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म सडकमा सवारी साधन रोकेर निर्माणको काम गर्न लागिएको योजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए । हाल मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडकमा स्तरोन्नतिको काम भइरहेको छ ।

पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको ‘प्रिकास्ट’ र ‘प्रिस्ट्रेस’ प्रविधिको पुल निर्माणको लागि काम भइरहेको कुँवरले बताए । मूल सडक बन्द हुँदा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक वा बुढी बजार चोकबाट बेल चौतारा हुँदै चाउथे भएर आवतजावत गर्न सक्नेछन् । ठूला सवारीसाधनको लागि भन् पावर हाउस चोकदेखि बौमारा हुँदै बिरौटा निस्किएर पोखरा आवतजावत गर्न पनि आयोजनाले अनुरोध गरेको छ ।
व्र गतिमा जारी छ । सोमबार साँझसम्म १२३ दल दर्ता भइसकेका छन् भने ३२ दलले प्रक्रिया पूरा गर्न बाँकी छ । आयोगले मंसिर १० गतेसम्म दर्ताका लागि समय तोकेको छ ।

सडक निर्माणका २५ रुग्ण ठेक्का तोडियो

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले २५ रुग्ण ठेक्का तोडेको छ । आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८०मा सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका रुग्ण ठेक्का आज (सोमबार) तोडिएको हो । ठेक्का तोड्ने निर्णय गर्नुअघि ११ कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै सम्बन्धित २५ निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको कार्यालय प्रमुख सुवोध देवकोटाले जानकारी दिएका छन् ।

कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौती बापतको रकम, पेश्की जमानत जफत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने देवकोटाले बताए । निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुने निर्देशन समेत दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । त्यसपछि सडक विभाग मातहतका कार्यालय रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएका थिए ।

दाउन्ने छिचोल्नै सकस

नवलपरासी । कावासोतीका दीप काफ्लेलाई आइतबार बर्दघाटबाट दाउन्ने पार गरी दुम्किबास निस्किन झण्डै १२ घण्टा लागेको बताए । आइतबार दिनभरि निरन्तरको झरी र सडक मर्मतका कारणले उनीजस्ता कैयौँ यात्रुहरूले भोग्नु परेको समस्या हो यो । केही दिनअघिको झरीका कारण बाटो हिलो र चिप्लो हुँदा दाउन्नेको यात्रा निकै कष्टकर बनेको यात्रुहरूको गुनासो छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डको यात्रा सकसपूर्ण हुन थालेको लामो समय भइसक्यो ।

नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्ने बाहेकको अन्य क्षेत्रमा धेरै जसो काम सकिए पनि दाउन्ने खण्ड नसकिँदा यात्रा कष्टकर भएको हो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट पश्चिम) दुई जिल्लाको सीमामा पर्ने दाउन्नेमा करिब १४ किलोमिटर खण्डमा यो समस्या छ । जसमध्ये पश्चिम खण्डमा ठुलो समस्या नभए पनि पूर्वी खण्डमा भने जीर्ण सडकका कारण यात्रा कष्टकर हुने गरेको यात्रु काफ्लेले सुनाए ।

पानी परेको समयमा मात्रै नभई अन्य समयमा समेत दाउन्ने खण्डमा कल्भर्ट निर्माण, ढलानलगायतका काम गर्दा बाटो एकतर्फी सञ्चालन गर्ने गरिएकाले दाउन्ने वारपार गर्न घण्टौँ लाग्ने गरेको छ । सडक विस्तार दाउन्ने खण्डमा सुस्ता हुँदा समेत यो खण्डमा यात्रा गर्न समस्या हुँदै आएको यात्रुहरूको भनाइ छ । सडक निर्माणका क्रममा कतिपय ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा छ । मुख्य गरी विश्वकर्मा मन्दिर, घ्यूखोला, त्रिसट्ठी मोडमा समस्या हुँदै आएको छ । एकतर्फ जीर्ण सडक अर्कोतर्फ उक्त खण्डमा बेलाबेलामा सवारी बिग्रिँदा सडक पूर्ण अवरोध जस्तै हुने गरेको यात्रुको गुनासो रहेको छ । पानी पर्दा सधैँ जसो दाउन्नेको सडक चिप्लो भएर यातायात सञ्चालनमा समस्या हुने गरेको छ । अन्य समयमा समेत यात्रा उस्तै कष्टकर हुने गरेको छ । केही दिनअघि परेको झरीले सहज रूपमा यातायात सञ्चालन नहुँदा अहिले दाउन्ने क्षेत्रमा सवारीको ठुलो जाम लागेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरले सोमबार एक सूचना जारी गरी वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दाउन्नेमा अहिले पनि बाटो चिप्लो हुँदा सवारी सहज रूपमा वारपार हुन नसकेको बताए । कतिपय स्थानमा सवारी बिग्रिएकाले समेत सडक एकतर्फी रूपमा सञ्चालन भए पनि अवस्था सहज नभएको उनले जानकारी दिए ।

‘केही दिनदेखिको सवारीको चाप छ, बाटो चिप्लो हुँदा उकालोमा सवारी उक्लिन सकिरहेका छैनन्, ठाउँ ठाउँमा बिग्रिएका सवारीले समेत बाटो छेकेको छ, हामीले सहज बनाउने प्रयास गरिरहेका छौँ, सकभर अहिले यो बाटो भएर यात्रा गर्नेहरूले वैकल्पिक बाटो प्रयोग गरिदिनु होला भन्ने अनुरोध छ’, प्रहरी उपरीक्षक खड्काले भने । रासस

 

 

कान्ति लोकपथ खुल्यो, कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अझै बन्द

मकवानपुर । ढुंगा पन्छाएपछि कान्ति लोकपथ खुलेको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान ७ बजेतिर बकैया गाउँपालिका–११ घट्टेपाखामा खसेको ठुलो ढुंगा पन्छाएपछि दुवैतर्फ यातायात सञ्चालन भएको हो । केहीबेर अघिदेखि सडकमा गाडी चल्न थालेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी पुष्कर बोगटीले जानकारी दिए । यसैबीच पहिरोका कारण शनिबार साँझदेखि अवरुद्ध कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक भने अझै खुलेको छैन ।

डीएसपी बोगटीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित ज्यामिरेमा सडक माथिबाट आएको पहिरोका कारण बाटो बन्द भएको हो । सडकमा माटो र ढुंगा थुप्रेका कारण सवारीसाधान आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ । हाल पहिरो पन्छाउने क्रम चलिरहेको डीएसपी बोगटीले बताए ।

 

कागबेनी–कोरला सडक अवरुद्ध

मुस्ताङ । मुस्ताङस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचनामा क्षति पुगेको हो । कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मको सडकमार्गका प्रत्येक खोल्लाखोल्सीमा लेदोसहितको बाढीले सडक संरचना क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनले उपकरण प्रयोग गरी सडक खुलाउन पहल सुरु भए पनि तत्काल सडक सञ्चालन नहुने बताए ।

उनका अनुसार ती स्थानमा सडक संरचनासहित वर्षाले सञ्चार सेवा समेत प्रभावित बनेको छ । कागबेनीदेखि वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेसम्मको दूरीमा पर्ने दर्जनौं स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खसेर शुक्रबार बिहानदेखि नै सडक अवरुद्ध भएको थियो ।
राष्ट्रिय गौरवको कागबेनी–कोरला सडकखण्डअन्तर्गत कागबेनीदेखि ताङ्वेसम्मको दूरीमा लेदोसहितको बाढीले झन्डै ५० मिटर सडक भासिएर सडक संरचना पूरै ध्वस्त हुन पुगेको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–ताङ्वे सडकखण्डमा चार स्थानभन्दा बढी सडक अवरुद्ध छ ।

त्यसैगरी, कोरला सडकको ताङ्वेदेखि छुसाङखण्डमा विभिन्न स्थानमा अविरल वर्षाले सडक संरचनामा क्षति पुगेको बताइएको छ । ताङ्वेदेखि छुसाङ खण्डको ताङ्वे खोलामा लेदोसहितको बाढीले सडक संरचना पूरै बगाएको छ । यस्तै, वर्षाका कारण वारागुङ मुक्तिक्षेत्रस्थित मुस्ताङ गेडमाथिको चैलै सडकमा करिब ३५ मिटर बढी सडक पहिरोका कारण ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनले उक्त सडकमा पर्खाल निर्माण गरी फिलिङ गरिएकामा पहिरोका कारण सडक भासिएर क्षति भएको बताए ।

यसैबीच शनिबार प्रजिअ भुसालसहित सुरक्षाकर्मीको टोलीले वर्षाले अवरुद्ध कागबेनी–छुसाङ सडकखण्डको स्थलगत अवलोकन गरेको छ । यहाँको सडकलाई आवश्यक मर्मत गरी सडक खुलाउन तीनवटा उपकरण परिचालित गरिएको छ । यसैगरी, कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक सञ्चालनमा ल्याउन भएका स्रोतसाधन परिचालन गरिने बताएको छ । आयोजनाका अनुसार स्थानीय व्यक्तिको दुईवटा उपकरण र म्याग्दी खण्डमा एक लोडर सम्बन्धित स्थानमा पुगिसकेको जनाएको छ ।

कागबेनी–छुसाङ सडकखण्डको ठाउँठाउँमा सडक संरचना ध्वस्त भएका कारण तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको वारागुङ–४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले जानकारी दिए । शनिबारदेखि कोरला सडक मर्मत सुरु भए पनि धेरै ठाउँका सडकमा बाढीपहिरोले क्षति भएकाले सडक खुलाउन केही दिन लाग्ने उनले बताए । जिल्ला प्रशासन कार्यालय मुस्ताङले कागबेनी–कोरला सडक अवरुद्ध रहेकाले तत्काल त्यसतर्फ यात्रा नगर्न अनुरोध गरेको छ ।

यसअघि बिहीबार रातिको अविरल वर्षाका कारण तीन स्थानमा सडक क्षति हुँदा जोमसोम–कागबेनी सडक अवरुद्ध भएको थियो । यहाँ शनिबार बिहानै स्थानीय प्रशासनको पहलमा डोजर परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । जोमसोम–कागबेनी सडक २४ घण्टापछि सञ्चालनमा आएसँगै मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरूका लागि सहज भएको जनाइएको छ ।

 

 

‘अत्यावश्यक बाहेक नारायणगढ–मुग्लिन–मलेखु सडकमा यात्रा नगर्नू’

काठमाडौं । लगातारको वर्षासँगै पहिरोको उच्च जोखिम बढेको भन्दै स्थानीय प्रशासनले अत्यावश्यक काम नपरी नारायणगढ–मुग्लिन–मलेखु खण्डमा यात्रा नगर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार साँझ सूचना जारी गर्दै नारायाण्ढ–मुग्लिन र पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा अत्यावश्यक काम नपरी यात्रा नगर्न अनुरोध गरेको हो । वर्षासँगै बिहीबारदेखि नै यी सडकमा स–साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यक बाहेक सकरभर यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।

हाल नारायणगढ–मुग्लिन सडकको तुइनभिर र पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकका विभिन्न स्थानमा खसेको पहिरो हटाएर सवारी आवागमन सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । तथापि यो खण्ड पहिरोको उच्च जोखिममा पर्ने र पहिरो पनि खसिरहेकाले सकभर यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन आग्रह गरिएको अर्यालको भनाई छ ।

वर्षा निरन्तर भई पहिरोको जोखिम कायमै हुने अवस्था भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु खण्डमा कुनै पनि बेला सवारी आवागमन बन्द गर्न सकिने पनि उनले बताएका छन् । उक्त सडकमा यात्रा गर्नुपूर्व जानकारी लिएर मात्र गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

यात्रा गर्न पूर्व जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीको नम्बर ९८५५०१३९९९ र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको ९८५५०१७०९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

हेर्नुस् सूचना

मुग्लिन–नारायणगढ सडक खुल्यो, चल्न थाले गाडी

काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडक खण्डमा गाडीहरु चल्न थालेका छन् । माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो । तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा आग्रह गरिएको सडक डिभिजन कार्यालय भतरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले बताए ।

अब ‘सरर’ पोखरा–मुग्लिन सडक

गण्डकी । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को निर्माण यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.७६ र वित्तीय प्रगति ४७.८० प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । कुल ३८.८८ किमि दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताए । उनका अनुसार २९.६१ किमिमा दुईतर्फी (चार लेन) र ७.७९ किमि सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।

१८.३ किमी (दुई लेन) मा दोस्रो तहको अस्फाल्ट कालोपत्र सम्पन्न भएको इन्जिनियर कुँवरले जानकारी दिए । यस्तै दुई किमीमा सर्विस लेन कालोपत्र गरिएको उनको भनाइ छ । कास्कीको विजयपुर पुल, डाँडाको नाक र मौरीभिरमा गरी कुल १०८० मिटरमा एकतर्फी पहिलो तहको कालोपत्र गर्न बाँकी रहेको जनाइएको छ । चालु आव सुरू भएयता ३.२३ किमी चार लेनमा प्रथम तहको कालोपत्र र १४ किमी दुई लेनमा दोस्रो तहको अस्फाल्ट कालोपत्र गरिएको हो।सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण सकिएको आयोजना कार्यालयले जनाएको छ ।

‘सडक विस्तार, नाली, कल्भर्ट निर्माणलगायत अधिकांश काम सकिएको छ’, उनले भने, ‘चालु आवभित्र सडक निर्माण सकिन्छ, निर्माण कम्पनीले पनि पछिल्लो समय कामलाई गति दिएको छ ।’ विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इन्जिनियर कुँवरले बताए ।

चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इन्जिनियर कुँवरले बताए । पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए ।

उक्त खण्डमा पर्ने एक सय पाँचवटै कल्भर्ट निर्माण भइसकेका उनको भनाइ छ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो ।
सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । ५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैङ्कको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)को निर्माण भने अन्तिम चरणमा पुगेको छ ।

म्याग्दीको ‘रणवाङ–दरवाङ सडक’ कालोपत्रे योजना ६ वर्षसम्म अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने योजनाले छ वर्षसम्म पनि पूर्णता पाएको छैन ।

रणनीतिक महत्त्वको रूपमा रहेको उक्त खण्ड मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७८ जेठमा सकिनुपर्ने योजनाको हालसम्म भौतिक प्रगति ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सात किलोमिटर लामो सडकअन्तर्गत रणवाङ–तोलावाङ खण्डमा तीन किलोमिटर ३०० मिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र सकिएको कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । ढाडखर्क, दरबाङ बजारमा स्ट्रक्चर तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरवाङ सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र यातायात सञ्चालनमा असहज भएको यातायात व्यवसायी अर्जुन आचार्यले बताए । ‘रणवाङ–तोलावाङ खण्डमा ठेक्का सम्झौता भएको पाँच वर्षपछि गत वर्ष कालोपत्र भएपनि तोलावाङ–दरवाङ खण्डमा अधुरै छ’, उनले भने, ‘कालोपत्र नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै धुलोका कारण स्थानीयलाई सास्ती भएको छ ।’

गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित यो सडक आयोजनामा ठेकेदारले निर्माण सामग्रीको व्यवस्थापन, मजदुर र उपकरण परिचालन गर्न नसक्दा सडक निर्माणमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ । निर्माण कम्पनी बिरुवा–क्याराभानका सञ्चालक चन्द्र थकालीले नदीजन्य निर्माण सामग्रीको अभाव, पर्याप्त बजेट विनियोजन नहुनु, सम्झौतालगत्तै कोरोना महामारी, विपद्लगायतका कारणले ढिलाई भएको बताए ।

पहिरो प्रभावितबाहेक ठाउँमा सडक फराकिलो बनाएर नाली र पर्खाल निर्माण सकिएकाले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने थकालीले बताए । गत आर्थिक वर्षमा एक करोड ५० लाख विनियोजन भएको यस योजनाका लागि प्रदेश सरकारले थप एक करोड ५० लाख रकमान्तर गरेर भुक्तानी गरेको थियो । चालु आवमा चार करोड विनियोजन भएको छ ।

मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने २४ किमी दूरीको यो सडक विसं २०६३ मा मार्ग खुलेको थियो । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प भएकाले यसलाई रणनीति महत्वका रूपमा मानिएको हो ।

बेनीबाट सिमसम्म १२ दशमलव पाँच किमी चार वर्षअघि कालोपत्र भएको थियो । सिम–पानाबगर खण्डको चार किमी २०८१ जेठमा काम सकिएको छ । गण्डकी प्रदेशसभाका सांसद रेशम जुग्जालीले सहजीरण र समन्वय गरेपनि निर्माण कम्पनीले विभिन्न बाहना बनाएर सडक कालोपत्र गर्न ढिलाइ गरेको बताए ।

‘आव २०८०/०८१ मा काम सम्पन्न गर्न पुग्ने गरी रु पाँच करोड विनियोजन गर्दा ठेकेदारले काम गरेन’, उनले भने, ‘गत वर्ष बिनियोजन भएको बजेट नपुगेपछि रकमान्तर गरेर भुक्तानीको व्यवस्था मिलाएका थियौँ ।’ यस वर्ष विनियोजन भएको बजेट अपुग भएमा थप बजेट व्यवस्थाका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले निर्माण व्यवसायीले अधुरा कामलाई छिटो पूर्णता दिनुपर्ने बताए ।

नारायणघाट–बुटवल सडक : सहज बन्दै यात्रा

नवलपरासी । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड यात्राका लागि सहज बन्दै गएको छ । सडकको ११३ किलोमिटर खण्डमध्ये दाउन्ने बाहेकका अन्य स्थानमा राजमार्ग सहज बनेको नारायणघाट बुटवल सडक योजनाले जनाएको छ। योजनाको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार हाल सडकको विभिन्न ११ स्थानमा सडक विस्तारको काम भइरहेको छ । दाउन्नेको पूर्वी खण्डमा करिब दुई किलोमिटर र पश्चिम खण्डमा करिब पाँच किलोमिटर बाहेक सबै क्षेत्रमा यातायात सहज भइसकेको उनको भनाइ छ । दाउन्ने खण्डमा पनि धुलो हटाएर राजमार्गलाई सहज पारिएको भन्दै उनले अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्र, राजमार्ग कालोपत्र गर्नेलगायतको काम भइरहेको बताए ।

‘दाउन्ने खण्डलाई पनि सहज बनाउनेगरी काम तीव्र रूपमा अगाडि बढेको छ’, उनले भने, ‘यो हिउँदसम्ममा राजमार्ग पूरै सहज बन्छ, त्यसपछि हामी राजमार्ग विस्तारको अन्य काममा जुट्नेछौँ ।’ यस खण्डमा निर्माण हुने साना २२ तथा ठूला १२ मध्ये अरुणखोला र चोरमाराका दुई वटा ठूला पुलबाहेकका सबै पुल निर्माण पूरा भइसकेका खनालको भनाइ छ । एकतर्फी कालोपत्र सकिएको ठाउँमा अर्कोतर्फी कालोपत्र तथा दुवैतर्फ कालोपत्र भएको स्थानमा सर्भिस लेन बनाउन, सडकको बीचमा डिभाइडर निर्माण गर्ने, सडक बिग्रिएको स्थानमा सहज बनाउने काम भइरहेको उनको भनाइ छ ।

सडक विस्तारको ठेक्का पाएका चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक इञ्जिनियर राकेश झाले अहिले नारायणघाटबाट बुटवल साढे दुई घण्टामा पुग्न सकिने बताए। ‘विगतको तुलनामा सडक एकदमै सहज बनेको छ, हामी सार्वजनिक बसमा साढे दुई घण्टामा बुटवलबाट नारायणघाट पुग्न सक्छौँ’, उनले भने, ‘थपिएको म्यादभित्र सडक निर्माण सम्पन्न गर्ने तयारीसाथ हामी फिल्डमा खटिएका छौं ।’

अहिले तिहारको बेला काम केही ढिला गतिमा बढेको भए पनि छठपछि भने सडकको विस्तारको काममा तीव्रता आउने उनले बताए । गैँडाकोट, देवचुली, चोरमारा, दाउन्नेलगायतका ठाउँमा अहिले काम भइरहेको उनको भनाइ छ । गैँडाकोट क्षेत्रमा सडकको दुईतर्फी कालोपत्र गर्ने काम भइरहेको उल्लेख गर्दै झाले दुईतर्फी कालोपत्र भइसकेको ठाउँमा भने सडकको बीचको डिभाइडर बनाउने काम भइरहेको जानकारी दिए । ‘केही ठाउँमा पुलको रेलिङ बनाउने काम अगाडि बढेको छ, केही ठाउँमा सडकको फिनिसिङ तथा सर्भिस लेन बनाउने कामसमेत सुरु भइसकेको छ’, उनले भने, ‘दाउन्नेको पहाडमा भने सडकलाई सहज बनाउन ढलानको काम तथा धुलो हटाउने काम र सडकको किनारमा पर्खाल लगाउने काम भइरहेको छ ।’

अघिल्लो वर्ष यो समयमा यस सडक पार गर्न सात घण्टासम्म लाग्ने गरेको भन्दै चालक अहिले भने यातायात धेरै सहज भएको बताउँछन् । नारायणघाट बुटवल सडकमा गाडी चलाउँदै आएका गैँडाकोटका सङ्गम लम्सालले सडक सहज हुँदा यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन सकिएको बताए । ‘पोहोर यो सडक पार गर्न सात घण्टाभन्दा बढी समय लाग्थ्यो, एकतर्फी यात्रा गर्दा गाडी सर्भिसिङ गर्नुपर्ने अवस्थामा पुग्थ्यो’, उनले भने, ‘अहिले त्यो समस्या हटेको छ, बाटो सहज हुँदा गाडीको मर्मत खर्चमा समेत कमी आएको छ ।’

एसियाली हाइवेको मापदण्डमा विस्तार भइरहेको यस सडक विस्तारपश्चात् नारायणघाटबाट बुटवलको ११३ किलोमिटर दूरी ९० मिनेटमा छोटिने बताइएको छ । चार लेनमा विस्तार भइरहेको सडकको बजेट रु १७ अर्बमध्ये ८५ प्रतिशत रकम एशियाली विकास बैंक (एडिबी) ले १ दशमलव ५ प्रतिशत व्याजमा ऋण सहयोग उपलब्ध गराएको छ । विसं २०७९ साउनमा निर्माण सक्नेगरी विसं २०७५ माघदेखि सडक विस्तारको काम सुरु भएकामा चौथो पटक थप गरिएको म्याद आगामी साउन ८ गते सकिँदैछ ।

 

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ पुनः निर्माण सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो ।

लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको छ । स्थानीय व्यवसायी डम्बर घिमिरेले भने, ‘निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ, धुलो र हिलोले व्यापार गर्न पनि मुस्किल परेको छ ।’ सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भइरहेको छ । गत असारमा स्थानीयले चक्काजामसमेत गरेका थिए । निर्माण कम्पनी चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको छ ।

कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाले लहान खण्डमा निर्माण ढिलो हुनुका मुख्य कारणमा स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षा रहेको बताए । उनले भने, ‘अन्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्नै नसकिने बाध्यताले पनि सडक निर्माणको काममा ढिलाइ भएको हो ।’

त्यसबाहेक सडक क्षेत्रमा रहेका बिजुलीका पोल समयमा नहटाइँदा काम झनै प्रभावित भएको उनको भनाइ छ । निर्माणाधीन ओभरपासको लम्बाइ पाँच सय ५० मिटर, ग्राउन्ड क्लियरेन्स छ मिटर र उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ । सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न रु १५ अर्ब ६६ करोडको लागतमा सन् २०२० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म एक सय १२ वटा कल्भर्ट, २५ वटा पुलको ढलान सम्पन्न भइसकेको छभने १२ पुल सवारीका लागि खुलेका छन् । तर, म्याद सकिन दुई महिना बाँकी रहँदा समग्र प्रगति मात्र ६७ प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ । रासस

 

व्यापारिक केन्द्र बन्यो अपिको मकरीगाड

दार्चुला । सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ ।
विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको आर्थिक रुपान्तरणलाई गति दिएको छ ।
विसं २०६० देखि मकरीगाडमा व्यापार गर्दै आएका धनसिंह लोथ्याल सडक पुगेपछि अहिले मकरीगाडमा बजार व्यवसाय बढेको बताउँछन् । ‘यो क्षेत्रमा २२ वर्षदेखि होटल व्यवसाय गर्दै आएको छु, पहिले खाना खाने र बास बस्नेमात्रै व्यापार थियो’, लोथ्याल भन्छन्, ‘तर अहिले सबै किसिमको व्यापार मकरीगाडमा भइरहेको छ, बिहानदेखि साँझसम्म चहलपहल बढेको छ ।’  सडक पुगेपछि जिप र मालबाहक ट्रक दैनिक रूपमा मकरीगाडसम्म पुग्न थालेका छन् । पहिला मार्मा गाउँपालिकाको लटिनाथ–सेलविसा हुँदै हुने व्यापार अहिले मकरिगाडमा केन्द्रित भएको छ । लोथ्यालका अनुसार पारिबगरदेखि मकरीगाड सडक खण्डमा खुलेका अधिकांश होटल पसल बन्द भएका छन् ।
अपिहिमालका वडा नं १ देखि ५ सम्मका स्थानीयका लागि मकरीगाड अहिले मुख्य बजार केन्द्र बनेको छ । पहिले लटिनाथबाट पिठ्युँमा सामान बोकेर आउनुपर्ने बाध्यता हटेको छ । पहिले मार्माको सेलविसासम्म मात्रै सडक थियो । स्थानीय लटिनाथबाट पिठ्युँमा समान बोकेर आउँथे । सडक पुगेपछि सामान सबै यहीँ सहज पाउन थालेको लोथ्याल बताउँछन् । उनका अनुसार यहाँ व्यापारिक चाप बढेको छ । धनगढीबाट रात्रिकालीन आउने यात्रु जिपमार्फत बिहानै मकरीगाड पुग्छन् । अहिले विटुले–पारिबगर–मकरीगाड सडकखण्डमध्ये मार्माको पारिबगरसम्म सडक ग्राभेल गरिएको छ । पारिबगर क्षेत्रसम्म बस सेवा सञ्चालनमा छ । पारिबगरदेखि मकरीगाडसम्म सडक कच्ची भए पनि सामान बोकेका ट्रक मकरीगाडसम्म नियमित सञ्चालन हुने गरेका छन् ।
मकरीगाडभन्दा माथि सडक नहुँदा पनि अहिले यस क्षेत्रमा व्यापार व्यवसाय बढेको मकरीगाडमा व्यापार व्यवसाय गर्दै आएका विसनसिंह धामी बताउँछन् । अहिले यो क्षेत्र सबै प्रकारको व्यापारका लागि केन्द्रबिन्दु बनेको छ । स्थानीयले आफ्नो उत्पादन मकरीगाडसम्म बिक्री गर्न ल्याउँछन् । खण्डेश्वरी घुसाबाट स्थानीयले हरियो साँग, दूध दही मकरीकगाड बजारमा व्यापार गर्ने अवस्था बनेको छ । तराई क्षेत्रबाट खाद्यान्न लत्ताकपडा सहजै यहाँ पुग्ने गरेको छ । यहाँका होटल तथा पसल राम्रो चलेका छन् ।
‘विद्युत् नबनेको भए सायदै अहिले नै सडक पुग्थ्यो’, धामीले भने, ‘यो सडक कालोपत्र भयो भने अझै यहाँको व्यापार राम्रो हुन्थ्यो ।’ अहिलेकोभन्दा सस्तो मूल्यमा सामान मकरीगाडमा उपलब्ध हुनेछ । खाद्यान्न उत्पादन न्यून हुने अपिहिमालका चार वडाका लागि अहिले तराईबाट सहजै खाद्यान्न मकरीगाड पुग्ने गरेको छ । विकास निर्माणमा चाहिने छड, सिमेन्टदेखि दैनिक उपभोग्य सामानको सहज उपलब्धता मकरीगाडमा पुगेको व्यापारी धनसिंह जागरी बताउँछन् । अहिलेको अवस्थामा अझै सडक स्तरोन्नतिको खाँचो छ ।
व्यापारी जागरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, छडलगायत दैनिक उपभोग्य सामग्री मकरीगाडमै सहज उपलब्ध छन् । सडक स्तरोन्नति र भाडादर समायोजनको आवश्यकता अझै रहेको उनले बताए । तराईबाट आउने ट्रकहरूले अहिले अपिहिमालमा उत्पादित राज्मा, भटमास, आलु, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म लैजान थालेका छन् । यसरी पहाड र तराईबीच दोहोरो व्यापार सहज बनेको छ ।
तराईबाट समान लिएर आउने ट्रकले सिजनमा पहाडको उत्पादन तराई पु¥याउन थालेका छन् । अपिहिमालमा उत्पादन हुने राज्मा, भटमास, कोदो, आलु, स्याउ र जडीबुटी तराई पठाउन सहज भएको जागरीले बताए । पहाडको आलु, दाल, स्याउ धनगढीसम्म पुग्न थालेको छ। यो क्षेत्रमा सडकका कारण दोहोरो व्यापार सहज बनेको छ । सडक माथि उक्लिँदै गर्दा व्यापार पनि माथि सर्ने गर्छ । पहिले लटिनाथ सेलविसा व्यापारिक केन्द्र चहलपहल हुन्थ्यो । अहिले मकरीगाड बनेको छ । मकरीगाडबाट झण्डै एक दशमलव पाँच किलोमिटर सडक माथि उक्लिएको छ । अपिहिमालको केन्द्रसम्म सडक पुग्यो भने व्यापार फेरि माथि सर्नेछ । –नरेन्द्रसिंह कार्की

गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द

गुल्मी । गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खर्ज्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो । यहाँ रेसुङ्गा नगरपालिका‐१० को मैदानदेखि वडा नं ११ को जन प्राविसम्मको सडकमा आजदेखि सडक स्तरोन्नति सुरु गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी यही असोज २४ गतेदेखि कात्तिक २३ गतेसम्मका एक महिना सडक पूर्ण रूपमा बन्द हुने जनाएको होे ।

कार्यालयले उक्त समयसम्म वैकल्पिक सडकका रूपमा राङबास–फेदीसम्मका सवारीसाधनका लागि–मैदान–हर्राबोट–सपौदी हुँदै राङबास फेदी सडक र रिडी‐पाल्पा एवं अर्घाखाँचीतर्फ सञ्चालन हुने सवारीसाधनका लागि घुम्ती–चारपाला–खज्र्याङ तथा तम्घास–बलेटक्सार–रिडीको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयका प्रमुख दीपक खड्काका अनुसार निर्माणका क्रममा यात्रु र चालकको सुरक्षालाई ध्यानमा राख्दै सडक अस्थायी रूपमा बन्द गरिएको बताए । उनले निर्धारित समयावधिभित्र काम सम्पन्न गरी सडक शीघ्र सञ्चालनमा ल्याइने बताए ।

अझै ६ सडक पूर्ण रुपमा बन्द (सूचीसहित)

काठमाडौं । अझै देशका विभिन्न स्थानका ६ वटा सडक पूर्ण रुपमा बन्द छन् । आज (शुक्रबार) विहानसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला सडक र मकालु गाउँपालिका–३ एकुवाको सडक पूर्णरुपमा बन्द भएको छ ।

मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरुमा पनि सडक पूर्णरुपमा बन्द छन् । तमोर करिडोरअन्तर्गत पाँचथरको पाँचथर तुम्वेवा गाउँपालिका–२ नावाखोला सडक पनि बन्द छ । यता बागमती प्रदेशमा पनि दुई वटा सडकहरू पूर्ण रुपमा बन्द भएका छन् ।

पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन स्थानमा सडक बन्छ छ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११को माम्तिखोला, डालाबेसी, बल्ढुंगा, बाँझोखेतलगायतका ठाउँमा सडक पूर्णरुपमा बन्द छ । यी ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो । खुलाउने काम जारी छ ।
हेर्नुस् कुन–कुन सडक छन् बन्द ?

रातभरको प्रयासपछि राहत : आजदेखि खुल्दै बीपी राजमार्ग

काठमाडौं । लगातारको झरी र भेलबाढीले बन्द रहेको बीपी राजमार्ग आज (शुक्रबार) दिउँसो ४ बजेसम्म सञ्चालनमा आउने भएको छ ।सडक विभागको तर्फबाट रातभर डोजर चलाएर डाइभर्सन पुनर्निर्माण गरेपछि राजमार्ग सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको हो ।

गत असोज १७ र १८ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्गको ५.३ किलोमिटरमध्ये ३.४ किलोमिटर डाइभर्सन बगाएको थियो । सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले भने, ‘हिजो रातभर नसुती काम गर्‍यौ । माथिल्लो माम्तीमा ४०–५० टिपर माटो भरिसकेपछि त्यो पूर्ण हुँदैछ । तल्लो माम्तीमा खोला डाइभर्सनको काम भइरहेकाले आज दिउँसोसम्ममा राजमार्ग सञ्चालनमा ल्याउनेछौं ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार स्थलगत अवलोकन गरी काम छिटो गर्न निर्देशन दिएका थिए । त्यसयता काममा तीव्रता आएको इन्जिनियर दुर्गाले जनाए । पछिल्लो समय बिपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरू वैकल्पिक मार्गमार्फत् रामेछापको मन्थली, दोलखाको चरिकोट हुँदै खाडीचौरबाट अरनिको राजमार्ग प्रयोग गरी काठमाडौं आउजाउ गरिरहेका छन् । तर ती सडकहरू साँघुरा र कतिपय स्थानमा एकतर्फी हुँदा यात्रुहरू सास्तीमा परेका छन् ।

गत वर्ष पनि यस्तै बाढीले राजमार्गको करिब २४ किलोमिटर भाग क्षतिग्रस्त बनाएपछि हिउँदमा अस्थायी डाइभर्सनमार्फत सञ्चालनमा ल्याइएको थियो । यसपालि मनसुन सुरु हुनु अगावै सुधार गरिए पनि असोजको वर्षाले फेरि क्षति पुर्‍याएको हो । बीपी राजमार्ग विसं २०७२ मा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब लागतमा निर्माण गरिएको हो । निर्माण कार्य आर्थिक वर्ष २०५३/५४ मा सुरु भई २०७२ असार १८ गते सम्पन्न भएको थियो ।

आज कहाँ–कहाँ छन् सडक अवरुद्ध ? (सूचीसहित)

काठमाडौं । अविरल भारी वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अझै अवरुद्ध छन् । आज (बिहीबार) बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका नौं ठाउँका सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीन सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–एकुवामा सडक अवरुद्ध भएको छ । बाढीले इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ भने पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पूर्णरुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरूद्ध रहेको छ । यस्तै, पहिरोले बीपी रागममार्ग अन्तर्गत रहेको काभ्रेको रोशी खोला गाउँपालिका–११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानहरूको सडक पूर्ण रुपमा बन्द रहेको छ भने बीपी राजमार्ग अन्तर्गत नै रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक सडक अवरूद्ध भएको छ ।

यस्तै कर्णाली प्रदेश अन्तर्गत रहेका हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका–५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका–८ जुगेनी खोलामा रहेको सडक पूर्ण रूपमा अवरूद्ध रहेको छ । कोशी लोकमार्ग अन्तर्गत रहेको साँगुरीगढी गाउँपालिका–१स्थित चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ । यस्तै बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका–८ वगुवा खोला र बकैया गाउँपालिका–११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

हेर्नुस् अवरुद्ध राजमार्ग र सडकको विवरण

 

एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशकमा पनि पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण निर्धारित समयमा काम पूरा नभएको हो । विसं २०७३ जेठ १३ भित्रमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको दैलेखस्थित मध्यपहाडी लोकमार्ग कार्यालयका सूचना अधिकारी नवीन खरालले बताए ।

लोकमार्ग अन्तर्गतको उक्त खण्ड कालोपत्र गर्न रु ४२ करोड ९९ लाख चार हजारमा सम्झौता भएको हो । पटक–पटक म्याद थपेर सम्झौताअनुसारको काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले बताए ।
‘मध्यपहाडी लोकमार्गमा धेरै सवारी साधान चल्न थालेका छन्, दैनिक सयौँ यात्रु यही मार्गबाट यात्रा गर्छन्, पातिहाल्नेदेखि रुपगासम्म कालोपत्र गर्न सबै तयारी भएको थियो, तर लामो समयदेखि निर्माण कम्पनी नआउँदा बनेका संरचना पनि भत्किएका छन्’, सूचना अधिकारी खरालले भने ।

आज कहाँ–कहाँ छन् सडक अवरुद्ध ?

काठमाडौं । अबिरल वर्षा र बाढी–पहिरोको कारण आज (बुधबार) पनि देशका विभिन्न राजमार्गको सात ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विभिन्न सडकका पाँच स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ ।

संखुवासभाको भोटखोला र मकालुमा कोशी राजमार्ग, इलामको इलाम नगरपालिका–९ मा मेची राजमार्ग, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका–११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ ।

त्यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकमा पनि पहिरोले सडक अवरुद्ध अवस्थामा छ । त्यसैगरी आज धनकुटाको पाख्रिवास नगरपालिका–५ मा मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँघुरीगढी गाउँपालिकामा कोशी लोकमार्गमा एकतर्फी गाडी चलेका छन् ।

त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा खोलास्थित कान्ती लोकपथ, मकवानपुरकै बकैया गाउँपालिका– ११ घट्टेपाखामा पनि सवारी साधन एकतर्फी गुडिरहेका छन् । सिन्धुलीको मरिण गाउँपालिका– २ सिन्दुरेस्थित मदन भण्डारी राजमार्ग पनि आज एकतर्फी बन्द भएको छ । एकतर्फी बन्द भएका सडकमा चापमा गाडी चरिहेका प्रहरीले जनाएको छ ।

हेर्नुस् कुन राजमार्ग छन् अवरुद्ध ?

सडक संरचना पुनर्निर्माणमा १२ अर्ब बढी खर्च लाग्ने अनुमान

काठमाडौँ । असोज १८, १९ र २० गते परेको अबिरल वर्षा र त्यसबाट उत्पन्न बाढी तथा पहिरोले देशभरका विभिन्न राजमार्ग र सडक संरचनामा गम्भीर क्षति पुर्‍याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार क्षति भएका संरचनाको पुनर्निर्माणका लागि अनुमानित लागत करिब १२ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।

सबैभन्दा बढी क्षति मुख्य राजमार्गहरूमा पुगेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । मेची राजमार्ग मात्रै पुनर्निर्माण गर्न डेढ अर्ब रुपैयाँ खर्च लाग्नेछ । कोशी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी सडक, अरनिको राजमार्ग, कान्ति लोकपथ, नारायणघाट–मुग्लिङ मार्ग लगायतका सडकहरू मर्मतका लागि तीन अर्ब ७७ करोड रुपैयाँ लाग्नेछ ।

त्यस्तै, बाढी र पहिरोले क्षति पुर्‍याएका १७ वटा स्थायी पुलहरू पुनर्निर्माण गर्न चार अर्ब ५२ करोड रुपैयाँ, बेलिब्रिजहरूका लागि ८० करोड रुपैयाँ र वैकल्पिक सडक निर्माणमा एक अर्ब ५९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढी–पहिरोबाट अवरुद्ध भएका सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको र तत्काल मर्मतका लागि उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन् । उनका अनुसार सडक सञ्चालनको काममा सम्बद्ध निकायहरू सक्रिय रूपमा जुटिरहेका छन् भने नियमित अनुगमन पनि भइरहेको छ ।

अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा

भोजपुर । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो । यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।

बर्सातसँगै पहिरो खस्ने, सडक धसिने र दुर्घटनाको सम्भावना उच्च देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । मध्य पहाडी राजमार्गअन्तर्गत देउराली–चखेवा सडक खण्डको शिरदलीमा झरेको ठूलो पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । यो सडकलाई पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

हेटौंडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

बागमती । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।

उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ ।

यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए । ठाउँ–ठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

गुल्मी । सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो ।

सडकमा थुप्रिएको चट्टानसहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडक खण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।

काठमाडौंको कोहिनुर हाउजिङ आसपासका घर जोखिममा, सडक भासियो {तस्वीरहरु}

काठमाडौं । काठमाडौं महानगरपालिकाको करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ । आज रातिबाट अविरल झरी पर्दा बिहान ९ बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको हो ।

सडकको छेउमा लगाइएको वाल भत्किएपछि कटान सुरु भएको छ। सडक भासिँदा सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ । त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागले नदी कटान रोक्ने प्रयास भइरहेको काठमाडौं महानगरले जनाएको छ ।

बस्तीमा डुबानको कारण समस्या भए नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको छ । महानगरले जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन अनुरोध गरेको छ ।

सोल्टीमोडमा भासियो सडक, घर नजिकै पुग्यो खोला

काठमाडौं । काठमाडौंको सोल्टीमोडको पश्चिमतर्फ स्युचाटार खोलाले गर्दा सडक भासिएको छ । काठमाडौँ महानगरपालिकाले दिएको जानकारीअनुसार खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी बाँकी राखेको छ ।

महानगरपालिकाका अनुसार अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ ।
कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः

–१६६००१०५५११
–०१५९०१७६४
–०१५९०१७६३ (केएमसी प्रहरी)

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो। अहिले सडक दुईतर्फी नै अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखेलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो । प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो ।

तर फेरि माथिबाट पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन । यो सडक खण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

 

हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा राति गाडी चलाउन रोक

बागमती । हेटौंडा–काठमाडौँ जोड्ने दुई सडकमा आज (शुक्रबार) देखि तीन दिनसम्म बेलुकाको समयमा गाडी चलाउन रोक लगाइएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिइन् ।

जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै प्रजिअ श्रेष्ठले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।

विपद् पूर्व तयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ ।

काठमाडौंका सडक सुनसान

काठमाडौं । विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन् । काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ । दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ ।

साढे पाँच लाखले छाडे उपत्यका, सुनसान बन्दै सडक

काठमाडौं । दसैंको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले संघीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।’ साथै दसैँको अवधिमा काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् ।
घट्दै काठमाडौं उपत्यकाको चहलपहल
राजधानीमा रहेका धेरै सर्वसाधारण दसैँ मनाउन आफ्नो स्थायी ठेगानामा गएको तथा यहाँका स्थानीय पनि घरबाहिर ननिस्कँदा काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ ।
फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । तर महाअष्टमीबाट भने सुनसान हुँदै गएको हो ।  उपत्यकाका सडकमा सवारी साधन न्यून चलेका छन् ।
ट्राफिक प्रहरीका अनुसार यस वर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । सो दिन मात्रै करिब डेढ लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए । काठमाडौँमा बडादसैँको टिकाको दिनदेखि भने फेरि चहलपहल बढ्ने गरेको छ ।

बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी । पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ । पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले जानकारी दिए । सडक खुलेसँगै अलपत्र परेका यात्री बोकेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेतमा सामान्य वर्षा हुँदा पनि पहिरोको जोखिम हुने गरेको उनी बताउँछन् । पटक–पटकको पहिरोका कारण जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ भने स्थानीय तहमा निर्माणाधीन सडक, विद्युत् सबस्टेशन, प्रसाररण लाइन र जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने

काठमाडौं । सडक र पुल निर्माणका लागि सम्झौता गरिएका तर काम नगरी अलपत्र परेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन् । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्कामा यो कदम चालिने भएको हो ।

दमक कार्यालयअन्तर्गत ३८, काठमाडौं ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्ग १७ वटा ठेक्का रुग्ण अवस्थामा छन् । आयोजनातर्फ काम नगरी ठेक्का रुग्ण बनाउन संलग्न तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखसँग छलफल गर्दै रुग्ण ठेक्का तोड्ने कदम अपरिहार्य भएको बताएका छन् ।

मन्त्री घिसिङका अनुसार, ‘सडक निर्माणका लागि राज्यले प्रत्येक वर्ष ठूलो रकम खर्च गरिरहेको छ, तर नागरिकले लाभ प्राप्त गर्न सकेका छैनन् । ठेक्का व्यवस्थापन शून्य जस्तो देखिएको छ । कतिपय निर्णय कर्मचारीले समयमै नगर्दा ठेक्का रुग्ण बनेका छन् । यस्ता कर्मचारीमाथि पनि छानबिन गर्नुपर्छ ।’

उनले भने, ‘रुग्ण ठेक्कामा संलग्न निर्माण व्यवसायीलाई कसैले प्रलोभन दिन सक्दैनन्। तपाईंहरूले स्वतन्त्रतापूर्वक ठेक्का तोड्नुहोस । यस कदमले सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । म तपाईंलाई पूर्ण संरक्षण गर्नेछु ।’

निर्माण सम्झौता अनुसार समय थप भए पनि प्रगति कम भएका ठेक्कालाई रुग्ण मानिएको छ । उदाहरणका लागि दुई करोडभन्दा बढी सम्झौता भएको ठेक्कामा ५० प्रतिशतभन्दा कम प्रगति भएमा रुग्ण ठेक्का मानिनेछ । त्यस्तै, २–४ सय प्रतिशत समय म्याद थप भए पनि प्रगति ८०–९५ प्रतिशतभन्दा कम भएको ठेक्कालाई रुग्ण ठेक्का मानिने प्रावधान छ ।

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयमा अनियमितता, ढिलासुस्ती, घूस माग्ने वा सेवाग्राहीलाई दुःख दिने कर्मचारीमाथि तत्काल कारबाही हुने स्पष्ट पारेका छन् । उनले कर्मचारीलाई पनि निर्देश दिएका छन् । कसैले आफ्नो नाम बेचेर अनावश्यक दुःख पुर्‍याएमा तुरुन्त जानकारी गराउन ।