मेटाले आफ्नो एआई महत्वाकाङ्क्षा पूरा गर्न ३५ अर्ब डलर उठाउने
काठमाडाैँ। मेटाले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) विकासमा लगानी गर्न सेयर निष्कासनमार्फत ३५ अर्ब डलर उठाउने योजना बनाएको छ।
अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले सोमबार सार्वजनिक रिपोर्टमा सेयर निष्कासनमार्फत मेटाले एआई विकासमा लगानी गने योजना सार्वजनिक गरेको हो।
फेसबुकको मातृ कम्पनी मेटाले थप ६० अर्ब डलरसम्मको सेयर निष्कासन गर्ने योजना पनि घोषणा गरेको छ, जसको मिति अझै तय भएको छैन। यो कोष सङ्कलन मेटाले एआई क्षेत्रमा प्रतिस्पर्धा गर्न पूँजी जुटाउन थप लचिलोपन दिने भन्दै भोटिङ अधिकार नहुने नयाँ प्रकारको सेयर सिर्जना गरेको केही दिनपछि आएको हो।
एआई डाटा सेन्टरको विकाससँग जोडिएका मुख्य आपूर्तिकर्ता चिप निर्माता कम्पनीहरू एनभिडिया, एएमडी र ब्रोडकमले प्रस्तावित साझा सेयरमध्ये पाँच अर्ब डलरसम्म किन्ने चासो देखाएका मेटाले जनाएको छ । तर यी चासो बाध्यकारी छैनन्।
कम्पनीले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) क्षमता विस्तार गर्न आक्रामक रूपमा खर्च गरिरहेको छ र लगानीकर्ताहरूले यी लगानीबाट प्रतिफल देखिने सङ्केत खोजिरहेका छन्।
नयाँ सेयरमा भोटिङ अधिकार नभएकाले मेटाले संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको भोटिङ नियन्त्रण कम नगरी यी सेयर जारी गर्न सक्छ । गुगलको मातृ कम्पनी अल्फाबेटाले आफ्नै एआई डाटा सेन्टर विस्तारका लागि हालै सेयर निष्कासनमार्फत ८५ अर्ब डलर उठाएको थियो।
