सडक संरचना पुनर्निर्माणमा १२ अर्ब बढी खर्च लाग्ने अनुमान


काठमाडौँ । असोज १८, १९ र २० गते परेको अबिरल वर्षा र त्यसबाट उत्पन्न बाढी तथा पहिरोले देशभरका विभिन्न राजमार्ग र सडक संरचनामा गम्भीर क्षति पुर्याएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार क्षति भएका संरचनाको पुनर्निर्माणका लागि अनुमानित लागत करिब १२ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।
सबैभन्दा बढी क्षति मुख्य राजमार्गहरूमा पुगेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । मेची राजमार्ग मात्रै पुनर्निर्माण गर्न डेढ अर्ब रुपैयाँ खर्च लाग्नेछ । कोशी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी सडक, अरनिको राजमार्ग, कान्ति लोकपथ, नारायणघाट–मुग्लिङ मार्ग लगायतका सडकहरू मर्मतका लागि तीन अर्ब ७७ करोड रुपैयाँ लाग्नेछ ।
त्यस्तै, बाढी र पहिरोले क्षति पुर्याएका १७ वटा स्थायी पुलहरू पुनर्निर्माण गर्न चार अर्ब ५२ करोड रुपैयाँ, बेलिब्रिजहरूका लागि ८० करोड रुपैयाँ र वैकल्पिक सडक निर्माणमा एक अर्ब ५९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढी–पहिरोबाट अवरुद्ध भएका सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको र तत्काल मर्मतका लागि उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन् । उनका अनुसार सडक सञ्चालनको काममा सम्बद्ध निकायहरू सक्रिय रूपमा जुटिरहेका छन् भने नियमित अनुगमन पनि भइरहेको छ ।