साढे पाँच लाखले छाडे उपत्यका, सुनसान बन्दै सडक

प्रमुख खबर

काठमाडौं । दसैंको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले संघीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, ‘यात्रुको सहजता र सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।’ साथै दसैँको अवधिमा काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारी साधनबाट दुई लाख ८५ हजार ३०८ जना भित्रिएका छन् ।
घट्दै काठमाडौं उपत्यकाको चहलपहल
राजधानीमा रहेका धेरै सर्वसाधारण दसैँ मनाउन आफ्नो स्थायी ठेगानामा गएको तथा यहाँका स्थानीय पनि घरबाहिर ननिस्कँदा काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ ।
फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । तर महाअष्टमीबाट भने सुनसान हुँदै गएको हो । उपत्यकाका सडकमा सवारी साधन न्यून चलेका छन् ।
ट्राफिक प्रहरीका अनुसार यस वर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । सो दिन मात्रै करिब डेढ लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए । काठमाडौँमा बडादसैँको टिकाको दिनदेखि भने फेरि चहलपहल बढ्ने गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट