जेन–जीको शवयात्रामा मन्त्रीहरु घिसिङ र अर्याल सहभागी


काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानूनमन्त्री सहभागी भएका छन् । ऊर्जामन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याल चाबहिल चोकबाट जेनजीको शवयात्रामा सहभागी भएका हुन् । कुलमानले राष्ट्रिय झण्डा बोकेका छन् भने कानूनमन्त्रीले राष्ट्रिय झण्डा ओढेका छन्।
मृतक परिवारका सदस्य र आफन्तहरूले शवयात्रा सहित अन्त्येष्टि गर्न लागेका हुन् । अहिले मृतकका शवहरू अन्त्येष्टिका लागि शवयात्रा निकालिएको हो । त्रिवि शिक्षण अस्पतालबाट शवहरू चक्रपथ हुँदै पशुपति आर्यघाट लगिने तयारी छ। शवयात्राका लागि पुगेकाहरूले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् ।
कतिपयले ‘निःसन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर छोपेका छन् । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायत निर्णय गरेको थियो ।
त्यसपछि मृतकका परिवार अन्त्येष्टि गर्न तयार भएका हुन् । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो गोली लागेकाहरू छन् । कतिपयका शव आगोमा जलेको अवस्थामा भेटिएका छन् ।