`

भारत–माल्दिभ्स ‘एकुवेरिन’ अभ्यास केरलामा सुरु

Nepal One HD १५ मंसिर २०८२ १५:५६
विश्व

केरल (भारत) । भारत र माल्दिभ्सबीचको वार्षिक द्विपक्षीय सैन्य अभ्यास ‘एकुवेरिन’ को १४औँ संस्करण डिसेम्बर २ देखि १५ सम्म भारतको तिरुवनन्तपुरममा आयोजना हुने भएको छ । भारतीय सेना र माल्दिभ्स राष्ट्रिय रक्षा बलका सैनिकहरू सहभागी हुने यस अभ्यासको उद्देश्य अर्ध–सहरी, जङ्गल तथा तटीय भूभागमा विद्रोह विरोधी तथा आतङ्कवाद विरोधी कारबाही सञ्चालनमा पारस्परिक क्षमता र अन्तरक्रियाशीलता बढाउने हो ।

अभ्यासमा अत्याधुनिक प्रविधिको प्रभावकारी प्रयोग तथा दुवै देशका सेनाबीच उत्कृष्ट अभ्यासहरूको आदान–प्रदानमा विशेष ध्यान केन्द्रित गरिनेछ । यसले भारत–माल्दिभ्सबीचको दीर्घकालीन मैत्री, रक्षा सहकार्य तथा आपसी विश्वासलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ । भारत र माल्दिभ्सको साझा सुरक्षाप्रति प्रतिबद्धता यस अभ्यासमा स्पष्ट रूपमा प्रतिबिम्बित भएको छ ।

‘एकुवेरिन’ ९अर्थात् ‘साथीहरू’० बर्सेनि भारत र माल्दिभ्समा आलोपालो आयोजना हुने प्रमुख द्विपक्षीय अभ्यास हो । दुवै देशबीच हुने प्रमुख सैन्य अभ्यासहरूमा द्विपक्षीय ‘एकुवेरिन’ र ‘एकता’ तथा श्रीलङ्का समेत सहभागी हुने त्रिपक्षीय ‘दोस्ती’ अभ्यास समावेश छन्, जसका मितिहरू आपसी सहमतिमा तय गरिन्छन् ।

भारत र माल्दिभ्सबीच प्राचीन कालदेखि नै जातीय, भाषिक, सांस्कृतिक, धार्मिक र व्यापारिक सम्बन्धहरू रहेकाले दुवै राष्ट्रको मित्रता गहिरो र बहुआयामिक मानिन्छ । सन् १९६५ मा माल्दिभ्स स्वतन्त्र भएपछि त्यसलाई मान्यता दिँदै कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो देश भारत थियो ।

माल्दिभ्सले भारतलाई आफ्नो प्रमुख रणनीतिक साझेदार तथा ‘शुद्ध सुरक्षा प्रदायक’ का रूपमा मान्दै आएको छ । भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत माल्दिभ्सले विशेष स्थान ओगटेको छ, जसको उद्देश्य हिन्द महासागर क्षेत्रमा स्थिरता र समृद्धि प्रवर्द्धन गर्नु हो ।

दुवै राष्ट्रले हिन्द महासागर क्षेत्रको सुरक्षा र स्थायित्वलाई दृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्, जसले भारतद्वारा अघि सारिएको ‘सागर’ अर्थात् ‘क्षेत्रका सबैका लागि सुरक्षा र विकास’ दृष्टिकोणलाई मजबुत बनाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *