नागरिक अगुवाको साझा अपिल : सरकारको काममा अवरोध नगरौं
काठमाडौं । मुलुक जेन–जी आन्दोलनपछि संवेदनशील मोडमा पुगेको मूल्यांकन गर्दै नागरिक समाजका विभिन्न धारका अगुवाहरूले वर्तमान सरकारलाई अवरोध नगरी देशलाई स्थिरतामा फर्काउने प्रक्रियामा सबै जिम्मेवार पक्ष सहयोगी बन्नुपर्ने आग्रह गरेका छन् । दुई फरक संयुक्त अपिलमार्फत करिब २७ जना नागरिक अगुवाले सरकारलाई क्षमताभन्दा बाहिरका माग र निहित उद्देश्यका दबाबमार्फत कमजोर नबनाउन चेतावनी दिएका छन् ।
अपिलमा सरकार निर्वाचनको जनादेश लिएर बनेको स्पष्ट गर्दै यो अवस्थामा समूहगत, व्यक्तिगत वा राजनीतिक स्वार्थसिद्धिका एजेण्डा अघि सारेर सरकारमाथि अतिरिक्त दबाब सिर्जना गर्नु राष्ट्रहित विपरीत हुने उल्लेख छ । उनीहरूले यस्तो गतिविधिले अनावश्यक भ्रम र आशंका मात्र बढाई राज्य संरचनालाई थप कमजोर बनाउने दाबी गरेका छन् । नागरिक अगुवाहरूले विशेष गरी आगामी २०८२ फागुन २१ गते तोकिएको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु वर्तमान सरकार र सरोकारवालाको प्रमुख दायित्व भएको बताएका छन् । ‘यदि निर्धारित मितिमा निर्वाचन हुन सकेन भने सिर्जना हुने राजनीतिक रिक्तता र अनिश्चितताले देशलाई गम्भीर संकटमा धकेल्न सक्छ,’ अपिलमा उल्लेख गरिएको छ।
अगुवाहरूले भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासनजस्ता जेन–जी आन्दोलनले उठाएका मूल मुद्दाको सम्बोधन गर्दै देशलाई असल शासनतर्फ डोहो¥याउन सरकार, राजनीतिक दल, नागरिक समाज र नवयुवाहरू सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूको भनाइमा संवैधानिक प्रक्रिया जोगाउने एकमात्र मार्ग स्वच्छ, निष्पक्ष र विश्वासिलो निर्वाचन हो । यस्तै, सरकारले निर्वाचनको वातावरण बिग्रन नदिन प्राथमिकता दिनुपर्ने र निर्वाचन आयोगले निर्विघ्न रुपमा प्रक्रिया अघि बढाउने वातावरण सुनिश्चित गर्नुपर्ने सुझावसमेत अपिलमा समावेश छ ।
अपिलका हस्ताक्षरकर्तामा केदारभक्त माथेमा, अर्चना थापा, इन्द्र-इन्द्रा अधिकारी, उद्धव प्याकुरेल, कनकमणि दीक्षित, कृष्ण खनाल, कृष्ण पोखरेल, खगेन्द्र संग्रौला, गजाधर सुनार, गेजा शर्मा वाग्ले, चन्द्रकिशोर, चरण प्रसाई, जेबी विश्वकर्मा, तुलानारायण साह, दीपेन्द्र झा, दोभान राई, भोजराज पोखरेल, प्रदीप खतिवडा, महेश मास्के, राजेन्द्र दाहाल, स्टेला तामाङ, सूर्य ढुंगेल, सुवोधराज प्याकुरेल, सुशील प्याकुरेल, हरि शर्मा, विजयकान्त कर्ण, विजय तिमिल्सिना, विद्याधर मल्लिक र वीरेन्द्रप्रसाद मिश्र लगायत छन् । उनीहरूले सबै राजनीतिक शक्ति, जेन–जी, सञ्चार माध्यम, पेसागत समूह र आम नागरिकसमक्ष स्थिरता, शान्ति र संविधानको निरन्तरताका लागि आगामी निर्वाचनमा सहयोगी भूमिका खेल्न एकै स्वरमा अपिल गरेका छन् ।

