`

काठमाडौंका खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘सडक एम्बुलेन्स’, मन्त्री घिसिङले गरे शुभारम्भ

Nepal One HD १२ मंसिर २०८२ ११:२३
प्रमुख खबर

काठमाडौं । काठमाडौं उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘सडक एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको शुभारम्भ गरेका छन् ।

सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ । त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिई मर्मत अगाडि बढाउन मोबाइल एप्स् पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ ।

कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रूपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य सहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताए । विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनु पर्नेमा उनले जोड दिए । एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गरिनेछ । कामको समयमा ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती छन् । भिडभाडको समयमा आकस्मिक रुपमा समेत मर्मत गर्न सकिनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *