`

देउवाको टाउकोमा १२ वटा टाँका, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा आक्रमणबाट घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । सभापति देउवा र पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवा दुवैको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।

कार्यसम्पादन बैठकपछि पत्रकारहरूसँग विश्वकर्माले भने, ‘टाउकोको पछाडि (गर्धनमाथि) गम्भीर चोट लागेको र त्यसमा करिब १२ वटा टाँका लगाइएको छ । त्योभन्दा तल गर्धनमा सामान्य चोट छ ।’

दुवै जनाको स्वास्थ्य सुधारोन्मुख रहेको बताउँदै विश्वकर्माले सुनाए, ‘उहाँ सामान्य बोलचाल गर्ने, हिँडडुल गर्ने र पार्टीका साथीहरूसँग सम्पर्क र संवाद गर्न सक्ने हुनुहुन्छ ।’ सभापति देउवालाई उठ्दा चक्कर लाग्ने, धेरैबेर बोल्दा असहज हुने भएकाले चिकित्सकले अझै आराम गर्न भनेको नेता विश्वकर्माले जानकारी दिएका छन् ।

 

नयाँ मन्त्रीको शपथमा पनि देखिए पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं । जेन–जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषदमा विषय विज्ञहरू सामेल गराउने प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा प्रधानमन्त्री कार्कीले तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका व्यक्तिहरूको नाम टुंगो लगाएकी छन् ।

अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ । कार्कीले मन्त्रिमण्डललाई ११ सदस्यीयभन्दा नबढाउने तयारी गरेकी छन् । शपथ समारोहमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित, प्रधानसेनापति असोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्यालसहितका व्यक्तिहरूको सहभागिता रहेको छ ।

जेन-जीको आन्दोलनमा ज्यान गुमाएकाको शव हस्तान्तरण सुरु

काठमाडौं ।  जेन-जीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न सुरू गरिएको छ ।

महाराजगंज मेडिकल क्याम्पसमा शव परीक्षण गरेर परिवारलाई हस्तान्तरण सुरू गरिएको हो ।

तस्बिर : 

जेन–जी आन्दोलनमा ज्यान गुमाउने ५१ जना पुगे

काठमाडौं । जेन–जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१ जना पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले दिएको जानकारीअनुसार यही भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा मृत्यु भएकाको संख्या ५१ पुगेको हो ।

यसमा तीन जना प्रहरी, एक भारतीय नागरिक र बाँकी नेपाली युवा छन् । प्रदर्शनको पहिलो दिन १९ जना जेन–जीको मृत्यु भएको थियो भने पछि उपचारका क्रममा घाइतेहरूको मृत्यु हुँदा मृतकको संख्या शुक्रबार ५१ पुगेको हो ।
यसैबीच जेन–जी प्रदर्शनमा घाइते भएका २९९ जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार उनीहरूको उपचार देशभरका ३३ अस्पतालमा भइरहेको हो । जसमध्ये सबैभन्दा धेरै झापाको बीएनसी अस्पतालमा ५३ घाइते उपचाररत छन् ।

मुख्य प्रदर्शन स्थल बानेश्वरमा रहेको निजामती कर्मचारी (सिभिल) अस्पतालमा २३ घाइतेको उपचार जारी छ । यस्तै ट्रमा सेन्टरमा ३२ जना, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ३५ जना घाइतेको उपचार भइरहेको छ। त्यस्तै त्रिवि शिक्षण अस्पतालमा २५ जना, नेपाल पुलिस अस्पतालमा २८ जना घाइतेको उपचार चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेमध्ये अहिलेसम्म १ हजार ४६५ जना डिस्चार्ज भइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ ।