`

आयोगमा बयान दिन पुगे सशस्त्रका आईजीपी अर्याल

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिनका लागि पुगेका छन् । भदौ २३ गतेको जेन–जी आन्दोलन, २४ गते उत्पन्न अवस्था, नयाँ बानेश्वरमा भएको सुरक्षा समन्वय अभाव, ती घटनामा सशस्त्र प्रहरीको भूमिका लगायतका विषयमा आयोगले अर्यालसँग बयान लिइरहेको छ ।

यसअघि आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल लगायतसँग बयान लिइसकेको छ । यस्तै सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल, प्रहरीका एआईजी सिद्धिविक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विधागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ , नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिइसकेको छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सुरक्षा निकायका प्रमुखसंग सोधपुछ गदै आएको छ । आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने काम कानुनसम्मत भए नभएको र २४ गतेको विध्वंसबारे जाँचबुझ गर्ने कार्यादेश पाएको छ । ९ बाट काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । तर, थप विवरण संकलन र प्रतिवेदन लेखनका कामहरू बाँकी रहेकाले आयोगको समयावधि थप्नुपर्ने निश्चित जस्तै भएको बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिने आयोगको तयारी छ ।

 

सशस्त्रका २३ डीएसपी र १०३ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले २३ जना डीएसपी र १०३ जना इन्स्पेक्टरहरुको एकै पटक सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षकको सोमबारको निर्णयले उनीहरुको सरुवा गरिएको हो । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले सरुवा गरिएको कार्यालयबाट नियमानुसार तलब, भत्ता तथा राशन पाउने गरी उनीहरुलाई सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

हेर्नुस् सरुवा सूची

पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

काठमाडौं । हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ ।

उद्धार गरिएका पर्यटकहरूमा एक जना खुट्टामा चोट लागेका व्यक्ति, एक जना ९ वर्षीय बालक, एक जना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति छन् । सबैको अक्सिजन लेभल कम रहेको सशस्त्र प्रहरी बलका सहप्रबक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घण्टाको यात्रापछि सम्पन्न भएको हो । पर्वतीय उद्दार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमाण्डमा मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष माउन्टेन रेस्क्यू गियर र उपकरणहरूको प्रयोग गरी यो जोखिमपूर्ण कार्य सम्पन्न गरेको छ । पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उक्त शिक्षालयमा यो आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू तालिम सञ्चालन गरिएको थियो । यस तालिमका क्रममा पर्वतीय उद्दार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले असोज महिनाको अन्तिम सातामा चुलु फार इस्ट (६,०३८ मिटर) को सफल आरोहण गरेका थिए । यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्यूको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनाहरूमा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको सह प्रबक्ता थापाको भनाइ छ ।

सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिनेछ । हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमहरूको सामना गर्न आवश्यक पूर्व तयारीको महत्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव रहेको छ ।

 

अन्नपूर्ण बेस क्याम्पबाट १६२ पर्यटकको उद्धार

काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहानसम्म १६२ जनाको उद्वार गरेको छ । अब अन्नपूर्ण बेसक्याम्पमा कोहि पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेस क्याम्पमा हिउँ पहिरो आइरहेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्वारका लागि सुरक्षा फौज बेसक्याम्पतर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्वार गरेको हो । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरुको डोरीको सहायताले बाटो पहिल्याउँदै उद्धार गरिएको हो । सबै पर्यटकको उद्धार भएपछि यतिखेर बेसक्याम्प खाली भएको छ ।

३ दिनको निरन्तर प्रयासपछि बेसक्याम्प हिँडेका केही पर्यटकलाई बाटोबाट नै फर्काइएको थियो । हिजो बुधबार मात्रै बेसक्याम्पबाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थानमा ल्याइएको थियो । कार्तिक ११ गते बाटोबाट फर्काइएका र आज बिहान पनि बेसक्याम्पबाट तल झारिएकासहित १६२ जनाको उद्धार भएको हो । उद्धार गरिएकाहरुलाई अन्नपूर्ण गाउँपालिका–४ गुफाफांट, सादिखर्क लगायत हिमपात नभएको स्थानसम्म सुरक्षित ल्याइएको छ । उनीहरु सबै हिमपात नभएको सुरक्षित स्थानमा छ्न् । उद्धार गरिएका केहिमा स्वासप्रस्वास लगायत स्वास्थ्य समस्या देखिए पनि ठूलो समस्या भने देखिएको छैन । माथिल्लो क्षेत्रमा सञ्चार सम्पर्क नभए पनि आज साँझसम्म सबै जना परिवारसँग फोन सम्पर्कमा आउने छन् ।

ललितपुरबाट ५० किलो बढी चाँदी बरामद

काठमाडौं । सशस्त्र प्रहरीले ललितपुरबाट आज (बिहीबार) दिउँसो ५० किलो बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेख रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनलाई ललितपुर महागनरपालिका–१६ धौगलबाट पक्राउ गरिएको हो ।

उनले भारतबाट अवैध रुपले चाँदी नेपाल ल्याई विभिन्न किसिमका गरगहना बनाएर बेच्ने गरेको प्रहरीले बताएको छ । यसको गोप्य सूचना सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोको विशेष आएको थियो । त्यही सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट सशस्त्र प्रहरी ५० किलो ७४ ग्राम चाँदीका गरगहना बरामद भएको छ । त्यस्तै १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ, चाँदी तौल गर्ने मेशिन १ थान, इलेक्ट्रीक साईलक १ थान, आइप्याड १ थान र मोवाईल सेट १ थान समेत बरामद भएको छ । उनलाई बरामद सामनसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

टिकटक भिडियो बनाउन खोलामा हामफाल्दा मृत्यु

बारा । लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । गोसाइँ असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए । उनको सशस्त्र प्रहरी र नेपाली सेनाको गाताखोरले खोजतलास गरेको थियो । गोसाइँका साथमा हामफालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आएका थिए ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, नेपाली सेनाका लप्टन नीरज राईको कमान्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ्ग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमान्डमा १० जना गरी ४३ जनाको टोली मोटरबोट र गोताखोरको सहयोगमा खोजीमा खटिएको छ ।

सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको एक किलोमिटर क्षेत्रमा तीव्र खोजबिन भइरहेको छ । खोजी दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका–१ त्रिवेणीको झुलेङ्गे पुल, त्रिवेणीको नहर पुल, विश्रामपुर गाउँपालिका–५ नकटुवा हुँदै फेटा गाउँपालिका–२ चिलझपटीसम्म सञ्चालन गरिएको छ ।

सशस्त्र प्रहरी अस्पतालकी डाक्टर सिटौलालाई हटाउने तयारी

काठमाडौं । सशस्त्र प्रहरीकी प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. महिमा सिटौलालाई सेवाबाट हटाउने तयारी गरिएको छ । बिदा स्वीकृत नगराई लामो समयदेखि सिटौला कार्यालयमा उनुपस्थित रहेका कारण उनलाई सेवाबाट हटाउने तयारी गृह मन्त्रालयले गरेको हो ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत सिटौला गत साउन १४ गतेदेखि कार्यालयमा अनुपस्थित रहेको जनाएको छ ।

‘बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रही सम्पर्क स्थापित गर्न नसकिएको र तपाईले पदीय जिम्मेवारी एवं आचरण विपरीतको कार्य गरेको देखिएको हुँदा तपाईलाई सशस्त्र प्रहरीको नियमावली अनुसारको कसुरमा विभागीय कारबाही गर्न लागिएको व्यहोरा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘तपाईँउपर विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कारणसहित सफाई पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।’

हेर्नुस् सूचना


नेपाल प्रहरीका १८ जनालाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी गर्दै १८ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।

गैरहाजिर हुनेमा दुई प्रहरी सहायक हबलदार, दुई जना प्राविधिक प्रहरी जवान, एक प्रहरी कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन् । लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना