एमालेमा ओलीलाई टक्कर दिने कोही छैन : सूर्य थापा
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाइ गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् । उनले अहिले नै ओलीलाई बिदाइ गर्ने कुरा असम्भव रहेको दावी गरे ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले भने, ‘विगतदेखि एमाले फुटाएर, विभाजन गरेर र पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर तुल्याउन लागि परेका छन् । पार्टी फुटाएर हिजो पनि कोही बलियो भएन, अब पनि हुने छैनन् । अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्छ । त्यसैले ओलीको विकल्प खोज्ने कुरा हुँदैन ।’
पार्टीभित्र भइरहेको ओलीविरुद्धको मोर्चाबन्दी निस्तेज पारिने उनको भनाइ छ । ‘केपी ओलीलाई टक्कर दिने कोही छैन,’ उनले भने, ‘ईश्वर पोखरेलले पनि कुरा बुझ्नु पर्छ ।’
मुलुकभित्र र बाहिरका शक्तिसित बहस गर्ने व्यक्तिलाई सर्वसम्मत ढंगले नेतृत्वमा चयन गरिनुपर्ने उनको भनाइ थियो । यसअघिको महाधिवेशनमा विद्रोह गरेर अध्यक्ष उम्मेदवार बनेका भीम रावलले जम्मा दुई सय मत प्राप्त गरेको उल्लेख गर्दै यसपालि महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवार बन्नेको त्यो भन्दा नराम्रो अवस्था हुने उनको दाबी छ । थापाले पार्टीभित्रको मौन प्रवृत्ति घातक हुने बताए ।
