`

जेन–जीलाई सुमनाको दुई सुझाव : माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस्

Nepal One HD ५ असोज २०८२ १२:५४
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले जेन–जी आन्दोलनले राजनीतिक दलहरूलाई सुधारको बाटोमा ल्याउन दबाब दिएको भन्दै तत्काल कार्यान्वयन गर्न सकिने सुधारका सुझाव प्रस्तुत गरेकी छन् । आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले दलहरूलाई स्पष्ट कार्ययोजना प्रस्तुत गर्न चुनौती दिँदै तत्काल लागू गर्न सकिने सुधारका उपायहरू सुझाएकी छन् । उनले लेखेकी छन्, ‘फेरि भन्छु, कसरी सच्चिने ? यो अमूर्त कुरा भयो ! कसरी सच्चिने भन्ने खाका सुन्न पाए हुन्थ्यो !’ उनले दलहरूले तत्काल गर्न सक्ने दुई वटा प्रमुख कदम सुझाएकी छन् ।

पहिलो, दलीयकरण रोक्न उनले शिक्षक र कर्मचारी संगठन खारेज गर्न, विद्यार्थी संगठनलाई नियुक्ति र ठेक्काको सौदाबाजीमा प्रयोग नगर्न, शिक्षालय तोडफोड गर्ने र बन्द गराउनेमाथि कारबाही गर्न, साथै शिक्षक र प्राध्यापकमाथि कुटपिट गर्नेलाई संरक्षण बन्द गर्न सुझाव दिएकी छन् ।

दोस्रो, उनले दलीय नियुक्तिहरूको राजीनामा गराउनु पर्ने बताएकी छन् । राजदूत, विश्वविद्यालयका उपकुलपति, विभिन्न बोर्ड, बैंक निर्देशक, करारमा नियुक्त कार्यकर्ता र संवैधानिक निकायमा भएका दलीय नियुक्तिहरू हटाउनुपर्ने उनको जोड छ । उनले जेन–जीलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘माथिका कुराहरू दलहरूले तत्काल गर्न सक्छन् । यी सजिला र तत्काल सम्भव सुधार हुन्, जसका लागि संसद् वा सरकारको आवश्यकता पर्दैन । सुधारको वाचा केवल बोलीमा सीमित हुनु हुँदैन । यी माग पूरा नभएसम्म कुनै वाचामा विश्वास नगर्नुस् ।’

उनले भनेकी छन्, ‘यी कदमहरूले सार्वजनिक सेवामा निष्पक्षता कायम गर्नेछ, जुन जनताको सेवा गर्ने कर्मचारीतन्त्रको मूल आधार हो ।’ उनको यो बयान जेन–जी आन्दोलनपछि बनेको सरकारमा प्रत्यक्ष नभए पनि पर्दा पछाडि रहेर काम गर्ने चर्चाबीच आएको हो ।

हेर्नुस् सुमनाको स्टाटस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *