`

जेन–जी आन्दोलन : अपराधिक कार्यमा संलग्न ५९५ जना पक्राउ, २८३ विरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताएका छन् । बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री अयर्नलले यस्तो बताएका हुन् । उनकाअनुसार हालसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ थान हतियार बरामद गरिएको छ । उनले जेन–जी आन्दोलनका क्रममा जेल ब्रेक गरी भागेका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइएको पनि बताए ।

बाँकी ४ हजार ८सय ५७ फरार कैदीको खोजीका लागि विशेष अपरेशन प्रक्रिया जारी रहेको पनि बताए । उनले जेन–जी आन्दोलनको क्रममा अपराधिक घटनामा संलग्न ५ सय ९५ जनालाई पक्राउ गरिएकोमा २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको पनि बताए । उनले आगामी आम निर्वाचनमा सुरक्षाका लागि सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भइसकेको जानकारी समेत गराए । उनले सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन हुँदै आएको पनि बताए । सुरक्षा निकायहरुको सुदृढीकरणका लागि आवश्यक उपकरण र सवारी साधन किन्न स्रोत सुनिश्चित गरिएको बताउँदै उनले नेपाल प्रहरीका लागि २ सय ६२ सवारी, सशस्त्र प्रहरीका लागि १ सय ९९ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ सवारी खरिद प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे ।

उनले भने, ‘हराएका हातहतियार तथा खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरुले सूचना आदानप्रदान गरी कार्ययोजना बनाइ संयुक्त रुपमा प्रभावकारी ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिई कार्यान्वयन गरिएको छ । हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइएको छ । जेन–जी आन्दोलनको क्रममा कारागार तथा बन्दीगृहबाट भागेका तथा फरार भएका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइसकिएको छ । बाँकी ४ हजार ८ सय ५७ जनालाई फिर्ता ल्याउन विषेश अपरेशन सञ्चालन गरिएको छ । भाद्र २३ र २४ गतेको घट्नासँग सम्बन्धीत अपराधमा संलग्नमध्ये कुल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको अवस्था छ ।’

उनले भने, ‘अगामी निर्वाचन प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेना परिचालनको लागि सेना परिचालन गर्न लेखि पठाइ राष्ट्रि सुरक्षा परिषद्बाट निर्णय समेत भइसकेको अवस्था छ । जिल्लागत र प्रदेशगत सुरक्षा चुनौती तथा अवस्थाको जानकारीका साथै सुरक्षा तयारीका लागि सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने, केन्द्रीय सुरक्षा समितिको निर्णयबमोजिम लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न समेत भइसकेको छ ।’

गृहमन्त्री अर्यालले थपे, ‘बाँकी प्रदेशहरुमा पनि पुसभित्र सम्पन्न गर्नेगरी तयारी भइरहेको अवस्था छ । निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढिकरणको लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट १ सय ५६ वटा र थप बजेटबाट १ सय ६ वटा गरी कुल २ सय ६२ थान सवारी तथा सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ र थप बजेटबाट ५० वटा गरी कुल १ सय ९ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप ६ वटा सवारी खरिदको लाग स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको छ ।’ उनले प्रतिनिधि सभा सदस्य निर्वाचन घोषित मितिमा सम्पन्न गर्न सरकार कटिवद्ध रहेको पनि बताएका छन् ।

 

 

 

मिराजसहितका जेन-जीले बालुवाटार घेरेपछि प्रहरीद्वारा लछारपछार (तस्बिरहरू)

काठमाडौं।जेन-जी अभियान्ता मिराज ढुंगानासहितका समूह र प्रहरीबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडिको सडकमा घम्साघम्सी भएको छ।

मंगलबार सिंहदरबार घेरेका उनीहरू बुधबार प्रधानमन्त्रीको सरकारी निवास अगाडि उत्रिएका थिए । जहाँ पनि मंगलबार सिंहदरबारको दक्षिण गेटमा जस्तै प्रहरीले उनीहरूला सडकबाट हटाएको हो । त्यसक्रममा जेन-जी र प्रहरीबीच केहीबेर घम्साघम्सीचलेको छ।

जेन-जी अभियान्ता ढुंगाना र उनीसम्वद्ध सदस्यहरूले दिनदिनै प्रदर्शन गर्न थालेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले भेट्न नदिएपछि उनीहरू आक्रोशित छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

जेन–जी शहीद परिवारका तर्फबाट मन्त्रीका लागि तीन जना सिफारिस

काठमाडौं । जेन–जी शहीद परिवारले सरकार समक्ष तीन मन्त्रालयको माग गरेका छन् । आज (बिहीबार) राजधानीको संवाद डबलीमा शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै बेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरूको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका छन् ।

शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेन–जी समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र सहिद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरेका हुन् ।

शहीद परिवार कमल सुवेदीले पटक–पटक शहीद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्नेमा प्रधानमन्त्री तथा मन्त्रीहरुले भेट समेत नदिएको भन्दै आक्रोष पोखे । सुवेदीले आफ्ना परिवारका सदस्यहरुको रगतबाट बनेको सरकार र जेन–जीहरूले सहानुभूति समेत नदिएको गुनासो गर्दै भने, ‘हामीले हाम्रा परिवारका सदस्य गुमाएका छौं, त्यसैमा टेकेर वर्तमान सरकार बनेको छ, जेन–जीहरु विभिन्न समूह बनाउँदै हिँड्छन्, उहाँहरू आ–आफ्नै स्वार्थमा लिप्त हुनुहुन्छ ।’

जेन–जी शहीद परिवार संघर्ष समितिले सरकार समक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीको दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोजविक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास र अख्तियारमा कमाण्डो टोली तैनाथ

काठमाडौं । जेन–जी समूहद्वारा दिइएको धम्कीपछि राजधानी काठमाडौंका प्रमुख संवेदनशील क्षेत्रहरूमा सोमबार रातिदेखि सुरक्षा सतर्कता उच्च बनाइएको छ । सुरक्षा चुनौतीको सम्भावनालाई ध्यानमा राख्दै आज (मंगलबार) बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा विशेष प्रहरी कमाण्डो टोली परिचालन गरिएको हो ।

बिहान ७ बजेदेखि नै ‘छनोट गरिएका’ प्रहरी अधिकृतहरूलाई रणनीतिक स्थानहरूमा खटाइएको प्रहरी स्रोतले जनाएको छ । भिडभाड बढेमा वा कुनै किसिमको सुरक्षा चुनौती उत्पन्न भएमा बल प्रयोग गर्ने तयारीसहित सुरक्षा टोली तैनाथ गरिएको छ ।

सुरक्षा रणनीतिमा कडाइ
प्रहरीका एक वरिष्ठ कमाण्डो अधिकारीका अनुसार सम्भावित भिड नियन्त्रणका लागि टोलीलाई प्रारम्भिक चेतावनी दिने, आवश्यक परे बल प्रयोग गर्ने अधिकार दिइएको छ । राजधानीमा शान्ति–सुरक्षाको अवस्था नियन्त्रण बाहिर जान नदिन सरकारले उच्चस्तरीय सुरक्षा रणनीति अपनाएको देखिन्छ ।

प्रधानमन्त्री, गृहमन्त्री र आईजीबीच राति बैठक
सोमबार राति प्रधानमन्त्री निवासमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुवेर खापुङबीच सुरक्षा स्थितिबारे सोमबार राति उच्चस्तरीय छलफल भएको थियो । बैठकमा आईजी खापुङले जेन–जी समूहले प्रहरी मुख्यालयमै आएर धम्की दिएकोप्रति गम्भीर आपत्ति जनाएका थिए । प्रधानमन्त्री कार्कीले प्रहरीको मनोबल खस्किने कार्य स्वीकार्य नहुने स्पष्ट रूपमा बताएको जनाइएको छ ।

सुधन गुरुङको नेतृत्वमा सरकारविरुद्ध कडा दबाब
यसैबीच, ‘हामी नेपाल’ नामक समूहका संस्थापक सुधन गुरुङ नेतृत्वको टोलीले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीमा उपस्थित भएको थियो । तर प्रहरी पक्षले भदौ २३–२४ को घटनाको छानबिन जाँचबुझ आयोगमार्फत भइरहेको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो । यो अस्वीकृतिपछि गुरुङको समूह ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै आन्दोलनको तयारीमा उत्रिएको छ ।

सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताको ज्यान गयो : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण जेन–जी पुस्ताहरूको ज्यान गएको बताएकी छन् । विजया दशमीको दिन जेन–जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेट गर्दै उनले यस्तो बताएकी हुन्।

नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरूको परिवारलाई कसरी सहयोग गर्ने भन्नेबारे सोचेको पनि उनले बताइन् । राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता प्रधानमन्त्री कार्कीले जनाइन् ।

‘दुःखद घटना भयो । सरकारमा हुनेको बुद्धि पुगेन जस कारण यो दुर्घटना भयो । बच्चाहरूले पढ्ने कसरी ? उहाँहरूको पढाइ, कामहरू दिने गरी सोचिरहेका छौं । उहाँहरूले मागेकै केही छैन । उहाँहरूको नोक्सान जे भयो, त्यसको क्षतिपूर्ति त हुनै सक्दैन । राज्यले फर्काएर त ल्याउन सक्दैन । राज्यबाट उठ्नलाई मद्दत गर्ने भन्ने हो ।’

प्रधानमन्त्री कार्कीसँगै सहिद परिवार भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिदहरूको रगतमाथि अन्याय हुन नदिने र उनीहरूको रगतले न्याय पाउने बताए । गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको ज्यान गयो । सयौं मानिस घाइते भएका छन् । यस वर्ष सदाझैं पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई दसैंको टीका लगाइ दिएनन् ।

जेन–जी आन्दोलनमा मृत्यु भएका महर्जनको परिवारलाई आर्थिक सहयोग

काठमाडौं । भदौं २३ र २४ भएको जेन–जी आन्दोलनमा मृत्यु भएका ललितपुरका बिनोद महर्जनका परिवारले १५ लाख रुपैंयाँ सहयोग प्राप्त गरेको छ ।

नेपाल सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएका परिवारलाई राहतस्वरुप उपलब्ध गराएको १५ लाख रुपैयाँ ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर–७ स्थित मृतककै घरमै पुगेर हस्तान्तरण गरेका थिए ।

१० लाख आर्थिक सहयोग र ५ लाख क्रिया तथा अन्य खर्चबापट सरकारले उपलब्ध गराएको रकमको चेक आइतबार प्रमुख जिल्ला अधिकारी घिमिरेले हस्तान्तरण गरेका हुन् । मृतकका आमा लतामाया महर्जनले चेक बुझेकी थिइन् । जेन–जी आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो भने एक हजार बढी घाइते भएका थिए ।

पूर्व मन्त्री रायमाझी कारागार फर्किए, सम्पर्कमा छैनन् पाण्डे

काठमाडौं । जेन–जी आन्दोलनका बेला भदौ २४ गते कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । उनी सोमबार साँझ सुन्धरा कारागार फर्किएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्वऊर्जा मन्त्री रायमाझी आफै कारागार फर्किएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिएका छन् ।

उनका अनुसार भुटानी शरणार्थी प्रकरणकै कारागारमा रहेका पूर्व गृहसचिव टेकनारायण पाण्डे भने सम्पर्कमा छैनन् । कतिपयलाई खोज्ने काम भइरहेको उनले बताए । कतिले आफै आउने जानकारी समेत गराएका छन् । सुन काण्ड र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) पनि बुधबार नै कारागार फर्किएको कारागार प्रमुख चापागाईंले बताए । नख्खु कारागारबाट बाहिर निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने यसअघि नै कारागार फर्किसकेका छन् । देशभरका विभिन्न कारागारबाट भागेका धेरै कैदीबन्दी अझै फर्किएका छैनन् ।

 

जेन–जीलाई सुमनाको दुई सुझाव : माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले जेन–जी आन्दोलनले राजनीतिक दलहरूलाई सुधारको बाटोमा ल्याउन दबाब दिएको भन्दै तत्काल कार्यान्वयन गर्न सकिने सुधारका सुझाव प्रस्तुत गरेकी छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले दलहरूलाई स्पष्ट कार्ययोजना प्रस्तुत गर्न चुनौती दिँदै तत्काल लागू गर्न सकिने सुधारका उपायहरू सुझाएकी छन् । उनले लेखेकी छन्, ‘फेरि भन्छु, कसरी सच्चिने ? यो अमूर्त कुरा भयो ! कसरी सच्चिने भन्ने खाका सुन्न पाए हुन्थ्यो !’ उनले दलहरूले तत्काल गर्न सक्ने दुई वटा प्रमुख कदम सुझाएकी छन् ।

पहिलो, दलीयकरण रोक्न उनले शिक्षक र कर्मचारी संगठन खारेज गर्न, विद्यार्थी संगठनलाई नियुक्ति र ठेक्काको सौदाबाजीमा प्रयोग नगर्न, शिक्षालय तोडफोड गर्ने र बन्द गराउनेमाथि कारबाही गर्न, साथै शिक्षक र प्राध्यापकमाथि कुटपिट गर्नेलाई संरक्षण बन्द गर्न सुझाव दिएकी छन् ।

दोस्रो, उनले दलीय नियुक्तिहरूको राजीनामा गराउनु पर्ने बताएकी छन् । राजदूत, विश्वविद्यालयका उपकुलपति, विभिन्न बोर्ड, बैंक निर्देशक, करारमा नियुक्त कार्यकर्ता र संवैधानिक निकायमा भएका दलीय नियुक्तिहरू हटाउनुपर्ने उनको जोड छ । उनले जेन–जीलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘माथिका कुराहरू दलहरूले तत्काल गर्न सक्छन् । यी सजिला र तत्काल सम्भव सुधार हुन्, जसका लागि संसद् वा सरकारको आवश्यकता पर्दैन । सुधारको वाचा केवल बोलीमा सीमित हुनु हुँदैन । यी माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस् ।’

उनले भनेकी छन्, ‘यी कदमहरूले सार्वजनिक सेवामा निष्पक्षता कायम गर्नेछ, जुन जनताको सेवा गर्ने कर्मचारीतन्त्रको मूल आधार हो ।’ उनको यो बयान जेन–जी आन्दोलनपछि बनेको सरकारमा प्रत्यक्ष नभए पनि पर्दा पछाडि रहेर काम गर्ने चर्चाबीच आएको हो ।

हेर्नुस् सुमनाको स्टाटस

देउवाको टाउकोमा १२ वटा टाँका, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । सभापति देउवा र पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा दुवैको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।

कार्यसम्पादन बैठकपछि पत्रकारहरूसँग विश्वकर्माले भने, ‘टाउकोको पछाडि (गर्धनमाथि) गम्भीर चोट लागेको र त्यसमा करिब १२ वटा टाँका लगाइएको छ । त्योभन्दा तल गर्धनमा सामान्य चोट छ ।’

दुवै जनाको स्वास्थ्य सुधारोन्मुख रहेको बताउँदै विश्वकर्माले सुनाए, ‘उहाँ सामान्य बोलचाल गर्ने, हिँडडुल गर्ने र पार्टीका साथीहरूसँग सम्पर्क र संवाद गर्न सक्ने हुनुहुन्छ ।’ सभापति देउवालाई उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भएकाले चिकित्सकले अझै आराम गर्न भनेको नेता विश्वकर्माले जानकारी दिएका छन् ।

 

जेन–जीको शवयात्रामा मन्त्रीहरु घिसिङ र अर्याल सहभागी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानूनमन्त्री सहभागी भएका छन् । ऊर्जामन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल चाबहिल चोकबाट जेनजीको शवयात्रामा सहभागी भएका हुन् । कुलमानले राष्ट्रिय झण्डा बोकेका छन् भने कानूनमन्त्रीले राष्ट्रिय झण्डा ओढेका छन्।

मृतक परिवारका सदस्य र आफन्तहरूले शवयात्रा सहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालिएको हो । त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने तयारी छ। शवयात्राका लागि पुगेकाहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् ।

कतिपयले ‘निःसन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर छोपेका छन् । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायत निर्णय गरेको थियो ।

त्यसपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरू छन् । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।

जेन–जी शहीदहरुको शवयात्रा (तस्वीरहरु)

काठमाडौं । भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ज्यान गुमाएका जेन–जी शहीदको शवयात्रा शिक्षण अस्पतालबाट पशुपतितर्फ निस्किएको छ । शवयात्रा टिचिङ अस्पतालबाट महाराजगञ्ज, चाबहिलहुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ ।

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकोप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । जेनजीको आन्दोलन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो गोली लागेका र केही जलेको अवस्थामा भेटिएकाहरू छन् ।

पर्वत फलेबासका वडाध्यक्ष तिवारी कार्यालयबाटै पक्राउ

पर्वत । जेन–जी प्रदर्शनकारीलाई उक्साउने गरी स्टाटस लेखेको भन्दै पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले उनलाई आइतबार वडा कार्यालयबाटै पक्राउ गरेको हो ।

जेन–जी प्रदर्शनमा घृणा फैलाउने गरेर सामाजिक सञ्जालमा लेखेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले जानकारी दिए । उनीविरुद्ध विद्युत्तीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको छ। वडाध्यक्ष तिवारीले स्टाटसमा डिएसपीको नामै तोकेर जेनजीले कारबाही गर्नुपर्ने उल्लेख गरेका थिए ।

‘फलेवासका बालुवा तस्करहरू, तस्करका संरक्षकहरु र कारबाही गरी पाउँ भनि पत्र बुझाउन जाँदा पत्र नबुज्ने डिएसपी रविन बिष्ट लगायत केही भ्रष्ट नेता तथा केही भ्रष्ट कर्मचारी यी भ्रष्टलाई समेत जेनजीले कारबाही गरिदिन्छ कि भन्ने आशा गरेको छु । प्रहरीले कारबाही नगर्ने भएपछि ?’, उनले लेखेका छन् । उनी फलेबास नगरपालिकाका र नेपाली कांग्रेस पर्वतका प्रवक्ता समेत हुन् ।

जेन–जीको संघर्षलाई सलाम, यो सुरुवात मात्र हो, बाटो लामो छ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले अहिलेको परिवर्तन एक सुरुवात मात्र भएको र देश निर्माणको लामो बाटो हिँड्न अझै बाँकी रहेको बताएकी छन् ।

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा भौतिक रूपमै उपस्थित भएर फर्केपछि नेतृ श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेकी हुन् । उनले देशको पहिलो महिला प्रधानमन्त्रीलाई बधाई दिँदै ऐतिहासिक परिवर्तनको श्रेय जेन–जीलाई दिएकी छन् ।

जेन–जीको साहसको प्रशंसा गर्दै उनले लेखेकी छन्, ‘तपाईंहरुको अथाह साहस र संघर्षलाई सलाम । तर याद राख्नुहोस्, यो त तपाईहरुको सुरुवात मात्र हो । अझ लामो बाटो हिड्न बाँकी नै छ ।’ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले शपथ ग्रहण समारोह बहिष्कार गरिरहेको बेला, सुमना भने शपथ समारोहमा सहभागी थिइन् ।

जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीहरूको अन्त्येष्टि

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीहरूको आज (शुक्रबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा असई मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वर वृत्तमा सहायक हवल्दार अमृत गुरुङको मृत्यु भएको थियो ।

उनीहरूको आज अन्त्येष्टि गरिएको हो । प्रदर्शन हुँदा ड्युटीमा रहेका असई मिलन राय र जवान उत्तम थापामाथि महाराजगञ्जमा जम्मा भएका प्रदर्शनकारीले आक्रमण गरेका थिए । असई राय हिरासत व्यवस्थापनमा खटिएका थिए । हिरासतमा रहेका थुनुवालाई सुरक्षित बनाएर आफू सुरक्षित हुन खोज्दा उनी प्रदर्शनकारीको आक्रमणमा परेका थिए । उनलाई जोगाउन गएका जवान थापा पनि मारिए । उनीहरूको आज पशुपति आर्यघाटमा सलामी सहित अन्त्येष्टि गरिएको हो ।

प्रदर्शनमा कम्तीमा १२ हजार जेन–जी : प्रहरी

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा ठूलो संख्यामा जेन–जी काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् । बिहान माइतीघरमा भेला भएका उनीहरु बानेश्वरको निषेधित क्षेत्र नजिक पुगेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले कम्तीमा चार हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् ।

तर, गृह मन्त्रालयका एक अधिकारीका अनुसार कम्तीमा १२ हजार जेनजी भेला भएको जानकारी प्रहरीले पठाएको छ । त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउन सर्कुलर जारी भएको एक अधिकारीले बताए । प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । ‘कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,’ अधिकारीले भने, ‘उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्ने छैनौं ।’

 

नाराबाजीसहित बानेश्वरतर्फ अघि बढे जेन–जी

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा भेला भएका जेन–जीको प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । आज (सोमबार) बिहान ९ बजेदेखि उनीहरु माइतीघरमा भेला भएका थिए । विभिन्न प्लेकार्ड बोकेका उनीहरु नाराबाजी गर्दै बबरमहल पुगेका छन् । उनीहरुले ‘आवर फ्युचर इज नट फर सेल’, से नो टु करप्सन, जेन–जी हेयर–फ्युचर क्लियर’ जस्ता प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंमा प्रमुख एसएसपी विश्व अधिकारीले करिब ४ हजारको संख्यामा युवाहरु भेला भएको बताएका छन् । ‘कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा संयन्त्र मजबुत बनाइएको छ,’ उनले भने, ‘उहाँहरुलाई आफ्ना माग राख्न कुनै अवरोध गर्ने छैनौं । बानेश्वरको निषेधित क्षेत्रसम्म उहाँहरु जान पाउनु हुन्छ ।’ उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

 

माइतीघरमा जेन–जीको प्रदर्शनमा बढ्दै भीड (तस्वीरहरु)

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा काठमाडौंमा प्रदर्शन शुरु भएको छ । माइतीघरमा जम्मा भएका प्रदर्शनकारी कोही कलेज पोशाकमा छन् भने केहीले उत्तेजक राजनीतिक नारा समेत लगाइरहेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ ।

उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरूले केही नेता र मन्त्रीको नामै किटेर प्लेकार्डमार्फत विरोध जनाएका छन् । प्रदर्शनमा कलाकार, अभियन्ताहरू पनि मिसिँदै छन् । उनीहरूले आफूहरू कुनै राजनीतिक पार्टीको नभएको बताएका छन् । ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् । प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।

चोक–चोकमा बाक्लै सुरक्षाकर्मी परिचालन
काठमाडौंमा जेनजीको प्रदर्शनलाई मध्यनजर गर्दै गर्दै सोमबार बिहानैदेखि मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार बिहानैदेखि काठमाडौंका मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजार, नयाँबानेश्वर जस्ता मुख्य ठाउँहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसका साथै जेनजीको प्रदर्शनमा घुसपैठ हुनसक्ने र तोडफोड तथा अराजकता फैलनसक्ने भन्दै सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहरा पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘संख्या यति नै भन्ने भन्दा पनि आवश्यकता अनुसार प्रहरी परिचालन गरेका छौं । प्रदर्शन शान्तिपूर्ण बनाउन प्रहरी सक्रिय भएर लागि परेको छ’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले भने ।

काठमाडौंका मुख्य चोकहरूमा नेपाल प्रहरीलाई तैनाथ गरिएको छ । नयाँ बानेश्वर क्षेत्र लगायत निषेधित क्षेत्रजस्ता ठाउँहरुमा भने सशस्त्र प्रहरीलाई खटाइएको छ । यसका साथै सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) बाट पनि सूचकहरूको परिचालन गरिएको छ । जेनजीले आइतबार मात्रै प्रशासनसँग माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शनका लागि ठाउँ मागेका थिए । प्रशासनले अनुमति दिएपछि उनीहरूले आज प्रदर्शनको सुरुवात गरिसकेका छन् ।

प्रहरी स्रोतका अनुसार माइतीघर क्षेत्रमा अहिले करिब ५ सयको हाराहारीमा जेनजीहरू उपस्थित भएका छन् । ११ बजेबाट प्रदर्शनका समय राखिएकाले आउनेक्रम जारी रहेको देखिन्छ । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् । उनीहरूले प्रदर्शन शान्तिपूर्ण बताएका छन् ।

जेनजीले प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जिल्ला सुरक्षा समितिको बैठक नै डाकेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षा समितिको बैठकमा सुरक्षा रणनीति बनाएर काम गर्न निर्देशन दिएका थिए । अहिले सोही अनुसार प्रहरी परिचालन भएको बताइएको छ ।