`

लहानमा रोकिएको ‘ओभरपास’ निर्माण सुरु

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि रोकिएको ‘ओभरपास’ पुनः निर्माण सुरु गरिएको छ । गत असारको अन्तिम सातादेखि रोकिएको ओभरपास काम असोज २३ गतेदेखि फेरि सुरु भएको हो ।

लहान मुख्य चोकमा निर्माण भइरहेको ओभरपासको ३५ मिटर गहिराइमा २६ वटा पाइल फाउन्डेसन सकिए पनि अन्य संरचनाको ढिलाइले चोक क्षेत्र अस्तव्यस्त बनेको छ । स्थानीय व्यवसायी डम्बर घिमिरेले भने, ‘निर्माण ठप्प हुँदा सवारी आवागमन अस्तव्यस्त भएको छ, धुलो र हिलोले व्यापार गर्न पनि मुस्किल परेको छ ।’ सहिद स्मारक भत्काएपछि एकतर्फी सवारीका लागि डाइभर्सन व्यवस्था गरिए पनि दुर्घटनाको जोखिम, धुलो र हिलोले जनजीवन प्रभावित भइरहेको छ । गत असारमा स्थानीयले चक्काजामसमेत गरेका थिए । निर्माण कम्पनी चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुपले काम गरिरहेको छ ।

कञ्चनपुर–कमला सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सरोजकुमार कोइरालाले लहान खण्डमा निर्माण ढिलो हुनुका मुख्य कारणमा स्थानीय आन्दोलन, चाडपर्व र भीषण वर्षा रहेको बताए । उनले भने, ‘अन्डरपास, ओभरपास र अकासे पुलको पाइल फाउन्डेसन नगरी अन्य काम गर्नै नसकिने बाध्यताले पनि सडक निर्माणको काममा ढिलाइ भएको हो ।’

त्यसबाहेक सडक क्षेत्रमा रहेका बिजुलीका पोल समयमा नहटाइँदा काम झनै प्रभावित भएको उनको भनाइ छ । निर्माणाधीन ओभरपासको लम्बाइ पाँच सय ५० मिटर, ग्राउन्ड क्लियरेन्स छ मिटर र उचाइ अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने जनाइएको छ । सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमला नदीसम्मको ८६.८३ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्न रु १५ अर्ब ६६ करोडको लागतमा सन् २०२० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म एक सय १२ वटा कल्भर्ट, २५ वटा पुलको ढलान सम्पन्न भइसकेको छभने १२ पुल सवारीका लागि खुलेका छन् । तर, म्याद सकिन दुई महिना बाँकी रहँदा समग्र प्रगति मात्र ६७ प्रतिशत भएको निर्माण कम्पनीले जनाएको छ । रासस

 

व्यापारिक केन्द्र बन्यो अपिको मकरीगाड

दार्चुला । सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ ।
विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको आर्थिक रुपान्तरणलाई गति दिएको छ ।
विसं २०६० देखि मकरीगाडमा व्यापार गर्दै आएका धनसिंह लोथ्याल सडक पुगेपछि अहिले मकरीगाडमा बजार व्यवसाय बढेको बताउँछन् । ‘यो क्षेत्रमा २२ वर्षदेखि होटल व्यवसाय गर्दै आएको छु, पहिले खाना खाने र बास बस्नेमात्रै व्यापार थियो’, लोथ्याल भन्छन्, ‘तर अहिले सबै किसिमको व्यापार मकरीगाडमा भइरहेको छ, बिहानदेखि साँझसम्म चहलपहल बढेको छ ।’  सडक पुगेपछि जिप र मालबाहक ट्रक दैनिक रूपमा मकरीगाडसम्म पुग्न थालेका छन् । पहिला मार्मा गाउँपालिकाको लटिनाथ–सेलविसा हुँदै हुने व्यापार अहिले मकरिगाडमा केन्द्रित भएको छ । लोथ्यालका अनुसार पारिबगरदेखि मकरीगाड सडक खण्डमा खुलेका अधिकांश होटल पसल बन्द भएका छन् ।
अपिहिमालका वडा नं १ देखि ५ सम्मका स्थानीयका लागि मकरीगाड अहिले मुख्य बजार केन्द्र बनेको छ । पहिले लटिनाथबाट पिठ्युँमा सामान बोकेर आउनुपर्ने बाध्यता हटेको छ । पहिले मार्माको सेलविसासम्म मात्रै सडक थियो । स्थानीय लटिनाथबाट पिठ्युँमा समान बोकेर आउँथे । सडक पुगेपछि सामान सबै यहीँ सहज पाउन थालेको लोथ्याल बताउँछन् । उनका अनुसार यहाँ व्यापारिक चाप बढेको छ । धनगढीबाट रात्रिकालीन आउने यात्रु जिपमार्फत बिहानै मकरीगाड पुग्छन् । अहिले विटुले–पारिबगर–मकरीगाड सडकखण्डमध्ये मार्माको पारिबगरसम्म सडक ग्राभेल गरिएको छ । पारिबगर क्षेत्रसम्म बस सेवा सञ्चालनमा छ । पारिबगरदेखि मकरीगाडसम्म सडक कच्ची भए पनि सामान बोकेका ट्रक मकरीगाडसम्म नियमित सञ्चालन हुने गरेका छन् ।
मकरीगाडभन्दा माथि सडक नहुँदा पनि अहिले यस क्षेत्रमा व्यापार व्यवसाय बढेको मकरीगाडमा व्यापार व्यवसाय गर्दै आएका विसनसिंह धामी बताउँछन् । अहिले यो क्षेत्र सबै प्रकारको व्यापारका लागि केन्द्रबिन्दु बनेको छ । स्थानीयले आफ्नो उत्पादन मकरीगाडसम्म बिक्री गर्न ल्याउँछन् । खण्डेश्वरी घुसाबाट स्थानीयले हरियो साँग, दूध दही मकरीकगाड बजारमा व्यापार गर्ने अवस्था बनेको छ । तराई क्षेत्रबाट खाद्यान्न लत्ताकपडा सहजै यहाँ पुग्ने गरेको छ । यहाँका होटल तथा पसल राम्रो चलेका छन् ।
‘विद्युत् नबनेको भए सायदै अहिले नै सडक पुग्थ्यो’, धामीले भने, ‘यो सडक कालोपत्र भयो भने अझै यहाँको व्यापार राम्रो हुन्थ्यो ।’ अहिलेकोभन्दा सस्तो मूल्यमा सामान मकरीगाडमा उपलब्ध हुनेछ । खाद्यान्न उत्पादन न्यून हुने अपिहिमालका चार वडाका लागि अहिले तराईबाट सहजै खाद्यान्न मकरीगाड पुग्ने गरेको छ । विकास निर्माणमा चाहिने छड, सिमेन्टदेखि दैनिक उपभोग्य सामानको सहज उपलब्धता मकरीगाडमा पुगेको व्यापारी धनसिंह जागरी बताउँछन् । अहिलेको अवस्थामा अझै सडक स्तरोन्नतिको खाँचो छ ।
व्यापारी जागरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, छडलगायत दैनिक उपभोग्य सामग्री मकरीगाडमै सहज उपलब्ध छन् । सडक स्तरोन्नति र भाडादर समायोजनको आवश्यकता अझै रहेको उनले बताए । तराईबाट आउने ट्रकहरूले अहिले अपिहिमालमा उत्पादित राज्मा, भटमास, आलु, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म लैजान थालेका छन् । यसरी पहाड र तराईबीच दोहोरो व्यापार सहज बनेको छ ।
तराईबाट समान लिएर आउने ट्रकले सिजनमा पहाडको उत्पादन तराई पु¥याउन थालेका छन् । अपिहिमालमा उत्पादन हुने राज्मा, भटमास, कोदो, आलु, स्याउ र जडीबुटी तराई पठाउन सहज भएको जागरीले बताए । पहाडको आलु, दाल, स्याउ धनगढीसम्म पुग्न थालेको छ। यो क्षेत्रमा सडकका कारण दोहोरो व्यापार सहज बनेको छ । सडक माथि उक्लिँदै गर्दा व्यापार पनि माथि सर्ने गर्छ । पहिले लटिनाथ सेलविसा व्यापारिक केन्द्र चहलपहल हुन्थ्यो । अहिले मकरीगाड बनेको छ । मकरीगाडबाट झण्डै एक दशमलव पाँच किलोमिटर सडक माथि उक्लिएको छ । अपिहिमालको केन्द्रसम्म सडक पुग्यो भने व्यापार फेरि माथि सर्नेछ । –नरेन्द्रसिंह कार्की

गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द

गुल्मी । गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खर्ज्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो । यहाँ रेसुङ्गा नगरपालिका‐१० को मैदानदेखि वडा नं ११ को जन प्राविसम्मको सडकमा आजदेखि सडक स्तरोन्नति सुरु गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी यही असोज २४ गतेदेखि कात्तिक २३ गतेसम्मका एक महिना सडक पूर्ण रूपमा बन्द हुने जनाएको होे ।

कार्यालयले उक्त समयसम्म वैकल्पिक सडकका रूपमा राङबास–फेदीसम्मका सवारीसाधनका लागि–मैदान–हर्राबोट–सपौदी हुँदै राङबास फेदी सडक र रिडी‐पाल्पा एवं अर्घाखाँचीतर्फ सञ्चालन हुने सवारीसाधनका लागि घुम्ती–चारपाला–खज्र्याङ तथा तम्घास–बलेटक्सार–रिडीको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयका प्रमुख दीपक खड्काका अनुसार निर्माणका क्रममा यात्रु र चालकको सुरक्षालाई ध्यानमा राख्दै सडक अस्थायी रूपमा बन्द गरिएको बताए । उनले निर्धारित समयावधिभित्र काम सम्पन्न गरी सडक शीघ्र सञ्चालनमा ल्याइने बताए ।

अझै ६ सडक पूर्ण रुपमा बन्द (सूचीसहित)

काठमाडौं । अझै देशका विभिन्न स्थानका ६ वटा सडक पूर्ण रुपमा बन्द छन् । आज (शुक्रबार) विहानसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला सडक र मकालु गाउँपालिका–३ एकुवाको सडक पूर्णरुपमा बन्द भएको छ ।

मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरुमा पनि सडक पूर्णरुपमा बन्द छन् । तमोर करिडोरअन्तर्गत पाँचथरको पाँचथर तुम्वेवा गाउँपालिका–२ नावाखोला सडक पनि बन्द छ । यता बागमती प्रदेशमा पनि दुई वटा सडकहरू पूर्ण रुपमा बन्द भएका छन् ।

पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन स्थानमा सडक बन्छ छ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११को माम्तिखोला, डालाबेसी, बल्ढुंगा, बाँझोखेतलगायतका ठाउँमा सडक पूर्णरुपमा बन्द छ । यी ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो । खुलाउने काम जारी छ ।
हेर्नुस् कुन–कुन सडक छन् बन्द ?

रातभरको प्रयासपछि राहत : आजदेखि खुल्दै बीपी राजमार्ग

काठमाडौं । लगातारको झरी र भेलबाढीले बन्द रहेको बीपी राजमार्ग आज (शुक्रबार) दिउँसो ४ बजेसम्म सञ्चालनमा आउने भएको छ ।सडक विभागको तर्फबाट रातभर डोजर चलाएर डाइभर्सन पुनर्निर्माण गरेपछि राजमार्ग सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको हो ।

गत असोज १७ र १८ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्गको ५.३ किलोमिटरमध्ये ३.४ किलोमिटर डाइभर्सन बगाएको थियो । सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले भने, ‘हिजो रातभर नसुती काम गर्‍यौ । माथिल्लो माम्तीमा ४०–५० टिपर माटो भरिसकेपछि त्यो पूर्ण हुँदैछ । तल्लो माम्तीमा खोला डाइभर्सनको काम भइरहेकाले आज दिउँसोसम्ममा राजमार्ग सञ्चालनमा ल्याउनेछौं ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार स्थलगत अवलोकन गरी काम छिटो गर्न निर्देशन दिएका थिए । त्यसयता काममा तीव्रता आएको इन्जिनियर दुर्गाले जनाए । पछिल्लो समय बिपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरू वैकल्पिक मार्गमार्फत् रामेछापको मन्थली, दोलखाको चरिकोट हुँदै खाडीचौरबाट अरनिको राजमार्ग प्रयोग गरी काठमाडौं आउजाउ गरिरहेका छन् । तर ती सडकहरू साँघुरा र कतिपय स्थानमा एकतर्फी हुँदा यात्रुहरू सास्तीमा परेका छन् ।

गत वर्ष पनि यस्तै बाढीले राजमार्गको करिब २४ किलोमिटर भाग क्षतिग्रस्त बनाएपछि हिउँदमा अस्थायी डाइभर्सनमार्फत सञ्चालनमा ल्याइएको थियो । यसपालि मनसुन सुरु हुनु अगावै सुधार गरिए पनि असोजको वर्षाले फेरि क्षति पुर्‍याएको हो । बीपी राजमार्ग विसं २०७२ मा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब लागतमा निर्माण गरिएको हो । निर्माण कार्य आर्थिक वर्ष २०५३/५४ मा सुरु भई २०७२ असार १८ गते सम्पन्न भएको थियो ।

आज कहाँ–कहाँ छन् सडक अवरुद्ध ? (सूचीसहित)

काठमाडौं । अविरल भारी वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अझै अवरुद्ध छन् । आज (बिहीबार) बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका नौं ठाउँका सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीन सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् ।

प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–एकुवामा सडक अवरुद्ध भएको छ । बाढीले इलामको मेची राजमार्ग अन्तर्गत रहेका इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरू पूर्ण रुपमा अवरूद्ध भएको छ भने पाँचथरको तमोर करिडोर अन्तर्गत रहेका पाँचथर तुम्वेवा गाउँपालिकाको नावाखोला सडक पूर्णरुपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै बागमती प्रदेशअन्तर्गत रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरूद्ध रहेको छ । यस्तै, पहिरोले बीपी रागममार्ग अन्तर्गत रहेको काभ्रेको रोशी खोला गाउँपालिका–११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा, बाँझोखेतलगायतका स्थानहरूको सडक पूर्ण रुपमा बन्द रहेको छ भने बीपी राजमार्ग अन्तर्गत नै रहेको सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक सडक अवरूद्ध भएको छ ।

यस्तै कर्णाली प्रदेश अन्तर्गत रहेका हुम्लाको कर्णाली करिडोरको खर्पुनाथ गाउँपालिका–५ कुरिल्ला सडक र कालिकोटको पचाल झरना गाउँपालिका–८ जुगेनी खोलामा रहेको सडक पूर्ण रूपमा अवरूद्ध रहेको छ । कोशी लोकमार्ग अन्तर्गत रहेको साँगुरीगढी गाउँपालिका–१स्थित चनौटे, ६ घण्टे र सिमसुवागरी तीन ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा आएको छ । यस्तै बागमती प्रदेश अन्तर्गत मकवानपुरको कान्तिलोकपथ सडकका भिमफेदी गाउँपालिका–८ वगुवा खोला र बकैया गाउँपालिका–११ घटेपाखा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

हेर्नुस् अवरुद्ध राजमार्ग र सडकको विवरण

 

एक दशकमा पनि पूरा भएन १३ किलोमिटर सडक

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशकमा पनि पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण निर्धारित समयमा काम पूरा नभएको हो । विसं २०७३ जेठ १३ भित्रमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको दैलेखस्थित मध्यपहाडी लोकमार्ग कार्यालयका सूचना अधिकारी नवीन खरालले बताए ।

लोकमार्ग अन्तर्गतको उक्त खण्ड कालोपत्र गर्न रु ४२ करोड ९९ लाख चार हजारमा सम्झौता भएको हो । पटक–पटक म्याद थपेर सम्झौताअनुसारको काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले बताए ।
‘मध्यपहाडी लोकमार्गमा धेरै सवारी साधान चल्न थालेका छन्, दैनिक सयौँ यात्रु यही मार्गबाट यात्रा गर्छन्, पातिहाल्नेदेखि रुपगासम्म कालोपत्र गर्न सबै तयारी भएको थियो, तर लामो समयदेखि निर्माण कम्पनी नआउँदा बनेका संरचना पनि भत्किएका छन्’, सूचना अधिकारी खरालले भने ।

आज कहाँ–कहाँ छन् सडक अवरुद्ध ?

काठमाडौं । अबिरल वर्षा र बाढी–पहिरोको कारण आज (बुधबार) पनि देशका विभिन्न राजमार्गको सात ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । विभिन्न सडकका पाँच स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ ।

संखुवासभाको भोटखोला र मकालुमा कोशी राजमार्ग, इलामको इलाम नगरपालिका–९ मा मेची राजमार्ग, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका–११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ ।

त्यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकमा पनि पहिरोले सडक अवरुद्ध अवस्थामा छ । त्यसैगरी आज धनकुटाको पाख्रिवास नगरपालिका–५ मा मध्यपहाडी लोकमार्ग, धनकुटाकै साँघुरीगढी गाउँपालिकामा कोशी लोकमार्गमा एकतर्फी गाडी चलेका छन् ।

त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा खोलास्थित कान्ती लोकपथ, मकवानपुरकै बकैया गाउँपालिका– ११ घट्टेपाखामा पनि सवारी साधन एकतर्फी गुडिरहेका छन् । सिन्धुलीको मरिण गाउँपालिका– २ सिन्दुरेस्थित मदन भण्डारी राजमार्ग पनि आज एकतर्फी बन्द भएको छ । एकतर्फी बन्द भएका सडकमा चापमा गाडी चरिहेका प्रहरीले जनाएको छ ।

हेर्नुस् कुन राजमार्ग छन् अवरुद्ध ?

सडक संरचना पुनर्निर्माणमा १२ अर्ब बढी खर्च लाग्ने अनुमान

काठमाडौँ । असोज १८, १९ र २० गते परेको अबिरल वर्षा र त्यसबाट उत्पन्न बाढी तथा पहिरोले देशभरका विभिन्न राजमार्ग र सडक संरचनामा गम्भीर क्षति पुर्‍याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार क्षति भएका संरचनाको पुनर्निर्माणका लागि अनुमानित लागत करिब १२ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।

सबैभन्दा बढी क्षति मुख्य राजमार्गहरूमा पुगेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । मेची राजमार्ग मात्रै पुनर्निर्माण गर्न डेढ अर्ब रुपैयाँ खर्च लाग्नेछ । कोशी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी सडक, अरनिको राजमार्ग, कान्ति लोकपथ, नारायणघाट–मुग्लिङ मार्ग लगायतका सडकहरू मर्मतका लागि तीन अर्ब ७७ करोड रुपैयाँ लाग्नेछ ।

त्यस्तै, बाढी र पहिरोले क्षति पुर्‍याएका १७ वटा स्थायी पुलहरू पुनर्निर्माण गर्न चार अर्ब ५२ करोड रुपैयाँ, बेलिब्रिजहरूका लागि ८० करोड रुपैयाँ र वैकल्पिक सडक निर्माणमा एक अर्ब ५९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढी–पहिरोबाट अवरुद्ध भएका सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको र तत्काल मर्मतका लागि उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन् । उनका अनुसार सडक सञ्चालनको काममा सम्बद्ध निकायहरू सक्रिय रूपमा जुटिरहेका छन् भने नियमित अनुगमन पनि भइरहेको छ ।

अवरुद्ध भोजपुर–लेगुवा सडक सञ्चालनमा

भोजपुर । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक एकतर्फी सञ्चालनमा आएको छ । यो सडक खण्डको विभिन्न ठाउँमा झरेको पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याएको हो । यातायात अवरुद्ध हुँदा अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन् ।

बर्सातसँगै पहिरो खस्ने, सडक धसिने र दुर्घटनाको सम्भावना उच्च देखिएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । मध्य पहाडी राजमार्गअन्तर्गत देउराली–चखेवा सडक खण्डको शिरदलीमा झरेको ठूलो पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए । यो सडकलाई पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

हेटौंडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

बागमती । अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।

उनका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरी निरीक्षक सापकोटाले बताए । बगाएको सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको उनको भनाइ छ ।

यस्तै हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ सडकमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको प्रहरी निरीक्षक सापकोटाले बताए । ठाउँ–ठाउँमा खसेको पहिरो पन्छ्याउने र सडक मर्मतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

गुल्मी । सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो ।

सडकमा थुप्रिएको चट्टानसहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडक खण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।

काठमाडौंको कोहिनुर हाउजिङ आसपासका घर जोखिममा, सडक भासियो {तस्वीरहरु}

काठमाडौं । काठमाडौं महानगरपालिकाको करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको छ । आज रातिबाट अविरल झरी पर्दा बिहान ९ बजे काठमाडौँ महानगरपालिका–१४ कोहिनुर हाउजिङ नजिकै करखुसी खोलाको छेउमा पहिरो गएर सडक भासिएको हो ।

सडकको छेउमा लगाइएको वाल भत्किएपछि कटान सुरु भएको छ। सडक भासिँदा सडक छेउका घरहरू जोखिममा पर्न सक्ने सम्भावना बढेको छ । त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागले नदी कटान रोक्ने प्रयास भइरहेको काठमाडौं महानगरले जनाएको छ ।

बस्तीमा डुबानको कारण समस्या भए नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी गरिएको छ । महानगरले जोखिमयुक्त बस्तीहरूलाई सतर्क रहन अनुरोध गरेको छ ।

सोल्टीमोडमा भासियो सडक, घर नजिकै पुग्यो खोला

काठमाडौं । काठमाडौंको सोल्टीमोडको पश्चिमतर्फ स्युचाटार खोलाले गर्दा सडक भासिएको छ । काठमाडौँ महानगरपालिकाले दिएको जानकारीअनुसार खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी बाँकी राखेको छ ।

महानगरपालिकाका अनुसार अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ ।
कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः

–१६६००१०५५११
–०१५९०१७६४
–०१५९०१७६३ (केएमसी प्रहरी)

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो। अहिले सडक दुईतर्फी नै अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, आज बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखेलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको हो । प्रहरी, स्थानीयबासिन्दा र यात्रुको प्रयासमा त्यो ठाउँमा बाटो खुलाइएको थियो ।

तर फेरि माथिबाट पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन । यो सडक खण्डमा पटक–पटक पहिरो खसेर बाटो अवरुद्ध हुँदा यात्रुहरुले सास्ती पाउँदै आएका छन् ।

 

हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा राति गाडी चलाउन रोक

बागमती । हेटौंडा–काठमाडौँ जोड्ने दुई सडकमा आज (शुक्रबार) देखि तीन दिनसम्म बेलुकाको समयमा गाडी चलाउन रोक लगाइएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिइन् ।

जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गर्दै प्रजिअ श्रेष्ठले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीमा धनजनको क्षति हुन नदिन सबै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।

विपद् पूर्व तयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ ।

काठमाडौंका सडक सुनसान

काठमाडौं । विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन् । काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ । दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ ।

साढे पाँच लाखले छाडे उपत्यका, सुनसान बन्दै सडक

काठमाडौं । दसैंको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले संघीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।’ साथै दसैँको अवधिमा काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् ।
घट्दै काठमाडौं उपत्यकाको चहलपहल
राजधानीमा रहेका धेरै सर्वसाधारण दसैँ मनाउन आफ्नो स्थायी ठेगानामा गएको तथा यहाँका स्थानीय पनि घरबाहिर ननिस्कँदा काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ ।
फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । तर महाअष्टमीबाट भने सुनसान हुँदै गएको हो ।  उपत्यकाका सडकमा सवारी साधन न्यून चलेका छन् ।
ट्राफिक प्रहरीका अनुसार यस वर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । सो दिन मात्रै करिब डेढ लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए । काठमाडौँमा बडादसैँको टिकाको दिनदेखि भने फेरि चहलपहल बढ्ने गरेको छ ।

बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी । पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ । पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले जानकारी दिए । सडक खुलेसँगै अलपत्र परेका यात्री बोकेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेतमा सामान्य वर्षा हुँदा पनि पहिरोको जोखिम हुने गरेको उनी बताउँछन् । पटक–पटकको पहिरोका कारण जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ भने स्थानीय तहमा निर्माणाधीन सडक, विद्युत् सबस्टेशन, प्रसाररण लाइन र जलविद्युत् आयोजना प्रभावित भएका छन् ।

सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने

काठमाडौं । सडक र पुल निर्माणका लागि सम्झौता गरिएका तर काम नगरी अलपत्र परेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन् । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्कामा यो कदम चालिने भएको हो ।

दमक कार्यालयअन्तर्गत ३८, काठमाडौं ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्ग १७ वटा ठेक्का रुग्ण अवस्थामा छन् । आयोजनातर्फ काम नगरी ठेक्का रुग्ण बनाउन संलग्न तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखसँग छलफल गर्दै रुग्ण ठेक्का तोड्ने कदम अपरिहार्य भएको बताएका छन् ।

मन्त्री घिसिङका अनुसार, ‘सडक निर्माणका लागि राज्यले प्रत्येक वर्ष ठूलो रकम खर्च गरिरहेको छ, तर नागरिकले लाभ प्राप्त गर्न सकेका छैनन् । ठेक्का व्यवस्थापन शून्य जस्तो देखिएको छ । कतिपय निर्णय कर्मचारीले समयमै नगर्दा ठेक्का रुग्ण बनेका छन् । यस्ता कर्मचारीमाथि पनि छानबिन गर्नुपर्छ ।’

उनले भने, ‘रुग्ण ठेक्कामा संलग्न निर्माण व्यवसायीलाई कसैले प्रलोभन दिन सक्दैनन्। तपाईंहरूले स्वतन्त्रतापूर्वक ठेक्का तोड्नुहोस । यस कदमले सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । म तपाईंलाई पूर्ण संरक्षण गर्नेछु ।’

निर्माण सम्झौता अनुसार समय थप भए पनि प्रगति कम भएका ठेक्कालाई रुग्ण मानिएको छ । उदाहरणका लागि दुई करोडभन्दा बढी सम्झौता भएको ठेक्कामा ५० प्रतिशतभन्दा कम प्रगति भएमा रुग्ण ठेक्का मानिनेछ । त्यस्तै, २–४ सय प्रतिशत समय म्याद थप भए पनि प्रगति ८०–९५ प्रतिशतभन्दा कम भएको ठेक्कालाई रुग्ण ठेक्का मानिने प्रावधान छ ।

मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयमा अनियमितता, ढिलासुस्ती, घूस माग्ने वा सेवाग्राहीलाई दुःख दिने कर्मचारीमाथि तत्काल कारबाही हुने स्पष्ट पारेका छन् । उनले कर्मचारीलाई पनि निर्देश दिएका छन् । कसैले आफ्नो नाम बेचेर अनावश्यक दुःख पुर्‍याएमा तुरुन्त जानकारी गराउन ।

दशैंका बेला यस्तो छ सूर्यविनायक–धुलिखेल सडकको अवस्था {तस्वीरहरु}

काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले सुस्त गतिमा चल्दा दशैंको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो, हिलो झेल्नु परेको छ ।
भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तारको कार्य २०७९ पुस २४ बाट सुरु गरी ३६ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिए पनि हालसम्म सडक विस्तार कार्य सम्पन्न हुन सकेको छैन।

सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ। यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ ।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दाया–ँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गरेको थियो र सोही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए । संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिक समेत काठमाडौं आवतजावत गर्दै आएका छन् ।

तस्वीरहरु 

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, गाडीको लामो जाम

काठमाडौँ । मंगलबारदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै तुइन खोलामा खसेको पहिरो पन्छाएसँगै गए राति साढे १० बजेदेखि सडक सञ्चालनमा आएको हो ।

सडक सञ्चालन भएसँगै रोकिएका सयौँ गाडी गन्तव्यतर्फ लागेका छन् । रोकिएका गाडी आलोपालो सञ्चालन भइरहेकाले लामो जाम भएको छ। यसअघि पनि पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन र लेन अनुशासनको पालना गर्न प्रहरीले आग्रह गरेको छ ।

मुग्लिन–नारायणगढ सडक हुँदै दैनिक १० हजार बढी गाडी गुड्ने गर्छन् । काठमाडौँ ओहोरदोहोर गर्ने अरू मुख्य सडकहरुमा यतिबेला निर्वाध रुपमा गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति साढे १० बजे पहिरो पन्छाउने काम सकिए लगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो ।

पहिरो पन्छाउने काम बुधबार (हिजो) बिहानबाट मात्र थालिएको थियो । बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो । यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।

सडकमा सवारी साधनहरूको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ । काठमाडौं जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै सास्ती बेहोरे । अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भए ।

मुख्य सडकको दुर्दशा : चाडबाडमा घर फर्किनेलाई सास्ती

काठमाडौं । बर्खाले भत्किएका र खाल्डा परेका सडक समयमै मर्मत सम्भार नहुँदा यो बर्ष पनि चाडबाडको मुखमा सर्वसाधरणले यात्रामा समस्या भोग्नु परेको छ । काठमाडौं उपत्यकाबाट दशैं मनाउनेहरुलाई सुरक्षित रुपमा घर पुगिने हो कि होइन भन्ने चिन्ता छ । वीपी राजमार्गमा जेनतेन गाडी चलिरहेको भए पनि अहिले नारायणगढ–मुग्लिन सडकले चालक र यात्रु सबलाई दुःख दिइरहेको छ । कतिबेला पहिरो झरेर कहाँ अलपत्र पर्नुपर्ने हो ? सडकमाथिबाट खस्ने ढुङ्गाले कसलाई लाग्ने हो मनमा सँधै चिन्ता लिएर यात्रा गर्नुपर्ने वाध्यता छ ।

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन सुरु
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने काम आज –बुधबार) बिहानबाट थालिएको छ । पहिरो पन्छाउन आज दिनभर लाग्न सक्ने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । मंगलबार दिउँसो करिब ४ः५० बजेतिर ठूलो पहिरो खसेका कारण सडक आवागमन दुईतर्फी नै बन्द भएको छ ।

त्यसैले सबै सवारी धनी, चालक एवम् यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा मंगलबार खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनका एसपी गोविन्द पुरीले बताए ।

एसपी पुरीले भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’

पहिरो खसे लगत्तै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । सडकमा सवारी साधनहरुको लामो जाम देखिन्छ । सवारी साधनहरुको लाइन कुरिनटारसम्मै देखिन्छ ।
समयमै ध्यान नदिंदा मुख्य सडककै दुर्दशा
देशका मुख्य राजमार्ग पहिरोले भत्किँदा र ठुल्ठूला खाल्डाखुल्डी हुँदा सवारीसाधन चलाउन समस्या भएको छ । जसकारण दशैंका बेला गाउँघर फर्केका सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

पृथ्वी राजमार्ग, नारायणगढ–बुटवल सडकखण्ड, अरनिको राजमार्ग, पासाङल्हामु राजमार्ग, पूर्व–पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी परेकाले सवारीसाधनमा यात्रा गर्नेले सास्ती खेपेका हुन् । बर्खामा गएको पहिरोले सडक कटान गर्दां तथा माटोढुंगा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् । जसकारण लामो दूरीका सडकमा यात्रु गर्ने घण्टौं जाममा पर्नुपरेको छ ।

अहिले लामो दूरीका सबैजसो सडक कहीँ न कहीँ भत्किएका छन् । सडकमा खाल्डाखुल्डी तथा एकतर्फ हुँदा दशैँका घर फर्कने यात्रुहरूले दुःख पाइरहेका छन् । वर्षात भर्खर सकिएकाले सडक तत्काल मर्मत गर्न कठिन भइरहेको सडक विभागले जनाएको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो समयमा सबैजसो सडक एकतर्फी रूपमा सञ्चालन भएको जानकारी दिए । उनले भने, ‘अहिले सबैजसो सडकमा खाल्डाखुल्डी छन्, कहीँकतै पुर्ने काम पनि भइरहेको छ, पानी परिरहेका कारण समयमै सडक मर्मत गर्न नसकिएको हो ।’

सडक अप्ठ्यारो भएर यात्रा गर्न कठिन हुने भएपछि महँगो भए पनि सर्वसाधारणले हवाई यात्रा रोज्न थालेका छन् । लामो दूरीको सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेको र समयमै गन्तव्यमा पुग्न नसकिने अवस्था भएपछि हवाई यात्रा गर्नेहरूको संख्या बढेको हो । दशैँ सुरु भएसँगै अन्य दिनको तुलनामा हवाई यात्रा गर्नेको संख्या दोब्बर छ ।

यो समयमा वायुसेवा कम्पनीहरूले अन्य समयमा भन्दा बढी उडान भर्न थालेका छन् । दशैँ सुरु भएयता बुद्ध एयरले दैनिक एक सय ४२ भन्दा बढी उडानमार्फत नौ हजारभन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले १५ वटा जहाजमार्फत उडान भर्दै आइरहेको जानकारी दिए । यो वर्ष दसैँका टु–वे नै यात्रुको चाप उस्तै रहेको उनको भनाइ छ ।

बेहाल नारायणगढ–बुटवल सडक
नारायणगढ–बुटवल सडकखण्ड निर्माण कार्य सुरु भएको साढे दुई वर्षमा आठ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । ठेकेदार कम्पनीकै ढिलासुस्तीले पूर्व–पश्चिम जोड्ने राजमार्ग चौडा तथा मर्मत कार्य समयमै हुन नसकेको हो । लामो समयदेखि निर्माण कार्य सुरु भएको सडकखण्ड नबन्दा दशैँको वेला घर फर्कने यात्रुहरूले निकै सास्ती खेप्नुपर्ने भएको छ । करिब तीन घण्टामा पार गर्न सकिने यो सडक खण्ड अहिले पार गर्न पाँच घण्टाभन्दा बढी समय लाग्छ ।

चितवन नारायणगढदेखि बुटवलसम्म पुग्दा कैयौँ खाल्डाखुल्डी छन् । ०७५ फागुनमा सुरु भएको यो आयोजनाको म्याद ०७९ साउनमा सकिँदै छ । तर, ४२ महिनाको समय सीमा राखेर निर्माण कार्य भइरहेको यो सडक खण्डको प्रगति जम्मा आठ प्रतिशत मात्रै भए पनि एक अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको छ । सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडलाई दिइएको छ ।

ठेकेदार कम्पनीले दुई खण्ड छुट्याएर सडक चौडा पार्ने कार्य सुरु गरेको थियो । जसमा पूर्वी–खण्डअन्तर्गत नारायणगढदेखि दाउन्नेसम्म ६५ किमि र पश्चिम–खण्डमा दाउन्नेदेखि बुटवलसम्म ४८ किमि सडक पर्छ । तर, दुवै खण्डको कार्य प्रगति हेर्दा जम्मा आठ प्रतिशत मात्रै काम भएको सडक विभागले जनाएको छ ।

विभागका प्रवक्ता शिवप्रसाद नेपालले यो वर्ष अत्यधिक वर्षा भएकाले सडक चौडा तथा मर्मत कार्य ढिलो भएको बताए । हाल २२ वटा पुल र एक सय २० वटा कल्भर्टको काम भइरहेको छ । बुटवलतर्फ १३ किमि मात्रै सडक चौडा पारिएको छ । दुवै खण्डतर्फ ४५ जना चिनियाँ र पाँच सय हाराहारी नेपाली कामदार खटिएका छन् । आगामी चार महिनाभित्र सडक साइटका बिजुलीका पोल हटाउने लक्ष्य राखिएको छ ।

सडक असुरक्षित छ : सरोज सिटौला
दशैँ सुरु भएसँगै आमसर्वसाधारण गाउँघर फर्कने क्रम बढेको छ । गन्तव्यमा सहजै पुग्न उनीहरू भरपर्दो सडक–सवारीको खोजीमा छन् । तर, हाम्रो सडक हेर्दा यात्रा गर्न मन नलाग्ने किसिमका छन् । दशैँको मुखमा सडक नबनाउँदा आमयात्रु व्यवसायीहरूले दुःख खेप्नुपर्छ ।

दशैंको बेलामा बाहिरिने र उपत्यका भित्रिनेको संख्या उस्तै
हरेक वर्ष घटस्थापनापछि उपत्यका बाहिरिनेको संख्या बढ्छ । यस अवधिमा निकै कम मानिस काठमाडौं प्रवेश गर्छन् । तर, यो वर्ष दशैँ सुरु भएसँगै उपत्यका बाहिरिने र भित्रिनेको संख्या उस्तै छ । घटस्थापना सुरु भएदेखि उपत्यका प्रवेश गर्नेको संख्या पनि बढेको छ । दशैँको वेला बाहिरिने यात्रुहरूको संख्या बढी हुनुपर्नेमा भित्रिनेको संख्या पनि बढेको देख्दा ट्राफिक प्रहरीले संख्याबारे अनुमान गर्न सकेको छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० असोजयता आइतबार साँझसम्म पाँच लाख ९० हजार ९९ जना यात्रु बाहिरिएका छन् । उपत्यका भित्रिनेको संख्या पाँच लाख एक हजार नौ सय छ । दशैैँका वेला उपत्यका भित्रिनेको संख्या बढी हुनुमा वैदेशिक रोजगार हुन सक्ने प्रहरीको अनुमान छ ।

‘जति मानिस उपत्यका बाहिरिएका छन्, त्यति नै संख्यामा भित्रिएका छन्, यो वर्ष कति यात्रुले उपत्यका छाड्छन् भन्ने अनुमान गर्न मुस्किल छ,’ महाशाखाका एसपी सञ्जीव शर्मा दासले भने, ‘विगतका वर्षमा भन्दा यो वर्ष दसैँ मनाउन जानेको संख्या कम हुने हाम्रो अनुमान छ, जति बाहिरिएका छन् उति नै भित्रिएका पनि छन् ।’ उनका अनुसार बिहीबार करिब ६० हजार र शुक्रबार ५० हजार मानिस बाहिरिएका छन् । फूलपातीदेखि यो संख्या दोब्बर हुने अनुमान गरिएको छ ।

साढे ११ किलोमिटर भैंसे–भीमफेदी सडक पार गर्न एक घण्टा
भैंसे–भीमफेदी सडकखण्ड अलपत्र अवस्थामा छ । ११.५ किलोमिटर सडक पुनर्निर्माणको काम एक वर्षअघि सुरु भएको थियो । काठमाडौंबाट हेटौँडा हुँदै तराईका विभिन्न जिल्ला आवतजावतका लागि प्रयोग गरिने यो सडक पुनर्निर्माणको काम अलपत्र हुँदा यात्रुले सास्ती भोग्नु परेको छ । दैनिक पाँच सयभन्दा बढी साना सवारीसाधन आवतजावत गर्ने सडक अलपत्र हुँदा दशैँका लागि काठमाडौंबाट घर फर्किने यात्रुले बढी समस्या भोग्नुपर्ने अवस्था छ ।

साढे तीन घण्टामा काठमाडौं–हेटौँडा यात्रा गर्न सकिने सडक भैँसे–भीमफेदीमा ११.५ किमि अलपत्र हुँदा पाँच घण्टा बिताउनुपर्ने बाध्यता रहेको टाटासुमो चालकहरू बताउँछन् । यो सडकमार्फत तराईका विभिन्न जिल्ला र हेटौँडाबाट सयौँ टाटासुमोमा यात्रुले आवतजावत गर्दै आएका छन् । ‘विगतमा भैँसेबाट भीमफेदी पुग्न २० मिनेट लाग्थ्यो, अहिले सडक भत्काइएको र डाइभर्सनबाट यात्रा गर्नुपर्ने बाध्यताका कारण एक घन्टा लाग्ने गरेको छ,’ टाटासुमोचालक कृष्ण श्रेष्ठले भने ।

नारायणगढ–मुग्लिन सडक यात्रा मौसमको भरमा
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गलाई मुलुकको लाइफलाइनका रूपमा लिने गरिन्छ । तर, यी दुवै राजमार्ग भएर यात्रा गर्न भने निकै जोखिमपूर्ण छ । सामान्य झरीमै सडकमा माथि पहाडाबाट पहिरो खस्ने गर्छ । त्यस बाहेक सडक भासिने अर्को समस्या हो । दुवै सडक खण्डकमा ठाउँठाउँमा भासिएको देख्न सकिन्छ । जसले गर्दा पनि यात्रुले कष्टकर महसुस गर्ने गरेका छन् ।

नदी र पहाडको बीचको सडक भएकाले पनि यो सडक यात्राका लागि जोखिमपूर्ण मानिन्छ । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख भगवानराज थापाले मौसमले साथ दिएमा यो सडक हँुदै यात्रा गर्न सहज रहेको बताए । वर्षा भएमा पहिरो र सडक भासिने समस्या भने कायम रहेको उनको भनाइ छ । नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग सडक केही ठाउँमा भासिए पनि सवारीसाधन आवतजावत भने रोकिएको छैन । तर, अझै पनि पानी पर्ने गरेकाले पहिरोको जोखिम भने कायमै छ ।

 

मुग्लिन–नारायणगढ सडक खुल्यो

काठमाडौं । मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा झरेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । मंगलबार बिहान करिब ५ः४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।

झण्डै १० घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए । ठूलो सुक्खा पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं आउनका लागि सडक विभागले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको थियो ।

 

नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कति ?

चितवन । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको छ । पहिरो ठुलो भएकाले पन्छाउन दिनभर लाग्ने देखिएको नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिएका छन् ।

उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ । चितवन र धादिङको सीमाना नजिक बाँदरेमोड भन्ने स्थानमा सुरुमा राति साढे १० बजेतिर पहिरो खसेको थियो । राति नै पहिरो पन्छाएर ११ बजेतिर एकतर्फी खुलाइएको थियो । तर साढे ११ बजेतिर पुनः पहिरो खसेर बाटो बन्द भयो । आज बिहान साढे २ बजेदेखि पुनः पहिरो पन्छाइरहेका बेला आज बिहान ५ बजे झन् ठूलो पहिरो खसेर बाटो ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

हाल तीवटा साना मेशिन पहिरो पन्छाउन परिचालन गरिएको छ । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काम गर्न सकिएको छैन । पहिरो खस्न रोकिएपछि मात्र पन्छाउने काम सुरु हुने प्रहरीले जनाएको छ । रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेलाको सडकमा परेको गाडीको चाप सामान्य नहुँदै पुनः धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् । दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

नारायणगढ–मुग्लिन सडक आज दिउँसो बन्द हुने

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड आज (सोमबार) दिउँसो दुई घण्टा बन्द गरिने भएको छ । तुइन खोला पुल नजिक खसेको पहिरो सबै पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाइने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

तुइन खोला पुल छेउमा खसेको पहिरोका कारण गत शुक्रबारदेखि करिब ४० घण्टासम्म सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए । आइतबार अपराह्न करिब साढे चार बजेतिर सडक एकतर्फी खुलाइएको थियो । राति यात्रा गर्दा जोखिम हुने भएकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म पुनः सडक बन्द गरिएको थियो ।

आज बिहानसम्म पनि तुइन खोला पुल नजिकै मात्र सडक एकतर्फी सञ्चालनमा छ भने अन्य स्थानमा दुईतर्फी गाडी चलिरहेका छन् । दशैं मनाउन घर फर्किने क्रम अब बढ्ने भएकाले बाँकी पहिरो पनि हटाएर दुईतर्फी नै सडक सञ्चालन गर्ने तयारी गरिएको हो । लामो समयसम्म सडक बन्द हुँदा सवारीसाधनको चाप छ । लेन अनुशासन समेत पालना नहुँदा ठाउँठाउँमा जाम हुने गरेको छ । ट्राफिक प्रहरीले र सडक डिभिजन कार्यालय भरतपुरले लेन अनुशासनमा रहेर सवारी चलाउनु सबैलाई अनुरोध गरेका छन् ।

 

 

दशैंमा घर फर्किदै हुनुहुन्छ ? आज यी सडकहरू छन् अवरुद्ध (सूचीसहित)

काठमाडौं । दशैंका लागि घर फर्किदै हुनुहुन्छ ? त्यसो हो भनेर आफूले यात्रा गर्ने सडकको अवस्थाबारे जानकारी लिनु भयो भने तपाईलाई सहज हुनेछ । दशैँ पर्व सुरु भइसक्दा पनि वर्षा नरोकिंदा सडक यात्रा प्रभावित भएको छ । पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरु अप्ठेरोमा परेका छन् ।

आज बिहान ९ बजेसम्मको जानकारी अनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध छ ।

बाढीका कारण रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित नेपाल चीन नाका जोड्ने पुल पूर्णरुपमा बन्द भएको छ । पहिरोले पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड–२ कै बालुवाखानीस्थित सडक पूर्णरुपमा अवरुद् भएको छ ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित सडक पूर्णरुपमा बन्द भएको छ । अवरुद्ध भएका सडकहरू सुरक्षाकर्मीसहितको टोलीले खुलाउने प्रयास गरिरहेको छ । मुग्लिन–नारायणगढ सडक पनि लामो समयको प्रयासपछि एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ । रातिको समयमा भने जोखिम हुने भन्दै बन्द गरिएको थियो ।

४५ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइनखोलामा आएको पहिरो हटाउने काम सकिएको छ । सडक डिभिजन भरतपुरले दुवैतर्फबाट मेशिनहरू निरन्तर काम लगाएर पहिरो हटाइसकिएको र ४५ घण्टापछि सडक एकतर्फी आवागमन सुचारु गरिएको जानकारी दिएको हो ।
शुक्रबार साँझदेखि ठूलो पहिरो गएपछि त्यो क्षेत्र हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको थियो ।

शनिबार दिनभर पहिरो हटाउने प्रयास भएको भए पनि पहिरो आउन क्रम नरोकिएका कारण आइतबार बिहान ३ बजेसम्मलाई स्थगन गरिएको थियो । सडक डिभिजन कार्यालय, चितवनले नारायणगढतर्फ ३ वटा स्टाभेटर लोडर र मुग्लिङ तर्फ पनि ३ वटै स्काभेटर लोडर प्रयोग गरेर पहिरो पन्छ्याएको हो । माथिबाट पहिरो नखसेका कारण सडक सुचारु गर्न सकिएको सडक डिभिजन कार्यालय, चितवनका कार्यालय प्रमुख नारायणप्रसाद लामिछानेले बताए ।

कति बेला खुल्ला मुग्लिन–नारायणगढ सडक ?

चितवन । झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडक खण्डको पहिरो पन्छाउने काम विहानदेखि जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी छ । कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक खुलाउन सकिन्छ ।

अहिले मुग्लिनतर्फबाट २ वटा र नारायणगढतर्फबाट २ वटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले ४ वटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भइरहेको छ । इन्जिनियर आचार्यका अनुसार अहिले पनि सडकमा ३५ मिटर डिपोजिट पहिरो सडकमा छ । त्यसलाई सहज रुपमा हटाउन सके दिउँसोसम्म सडक खुलाउन सकिने उनले जानकारी दिए । ‘पहिरो बेलाबखत झरेको छ, जोखिम त यसै पनि छ, तर पनि हामी लागिरहेका छौं, काम गर्दागर्दै पनि कतिबेला थप आउँछ भन्ने अवस्था छैन’, इन्जिनियर आचार्यले भने, ‘माथिल्लो भागमा पत्रे चट्टान भएकाले समस्या भएको छ ।’

असोज ३ गते साँझ ६ बजेतिर गएको ठूलो पहिरो निरन्तर झरिरहेकोले मुग्लिनतर्फबाट नारायणगढ आउने र नाराणगढबाट मुग्लिनतर्फ जाने सयौं सवारी साधान बीच बाटोमा नै रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुरबाट जाने सवारीलाई टाँडी, भण्डारा, आँपटारी,जुगेडी, रामनगर क्षेत्रमा रोकिएको छ ।

काठमाडौंबाट आउने सवारीलाई कुरिनटार, मुग्लिन, फिस्लिङमा रोकिएका छन् । मुग्लिन बजारमा रहेका यात्रुलाई जेसीज इच्छाकामनाको अगुवाइमा निःशुल्क पानी, खाना र खाजा वितरण गर्न थालिएको छ । नारायणगढतर्फबाट पनि विभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिहरुको सहयोगमा यात्रुहरुलाई चाउचाउ, विस्कुट, पानी बाँड्ने काम गरिएको छ । यातायात मजदुरहरुलाई यातायात व्यवसायीहरुले निःशूल्क खाना र खाजाको व्यवस्था मिलाएको जनाएका छन् ।

 

नारायणगढ–मुग्लिन सडक आज रातभर नखुल्ने, पहिरो पन्छाउन रोकियो

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड आज (शनिबार) पनि रातभर नखुल्ने भएको छ । सडक खण्डको पहिरो पन्छाउने काम आज (शनिबार) साढे ६ बजेदेखि रोकिएको छ ।

लगातार पहिरो खसिरहेको कारण पन्छाउन जोखिम भएकाले आजको लागि काम रोकिएको चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । रातको समयमा बत्तीको सहाराले भए पनि पहिरो पन्छाउने तयारी गरिए पनि साढे ६ बजे नै ठूलो पहिरो खसेपछि जोखिमका कारण पहिरो पन्छाउन रोकिएको हो ।

उनले पहिरो पन्छाउने काम भोलि बिहानैदेखि सुरु गर्ने जानकारी दिएका छन् । आज रातभर पहिरो नखसेको अवस्थामा भोलि दिउँसोदेखि यातायात सञ्चालन गर्न सकिने अनुमान गरिए पनि पहिरो निरन्तर गइरहेका कारण यातायात पन्छाउने कतिबेला सकिन्छ भन्ने यकिन नभएको एसपी पुरीले बताए ।

नारायणगढ–मुग्लिन सडकको तुइनखोला नजिक पहिरो खसेको कारण चितवन भएर गुड्ने एक हजारभन्दा बढी गाडी सडकमा अलपत्र परेका छन् । तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको छ । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ।

हिजो दिउँसो ४ बजेदेखि नै रोकिएका यात्रुलाई खानेकुरा पानी लगायतको समस्या भएपछि आज जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा यात्रुहरुलाई पानीसहित खानेकुुरा वितरण गरिएको छ । दशैंको मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको थियो । मन्त्री कुलमान घिसिङले राजमार्ग खुलाउन र वैकल्पिक व्यवस्था समेत गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

दाउन्ने सडकमा दशैंभर ठूला गाडी चलाउन रोक

बुटवल । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला गाडी (१२ चक्के र सोभन्दा माथि) चलाउन रोक लगाइने भएको छ ।

आज (शनिबार) दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडक खण्डमा दशैंको अवधिभर यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएकाले ठूला भारवाहन सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो । त्यसका लागि सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

ऊर्जा र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिकमन्त्री कुलमान घिसिङको सचिवालयले दिएको जानकारी अनुसार, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरू ढुवानी गर्ने सवारी साधनलाई भने निरन्तर आवागमन हुने व्यवस्था गर्ने निर्णय भएको छ । गत असारमा पनि यो सडक खण्डमा वर्षापछि भएको हिलोका कारण दुई दिनसम्म सवारी आवतजावतमा समस्या भएको थियो ।

काठमाडौँका सडकमा बढ्न थाल्यो चहलपहल

काठमाडौं । जेन्जी आन्दोलनको कारण बुधबारदेखि सुनसान बनेको काठमाडौँको सडकमा आज ( शुक्रबार) भने चहलपहल बढेको छ । सकडमा गाडीहरूको चाप बढेको छ । बिहान खुलेका पसलहरूमा किनमेल गर्नेहरू उल्लेख्य संख्यामा देखिएका छन् ।

चोकचोकमा ट्राफिक प्रहरीले आजबाट उपस्थिति देखाएको छ । सडकमा प्रहरी पनि देखिन थालेका छन् । हिजोसम्म सडक सेनाले नियन्त्रणमा लिएको थियो । सडकमा सार्वजनिक यातायातको आवतजावत नदेखिएता पनि निजी तथा अत्यावश्यक सेवाका साधनहरूको चाप छ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र सुनुवाइ गर्न थालेको छ ।

नेपाली सेनाले आज शुक्रबार बिहान ६ बजे देखि ११ बजेसम्म र साझ ५ बजे देखि ७ बजे सम्मको लागि कफ्र्यु खोलिदिएको छ । शव कसको हो भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
भाटभटेनीमा अरू तीनजना हराइरहेको जानकारी आएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । शव जलेको अवस्थामा कंकाल मात्रै फेला परेको छ । कसको हो भन्ने विषयमा पहिचान हुन सकेको छैन ।

सडकमा सेनाको सुरक्षा, सफाइमा जेनजी

काठमाडौं । आन्दोलनकारीको कब्जामा रहेको राजधानी काठमाडौं आज सेनाले नियन्त्रणमा लिएको छ । सेनाले सुरक्षाको नेतृत्व लिएपछि हिजोभन्दा आज काठमाडौंको अवस्था सामान्य बन्दै गएको देखिन्छ ।

सडकका चोक चोकमा सैनिकहरूले पहरा दिइरहेका छन् । कर्फ्यू आदेश जारी भएकाले सवारीसाधनहरू नगण्य मात्रामा मात्रै चलेका छन् । सेनाले अत्यावश्यक कामका लागि हिँडेकाहरूलाई उनीहरूको परिचयपत्र हेरेर आउन–जान अनुमति दिइरहेका छन् । आम मानिसहरु भने आ–आफ्नो घरभित्रै छन् ।

यस्तै जेनजीको आन्दोलन पनि मत्थर बनेको छ । अहिले जेनजी युवाहरुले काठमाडौंका सडक सफा गरिरहेका छन् । आन्दोलन, तोडफोड र आगजनीका क्रममा भएको फोहोर सफा गर्न युवाहरु खटिएका हुन् । उनीहरुले अहिले मीनभवन, बानेश्वर सडकखण्डमा सफाइ गरिरहेका छन् ।

सडक र सडक किनारमा छरिएका प्लास्टिक, कागज, पानीका बोतल लगायतका फोहोर उनीहरु उठाइरहेका छन् । सडकमा जलाइएका मोटरसाइकल, टायरहरु पनि उनीहरुले पन्छाइरहेका छन् । सडक सफाइमा खटिएकाहरुले ‘हामी यो देशका नागरिक हौं, अरू केही होइन’ भनेका छन् ।

आज यी १३ स्थानमा छन् सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

पासाङल्हामु राजमार्गको गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी–त्रिशुली–मैलुङ सडक बन्द छन् । ढोरपाटन– सालझण्डी, बेनी– दरवाङ सडक, भेरी करिडोर,कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट–डोल्पा सडकखण्ड पनि बन्द छन् । सुरक्षाकर्मी सडक खुलाउन परिचालन भएका छन् । बाढीपहिरोका कारण बन्द भएका देशका विभिन्न भागका आठ सडकमा एकतर्फी सवारीसाधन सञ्चालन भएका छन् ।