`

माइतीघरमा जेन–जीको प्रदर्शनमा बढ्दै भीड (तस्वीरहरु)

Nepal One HD २३ भदौ २०८२ १०:५६
प्रमुख खबर

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा काठमाडौंमा प्रदर्शन शुरु भएको छ । माइतीघरमा जम्मा भएका प्रदर्शनकारी कोही कलेज पोशाकमा छन् भने केहीले उत्तेजक राजनीतिक नारा समेत लगाइरहेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजी युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शनमा भिड बढ्दै गएको छ ।

उनीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरूले केही नेता र मन्त्रीको नामै किटेर प्लेकार्डमार्फत विरोध जनाएका छन् । प्रदर्शनमा कलाकार, अभियन्ताहरू पनि मिसिँदै छन् । उनीहरूले आफूहरू कुनै राजनीतिक पार्टीको नभएको बताएका छन् । ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् । प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।

चोक–चोकमा बाक्लै सुरक्षाकर्मी परिचालन
काठमाडौंमा जेनजीको प्रदर्शनलाई मध्यनजर गर्दै गर्दै सोमबार बिहानैदेखि मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार बिहानैदेखि काठमाडौंका मुख्य चोकहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, घण्टाघर, बागबजार, नयाँबानेश्वर जस्ता मुख्य ठाउँहरूमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसका साथै जेनजीको प्रदर्शनमा घुसपैठ हुनसक्ने र तोडफोड तथा अराजकता फैलनसक्ने भन्दै सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहरा पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘संख्या यति नै भन्ने भन्दा पनि आवश्यकता अनुसार प्रहरी परिचालन गरेका छौं । प्रदर्शन शान्तिपूर्ण बनाउन प्रहरी सक्रिय भएर लागि परेको छ’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले भने ।

काठमाडौंका मुख्य चोकहरूमा नेपाल प्रहरीलाई तैनाथ गरिएको छ । नयाँ बानेश्वर क्षेत्र लगायत निषेधित क्षेत्रजस्ता ठाउँहरुमा भने सशस्त्र प्रहरीलाई खटाइएको छ । यसका साथै सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) बाट पनि सूचकहरूको परिचालन गरिएको छ । जेनजीले आइतबार मात्रै प्रशासनसँग माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शनका लागि ठाउँ मागेका थिए । प्रशासनले अनुमति दिएपछि उनीहरूले आज प्रदर्शनको सुरुवात गरिसकेका छन् ।

प्रहरी स्रोतका अनुसार माइतीघर क्षेत्रमा अहिले करिब ५ सयको हाराहारीमा जेनजीहरू उपस्थित भएका छन् । ११ बजेबाट प्रदर्शनका समय राखिएकाले आउनेक्रम जारी रहेको देखिन्छ । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् । उनीहरूले प्रदर्शन शान्तिपूर्ण बताएका छन् ।

जेनजीले प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार जिल्ला सुरक्षा समितिको बैठक नै डाकेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षा समितिको बैठकमा सुरक्षा रणनीति बनाएर काम गर्न निर्देशन दिएका थिए । अहिले सोही अनुसार प्रहरी परिचालन भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *